Blog

  • दैलेखका ११ स्थानीय तहकाे बजेट सार्वजनिक

    दैलेखका ११ स्थानीय तहकाे बजेट सार्वजनिक

      आर्थिक वर्ष २०८२/०८३ का लागि दैलेख जिल्लाका ११ वटा स्थानीय तहहरूले आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार दुल्लु नगरपालिकाले सबैभन्दा धेरै १ अर्ब ८ करोड ८१ लाख रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ भने सबैभन्दा कम बजेट ठाटीकाँध गाउँपालिकाको ४२ करोड १५ लाख ३१ हजार रुपैयाँ मात्र रहेको छ ।

    स्थानीय तहअनुसार बजेट विवरण यस्तो छ

    • दुल्लु नगरपालिका – रु १,०८,८१,४९,०००
      – नारायण नगरपालिका – रु ५६,४४,६९,४२९
      – आठबीस नगरपालिका – रु ५५,८८,६१,५८५.७८
       चामुण्डाविन्द्रासैनी नगरपालिका – रु ४८,४३,०३,०८८
      – गुराँस गाउँपालिका – रु ७३,६१,४४,९५५.२४
      – डुङ्गेश्वर गाउँपालिका – रु ४१,८१,७२,९२३
      – भगवतीमाई गाउँपालिका – रु ५६,४५,५७,२२४
      – नौमूल गाउँपालिका – रु ४५,०८,६७,४५५
      – महावु गाउँपालिका – रु ४९,४०,४२,७२२
      – भैरवी गाउँपालिका – रु ४९,९९,९०,०००
      – ठाटीकाँध गाउँपालिका – रु ४१,१५,३१,०५९

    बजेटहरू सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूबाट प्राप्त जानकारीका आधारमा संकलन गरिएको हो । दैलेख जिल्ला भरिका पालिकाहरूले आ–आफ्नो प्राथमिकता अनुसार पूर्वाधार, शिक्षा, कृषि, स्वास्थ्य, स्थानीय विकास, रोजगारी सिर्जना र सेवा प्रवाह सुदृढीकरणमा बजेट विनियोजन गर्ने जनाएका छन्  ।

  • वीरेन्द्रनगरकाे ४ अर्ब ३८ करोड काे बजेट

    वीरेन्द्रनगरकाे ४ अर्ब ३८ करोड काे बजेट

    उप–प्रमुखका अनुसार नगरको बढ्दो शहरीकरणलाई अवसरका रूपमा लिँदै शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । प्रस्तुत बजेटमा पूँजीगत खर्च २ अर्ब ७८ करोड ८४ लाख र चालू खर्च १ अर्ब ५९ करोड ४२ लाख रहेको छ । नगरपालिकाले कर सुधार र आन्तरिक स्रोत विस्तार गरी कुल ५१ करोड ६३ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी संकलन गर्ने लक्ष्य लिएको छ । विभिन्न किसिमका कर संकलनलाई प्रभावकारी बनाउन वडास्तरमै सहकार्य गर्ने नीति लिइएको छ ।

    प्रमुख कार्यक्रम र बजेट
    – भेरी पम्पिङ्ग आयोजनाका लागि ११ करोड ६० लाख म्याचिङ फण्ड व्यवस्था

    • शहरी सौन्दर्य तथा पूर्वाधार विकासका लागि २२ करोड ३४ लाख
    • नगर गौरव आयोजना अन्तर्गत प्रत्येक वडामा कम्तिमा ५० लाख बजेट
    • शिक्षा क्षेत्रमा ५ करोड ५९ लाख, स्वास्थ्यमा १ करोड ५९ लाख र
      महिला बालबालिका अस्पतालका लागि ३७ लाख ५० हजार विनियोजन
    • कृषि तथा पशुपालन आत्मनिर्भरतातर्फ १ करोड ३० लाख बजेट
    • फोहरमैला व्यवस्थापन र हरियाली प्रवर्धनमा ४ करोड ५० लाखको व्यवस्था
    • युवा सशक्तिकरण कार्यक्रमका लागि ६० लाख, खेलकुद क्षेत्रका लागि ६१ लाख २५ हजार विनियोजन

    बजेट खर्चका लागि स्रोत व्यवस्थापन

    • संघीय सरकारबाट सशर्त अनुदान २ अर्ब २० करोड ८ लाख
    • वित्तीय समानीकरण अनुदान २४ करोड २४ लाख प्रदेश सरकारको अनुदान ४० करोड ९५ लाख (सशर्त र समानीकरण सहित)
    • सामाजिक सुरक्षा अनुदान ४० करोड
    • गत वर्षको मौज्दात ४१ करोड २७ लाख

