Blog

  • मुद्दाका दोषी अदालतबाटै फरार

    मुद्दाका दोषी अदालतबाटै फरार

    जिल्ला अदालत मोरङ परिसरबाट कैदी फरार भएका छन् । चेक अनादर दोषी ठहर भएका विराटनगर महानगरपालिका–१३ का ४० वर्षीय विजय शंकर झा अदालत परिसरबाट भागेका हुन् ।सुनसरीको दुहबीबाट आइतबार पक्राउ परेका झालाई सोमबार मोरङ अदालत उपस्थित गराइएको थियो । शौचालय जान भनेर हिडेका उनी फरार भएका हुन् ।नागेश्वरप्रसाद साहले ७ लाख ५० हजार बिगो र त्यसको ब्याज दाबी गरेर झाविरुद्ध अदालतमा फिरादपत्र दर्ता गराएका थिए । मोरङ अदालतले २०८० साल माघ २३ गते झाबाट बिगोबापतको रकम र ब्याज भराउनुपर्ने फैसला गरेको थियो ।जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार फैसला बमोजिम झाले रकम नतिरेपछि उनलाई कैद राखिदिनुपर्ने माग गर्दै साह अर्को मुद्दा दायर भएको थियो ।साहकै माग बमोजिम झालाई २ वर्ष कैदमा राख्न अदालतबाट आदेश भएको थियो । झा कैद भुक्तान नगरिकन भागिरहेका थिए । फरार झाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

  • लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रदेश अस्पताल, सुर्खेतका लेखा अधकिृत (अधकिृतस्तर छैठौं) शंकरप्रसाद सुवेदीसहित तीन जनाविद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।


    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी भष्ट्राचार गरेको आरोप छ ।
    अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सोही संस्थाबाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरले आफ्नो जिम्मामा रहेको सार्वजनकि संस्थाको सम्पत्ति हानी–नोक्सानी तथा दुरुपयोग गर्ने बदनियत राखी रकम हिनामिना गरेको देखिएको छ ।
    पौडेलका अनुसार प्रदेश अस्पताल, सुर्खेतमा मिति २०८० साउन १ गते देखि २०८१ साउन ३२ सम्मको अवधमिा सङ्कलन भएको राजस्व रकम ३४ लाख तनि हजार ८५६ रुपियाँमध्ये आठ लाख ३६ हजार ३३० रुपियाँ रकम अस्पतालको खातामा दाखिला गरी बाँकी २५ लाख ६७ हजार ५२६ रुपियाँ रकम हिनामिना गरेको आरोप छ । आयोगका अनुसार, लेखा अधिकृत सुवेदी र तृप्ति शाही ठकुरी भन्ने तृप्ती शाहीवरिुद्ध २५ लाख ६७ हजार ५२६ रुपयिाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।


    यसैगरी, प्रदेश अस्पताल, सुर्खेतस्थित रहेको कुमारी बैंकको एकस्टेन्सन काउन्टरको तत्कालीन ईन्चार्ज गोमा सिंजाली भन्ने गोमा सिंजाली मगरविरुद्ध २४ लाख दुई हजार ९० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उनीहरूविरुद्ध बिगो असुल हुन माग दाबी सहित सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

  • इजरायलद्वारा इरानका सैन्य स्थलहरूमा थप आक्रमण

    इजरायलद्वारा इरानका सैन्य स्थलहरूमा थप आक्रमण

     इजरायली सेनाले पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा सोमबार प्रहार गरेको बताएको छ । मध्यपूर्वका दुई मुलुक इरान र इजरायलबीच ११ दिनदेखि लडाइँ जारी छ ।

    सेनाले विज्ञप्ति जारी गर्दै १५ वटाभन्दा बढी लडाकू विमानले पश्चिमी इरानको केरमानशाह क्षेत्रमा आक्रमण गरेको जनाएको छ । यस अघिको जानकारीमा इजरायली वायुसेनाले हाल इरानको केरमानशाहमा सैन्य पूर्वाधार स्थलहरूमा आक्रमण गरिरहेको बताएको थियो ।

    इजरायलले जुन १३ मा इरानको क्षेप्यास्त्र र आणविक सुविधाहरूका साथै सैन्य अधिकारी र सुरक्षा सेवाहरूलाई लक्षित गरी ठूला आक्रमणहरू गरेको थियो ।

    सोमबार दुई देशहरूबिच हवाई आक्रमण हुँदा तेहरानले सप्ताहान्तमा तीनवटा आणविक स्थलहरूमा अमेरिकी युद्ध विमानहरूले ‘बारूदी सुरूङ’ मा पुर्‍याएको क्षतिको बदला लिने प्रतिबद्धता गरेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणले इरानको आणविक क्षमतालाई नष्ट गरेको बताउनु भएको छ भने अन्य अधिकारीहरूले तेहरानको आणविक कार्यक्रममा परेको असर निर्धारण गर्न ढिलो भएको बताएका छन् । रासस