    प्राथमिकता

    शिक्षा, स्वास्थ्य, युवा विकास, महिला सहभागिता, वातावरण संरक्षण, पूर्वाधार विस्तार, डिजिटल सुशासन, विपद् जोखिम न्यूनीकरण र सामाजिक समावेशिता बजेटका मूल आधार रहेका छन् । विगतका योजना र उपलब्धिलाई संस्थागत गर्दै अबको कार्यान्वयनमा सबैको सक्रिय सहभागिताकाे अपेक्षा नगरपालिकाले गरेकाे छ । यस्तै बजेटसँगै गैरसरकारी संस्था तथा विकास साझेदारमार्फत ४० करोड रुपैयाँ बराबरको कार्यक्रम पनि स्वीकृतिका लागि प्रस्ताव गरिएको छ ।

  • नारायण नगरपालिकाको ५६ करोड ४४ लाख बजेट सार्वजनिक

    नारायण नगरपालिकाको ५६ करोड ४४ लाख बजेट सार्वजनिक

     नारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ४४ लाख ६९ हजार ४ सय २९ रुपैयाँ बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख लोमन शर्मा नेतृत्वको कार्यपालिकाले मङ्गलबार सार्वजनिक गरेको बजेटमा चालु खर्चलाई प्राथमिकतामा राखिएको छ ।

    बजेट विवरण अनुसार चालु तर्फ ४५ करोड ७० लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १० करोड ७३ लाख ७७ हजार ४ सय २९ रुपैयाँ ३० पैसा छुट्याइएको छ ।

    नगर प्रमुख लोमन शर्माले स्थानीय विकासलाई दिगो र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै, “सेवा प्रवाह प्रभावकारी बनाउन प्रशासनिक संरचना मजबुत पार्न चालु खर्चमा उच्च विनियोजन गरिएको हो,” भन्ने धारणा राखे। उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको जानकारी दिए ।

    त्यसैगरी, उपप्रमुख तप्ता थापाले बजेटले सामाजिक न्याय, समावेशिता र महिला सशक्तीकरणमा केन्द्रित कार्यक्रमहरू समेटेको बताइन्। “समाजको हरेक तहलाई समेट्ने प्रयास गरिएको छ, महिला, बालबालिका, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि छुट्टै कार्यक्रमहरू बजेटमा समावेश गरिएको छ,” उपप्रमुख थापाले भनिन्।

    यस वर्षको बजेट नगरवासीसँग सल्लाह, वडास्तरीय योजना सङ्कलन र विशेषज्ञको सुझावका आधारमा तयार गरिएको नगर कार्यपालिकाले जनाएको छ। नगरपालिकाले शिक्षा क्षेत्रमा आधारभूत संरचना सुधार, स्वास्थ्यमा औषधि तथा उपकरण व्यवस्थापन, कृषि प्रवर्द्धनका लागि अनुदान तथा तालिम, युवा लक्षित स्वरोजगार कार्यक्रम र सडक तथा खानेपानी योजनालाई बजेटमा समावेश गरेको छ।

  • बराहतालको बजेट ६३ करोड ७ लाख ४८ हजार

    बराहतालको बजेट ६३ करोड ७ लाख ४८ हजार

     बराहताल गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनको पहिलो बैठक आज सम्पन्न भएको छ । अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ।

    बैठकमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि जम्मा रु. ६३ करोड ७ लाख ४८ हजार ९९९ बराबरको बजेट प्रस्तुत गरिन । प्रस्तुत बजेट तथा नीति कार्यक्रममाथि आगामी बैठकहरूमा छलफल हुने जनाइएको छ।

    गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक संरक्षणलाई प्राथमिकता दिने गरी बजेट विनियोजन गरिएको जानकारी दिइएको छ।

    बैठकमा जनप्रतिनिधि, गाउँकार्यपालिकाका सदस्यहरू, विभिन्न वडाका अध्यक्षहरू, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

  • पञ्चपुरी नगरपालिकाकाे  ६९ करोडको बजेट सार्वजनिक

    पञ्चपुरी नगरपालिकाकाे ६९ करोडको बजेट सार्वजनिक

     पञ्चपुरी नगरपालिका सुर्खेतले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ११ लाख १५ हजार ३७० रुपैयाँको बजेट सार्वजनिक गरेको छ  ।  नगरपालिकाको १७औं नगर सभामा उपप्रमुख मुक्ति रेग्मीले बजेट प्रस्तुत गरिन।

    बजेटमा नगरवासीलाई प्रदान गरिने सेवा तथा सुविधाको गुणस्तरमा सुधार ल्याउन उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्ने र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने उल्लेख गरिएको छ ।