  • एसईईको नतिजा असारको तेस्रो सातासम्ममा सार्वजनिक गर्ने तयारी

    एसईईको नतिजा असारको तेस्रो सातासम्ममा सार्वजनिक गर्ने तयारी

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो सातासम्ममा सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानो ठिमीका परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म तीव्र गतिमा काम भइरहेको बताए ।

    असारको तेस्रो सातासम्ममा नतिजाको अपेक्षा गर्न सकिन्छ भन्दै परीक्षा नियन्त्रक डा. भट्टराईले यसै दिन भनेर भन्न सक्ने अवस्था अहिले नरहेको बताए ।

    उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर अहिले प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको भट्टराईले बताए ।

    इन्ट्री लगायतका प्रोसेसिङको लागि ३५ दिन लाग्ने भए पनि त्यस अघि काम सम्पन्न गर्ने गरी तयारी भइरहेको र उत्तर पुस्तिका परीक्षण कार्यमा भएको ३२ दिनको ढिलाइलाई १० देखि १६ दिनमा झार्ने प्रयास गरिरहेको परीक्षा नियन्त्रक डा. भट्टराईले जानकारी दिए ।

    यसका लागि डबल सिफ्टमा काम गरिरहेको कार्यालयले जनाएको छ ।

    असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा असर परेको हो ।

    गत वर्ष २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा सडक आन्दोलन गरेका थिए ।

    बोर्डले ढिलोमा असारको चौथो हप्ताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको छ । गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

  • सरकारप्रति झोक चल्ने मुख्य कारण लाइन बस्नु पर्नु हो : गगन थापा

    सरकारप्रति झोक चल्ने मुख्य कारण लाइन बस्नु पर्नु हो : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले उपलब्ध गराउने सेवा सुविधा लिन लामो समय लाइनमा बस्नुपर्ने कुराबाट जनता आजित बनेको बताएका छन् ।

    सोमबार आयोजित एक कार्यक्रममा महामन्त्री थापाले राज्यले उपलब्ध गराउने सेवा प्राप्त गर्न ‘कि लाइनमा बस्नुपर्छ, कि मान्छे चिनेको हुनुपर्छ’ भन्ने कुराबाट जनता आजित बनेको बताए ।

    उनले भने, ‘आम मान्छेलाई अहिले सरकारसँग सबैभन्दा झोक चल्ने कुरा भनेकै लाइन बस्ने कुरा छ । सरकारसँग जहाँ भेटभयो त्यहाँ रिस उठिहाल्छ । सरकार भनेको अलओभर राज्य हो । स्टेटसँग जहाँ भेट हुनुपर्‍यो त्यहाँनिर रिस उठ्छ भने यसको सोलुसन के हो त भन्दा सकेसम्म स्टेटसँग भेट हुन नपर्ने बनाउने हो । यदि भइहाल्यो भने पनि फिजिकल भेट हुन नपर्ने बनाउने हो । फिजिकल्ली भेट हुन नपर्ने बनाउन सायद त्यसले स्टेटसम्मको विश्वास बढाउँदै लैजानुपर्ला ।’

    पोल्टिकल गर्ने व्यक्तिका लागि समेत प्रविधिको उच्चतम प्रयोग उपयोगी हुने उनको भनाइ थियो ।

  • अनमोल केसी र फिल्म ‘फर्की फर्की’विरुद्ध अदालतमा मुद्दा

    अनमोल केसी र फिल्म ‘फर्की फर्की’विरुद्ध अदालतमा मुद्दा

    आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

    उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारिरिकरुपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ । उनले वारेसमार्फत सोमबार मुद्दा दायर गरेका हुन् ।

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले यसबारे जानकारी दिए ।

    दायर रिटमा श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र एमएसएम ओटीटी प्लाटफर्मबाट मोबाइल नम्बर हटाउन आग्रह गर्दा पनि नहटाएकाले कार्वाहीको माग गरिएको छ ।

    आफूलाई मानसिक तथा शारिरीक रुपमा हानिनोक्सानी भएको भन्दै उनले उचित क्षतिपूर्तिको माग राखेका छन् ।

    रिटमा अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति, निर्माता रोहित अधिकारी लगायतलाई विपक्षी बनाइएको छ । उनीहरूलाई कानून अनुसार सजायको माग गरिएको छ ।

    यसबारे चलचित्र नियामक निकायलाई पटकपटक पत्र पठाएर जानकारी गराए पनि सुनुवाइ नभएपछि मुद्दा दायर गरिएको पनि रिट निवेदनमा उल्लेख छ ।

  • इजरायल फर्किन ८८५ नेपालीको नाम दर्ता : परराष्ट्रमन्त्री राणा

    इजरायल फर्किन ८८५ नेपालीको नाम दर्ता : परराष्ट्रमन्त्री राणा

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छिन् ।

    प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिने कामग गरिरहेको बताइन् ।

    इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

    ‘जुन १७ बाट अनलाइन पोर्टल खोलेर नेपाली नागरिकहरुको विवरण लिन सुरु गरेका छौँ । र उक्त पोर्टलमा हालसम्म ८ सय ८५ जनाले दर्ता गर्नुभएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘अबको एक/दुई दिनमा श्रम संसार भन्ने मोबाइल एप नागरिक एपसँग मिलाएर रिलिज पनि गर्न गइरहेका छौँ । त्यसपछि विश्वभरी रहेका जतिपनि नेपाली नागरिकहरू हुनुहुन्छ ।’

    सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाको भनाइ छ ।

    सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि उनले बताइन् ।

    ‘परराष्ट्र मन्त्रालयले हाल इजरायल–इरानबीच उत्पन्न द्धन्द्ध र यसका प्रभावहरुलाई अत्यन्त गम्भिरता साथ लिँदै ति क्षेत्रहरुमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको आएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘१३ जुनदेखि नै हामी प्रेस विज्ञप्ती जारी गर्यौं । त्यसपछि जुन १५ मा हामीले प्रेस एड्भाइजरी समेत जारी गरेर हाल इजरायल तथा इरानमा रहनुभएका नेपाली नागरिकहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिरहेका छौँ ।’ अवैधानिक रुपमा विदेशमा काम गरिरहेका नेपाली नागरिकलाई वैधानिक बनाउनका लागि काम गर्न समेत कार्यदल गठन गरी काम अघि बढाइएको पनि परराष्ट्रमन्त्री राणाले बताइन् ।

  • जटिल रोग उपचारमा बीमितलाई थप एक लाख राहत

    जटिल रोग उपचारमा बीमितलाई थप एक लाख राहत

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

    स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन् ।

    निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन् ।

    स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्रालयको निर्देशन पछि स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यो विषय निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा जुटेको छ ।

    स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ को उपनियम अनुसार कडा रोग लागेका व्यक्तिलाई थप एक लाख रुपैयाँ दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन बोर्डलाई निर्देशन दिएका छन् ।

    जटिल प्रकृतिका रोग लागेका व्यक्त्तिले बीमा गरेमा दुइ लाखसम्मको सेवा पाउनेछन् । विपन्न कार्यत्रम अन्तगत थप एक लाख पाउने कार्यत्रम यथावत नै रहनेछ ।

    मन्त्रालयको निर्देशन पछि स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यो विषय निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा जुटेको छ ।

    मन्त्री पौडेलले स्वास्थ्य बीमामा आकर्षण बढाउन तथा दिगोपनाका आधारमा बीमा थैली लागु गराउन समेत तयारी गरेको सचिवालयले जनाएको छ ।

    तर, यस्ता थैलीहरू बनाउँदा बीमा कोष दुरुपयोग हुन नदिन सजगताका लागि समेत मन्त्रालयले स्वास्थ्य बीमा कोषलाई निर्देशन जारी गरेको छ ।

    यसका लागि मन्त्रालयले ‘स्वास्थ्य बीमा बोर्डलाई स्वास्थ्य बीमाका सुविधा थैलीहरू निर्धारण गर्दा रोगको भार नागरिकको स्वास्थ्य आवश्यकता, लागत प्रभावकारीता र वित्तिय दिगोपनाको आधारमा निर्धारण गरी बीमा कोषको दुरुपयोग हुन नदिनेतर्फ ध्यान दिन’ भनेको छ ।

  • जुम्लामा ६३ वर्षीया महिलाको सफल डिम्बाशय शल्यक्रिया

    जुम्लामा ६३ वर्षीया महिलाको सफल डिम्बाशय शल्यक्रिया

     जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–७ जुम्लाकी ६३ वर्षीया महिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पाठेघर डिम्बाशयको सफल शल्यक्रिया भएको छ । पाठेघरको अण्डाशयमा ट्यूमर क्यान्सर भएको थियो ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रसुति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकले पाठेघरको अण्डाशयमा ट्यूमर क्यान्सर भएको सफल शल्यक्रिया गरेका हुन् । प्रतिष्ठानका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक कविता साहका अनुसार ६३ वर्षीया महिलाको पाठेघरको डिम्बाशयमा ट्यूमर भएको थियो । पेटको जाँच, कडा, अनियमित, गतिहीन पिण्ड, प्रति योनी परीक्षण, पाठेघर स्पष्ट नभएको, गतिहीन, प्रतिबन्धित व्यभिचार, पाठेघरको दृश्यमान नभएको क्लिनिकल निष्कर्ष पश्चात शल्यक्रिया गरिएको हो ।

    अनुसन्धानतर्फ सिईसिटी प्रतिवेदन, पेटको गुहामा डिम्बाशयको पिण्ड, सेरस वा म्युसिनस एडेनोकार्सिनोमाको शंका, ट्यूमर मार्करहरू, सिईए (कार्सिनोएम्ब्रियोनिक एन्टिजेन) उठेको (अन्य मार्करहरू निर्दिष्ट गरिएको छैन) स्त्रीरोग विशेषज्ञ डा. साहले बताइन् । व्यवस्थापनतर्फ शल्यक्रिया, कुल पेटको हिस्टेरेक्टमी द्विपक्षीय साल्पिङ्गो–ओफोरेक्टोमी, ओमेन्टेक्टोमी, एपेन्डेक्टोमी, डिबल्किंग सर्जरी गरिएको छ । उनले भनिन्, हिस्टोपाथोलोजीको लागि नमूना पठाइएको छ । रिपोर्टको प्रतिक्षामा छौँ । हेमोडायनामिकली स्थिर अवस्था रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग तथा शल्यक्रिया टोली, एनेस्थेसिया टोली र हाम्रा सबै कर्मचारीको संयोजनले सफल शल्यक्रिया सम्पन्न भएको उनले जानकारी दिइन् ।

    निश्चित निदान र थप व्यवस्थापनको लागि हिस्टोपाथोलोजी रिपोर्टको प्रतीक्षा गरिरहेका छौं उनले थपिन्, यदि घातकता पुष्टि भयो भने केमोथेरापी गर्नुपर्ने हुन्छ । बढेको सिईए सहित ठूलो डिम्बग्रन्थी द्रव्यमान (सम्भावित घातक), सफल शल्यक्रिया डिबल्किंग गरिएको हो । हिस्टोपाथोलोजीको लागि अन्तिम निदान पेन्डिङ छ । व्यवस्थापनमा बहु–अनुशासनात्मक टोली कार्य महत्वपूर्ण हुन्छ, उनले भनिन् । हिस्टोपाथोलोजी निष्कर्षहरूमा आधारित सहायक थेरापीको लागि फलो–अप आवश्यक रहेको स्त्रीरोग विशेषज्ञ डा. साहले बताइन् ।

  • मुगुमा करेन्ट लागेर १० खच्चरको मृत्यु

    मुगुमा करेन्ट लागेर १० खच्चरको मृत्यु

     मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका १२ स्थित लुम्स गाउँमा करेन्ट लागेर १० वटा खच्चर मरेका छन् । आइतबार राति १० बजेतिर राष्ट्रिय विद्युत् प्रसारण लाइनको करेन्ट लागेर १० खच्चर मरेका हुन् ।

    मुगु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले लुम्स गाउँका तीन किसानका १० खच्चर मरेको पुष्टि गरे । उनका अनुसार कर्णबहादुर मल्लका ४ वटा, जक्ति बडुवालका ३ र पृथ्वीबहादुर ऐडीको तीन वटा खच्चर मरेका हुन् । यसअघि शनिबार मात्रै त्यही स्थानमा करेन्ट लागेर एक भैंसी मरेको थियो । राष्ट्रिय प्रसारण लाइनको ट्रान्समिटर राखेको स्थानमा पुग्दा एक्कासी खच्चरमा करेन्ट लागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मिश्रले करेन्टले खच्चर मरेको बताए । उनले भने, सदरमुकाम देखि ४५ मिनेटको दूरीमा पर्ने लुम्समा करेन्ट लागेर खच्चर मरेका हुन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।

    छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले विद्युत् प्राधिकरणको लापरबाहीका कारण किसानले खच्चर गुमाउनुपरेको बताए । बाटोमा ट्रान्समिटर राखिएको थियो उनले भने, करेन्ट लिक भयो । खच्चर मरे । विद्युत् प्राधिकरणका कर्मचारीलाई तत्काल घटनास्थलमा गएर मुचुल्का उठाउन भनिएको छ । नगरप्रमुख भामले थपे, तत्काल प्राविधिकहरु झिकाएर व्यवस्थित रुपमा सुरक्षित हिसाबले ट्रान्समिटर राख्न भनिएको छ । उनले किसानलाई विद्युत् प्राविधिकरणले नै क्षतिपूर्ति दिनुपर्ने बताए ।

    अहिले पनि दुर्गम क्षेत्रमा खच्चरबाट दैनिक उपभोग्य सामानहरु लगायतका वस्तुहरु ढुवानी भइरहेका छन् । अहिले करेन्ट लागेर खच्चर मरेको आसपासमा जान रोक लगाइएको छ । स्थानीयले मरेका खच्चरको क्षतिपूर्ति दिन र विद्युत् सुरक्षित रुपमा जडान गर्न माग गरेका छन् ।