    नगर प्रमुख लालबिर भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार नगरलाई आत्मनिर्भर बनाउन कृषिजन्य तथा फलफुल उत्पादनमा विशेष प्रोत्साहन दिइनेछ । साथै, शिक्षा क्षेत्रमा लगानी बढाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

    भौतिक पूर्वाधारको विकासमा पनि विशेष जोड दिइएको छ । आधारभूत संरचनाको निर्माणलाई प्राथमिकता दिँदै दिगो विकासलाई केन्द्रमा राखिएको छ ।

    स्थानीय भेषभूषा, धर्म, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने योजना समेत बजेटमा समेटिएको छ। सेवा प्रवाहमा सुधार, संस्थागत विकास र सुशासनलाई प्रोत्साहन गरिने बताइएको छ ।

    स्वास्थ्य क्षेत्रमा सबै नगरवासीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने, विपन्न नागरिकका लागि घरमै बीमा गर्ने, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगीहरूलाई निःशुल्क औषधि वितरण गर्ने व्यवस्था गरिनेछ ।

    बालविवाहमुक्त नगरपालिका बनाउने लक्ष्यसहित आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ। युवाहरूलाई उद्यान तथा खेलमैदानको व्यवस्था गरी प्रशिक्षणको अवसर दिने योजना पनि समावेश गरिएको छ ।

    स्थानीय परम्परागत सीपजस्तै आरण, सिलाई–कटाई, जुत्ता सिलाउने, डोको–नाम्लो, दुना–टपरी बुनाइ लगायतका व्यवसायलाई संरक्षण र प्रवर्द्धन गरिनेछ। फलफुल तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आत्मनिर्भरता अभिवृद्धि गर्ने नीति नगरपालिकाले लिएको छ ।

  • रुकुमपश्चिमका ६ स्थानीय तहको बजेट ३ अर्ब ६२ करोड ८८ लाख ९६ हजार

    रुकुमपश्चिमका ६ स्थानीय तहको बजेट ३ अर्ब ६२ करोड ८८ लाख ९६ हजार

     रुकुमपश्चिमका छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि तीन अर्ब ६२ करोड ८८ लाख ९६ हजार ५५० रुपियाँको बजेट ल्याएका छन् ।

    चालु र पुँजीगत खर्च समेटिएको बजेट मार्फत सबै स्थानीय तहले सामाजिक विकास, पूर्वाधार निर्माण, भूकम्पपछिको पुनर्निर्माण, सेवा प्रवाहलाई प्राथमिकता दिएका छन् । चौरजहारी नगरपालिकाको २१ औँ नगर सभामा उपप्रमुख ईश्वरी शमाए बिंमले पेश गरेको कार्यक्रम र बजेट पारित समेत भएको छ । चौरजहारीले कुल ८१ करोड ९४ लाख ८३ हजारको बजेट पारित गरेको हो । यो संघसंस्थाहरु समेतको बजेट हो । संघसंस्थाहरुको बाहेक संचित कोषको बजेट भने ५७ करोड ४१ लाख ९५ हजार २५ रुपियाँ रहेको छ । जसमध्य चालुतर्फ ७४.५९ प्रतिशत अर्थात ४२ करोड ८३ लाख १९ हजार ७८८ र पुँजीगततर्फ २५.४० प्रतिशत अर्थात १४ करोड ५८ लाख रहेको छ ।

    मुसिकोट नगरपालिकाको १५ औँ नगर सभामा उपप्रमुख बिमलकुमार पुनले ६९ करोड ९९ लाख ९४ हजार दुई सय रुपियाँको बजेट प्रस्तुत गरेका छन् । जसमा चालु तर्फ ५२ करोड ७० लाख ९४ हजार दुई सय अर्थात् ७५।३० प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १७ करोड २९ लाख अर्थात २४.७० प्रतिशत रहेको छ । त्यसैगरी, आठबिसकोट नगरपालिकाको १८ औँ नगरसभा ७६ करोड ३८ लाख ६९ हजार रुपियाँको बजेट पेस भएको छ । नगर उपप्रमुख धनकुमारी शाहीले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालु तर्फ ४९ करोड ३४ लाख ३२ हजार अर्थात ६४.६० प्रतिशत र पुँजीगत तर्फ २७ करोड चार लाख ३७ हजार अर्थात ३५.४० प्रतिशतको बजेट विनियोजन गरेको जानकारी दिइन् ।

    त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजुकमारी रेउलेले आगामी आर्थिक वर्ष ०८२÷०८३ को लागि ५४ करोड ८६ लाख ३२ हजारको बजेट गाउँसभामा पेस गरेकि छन् । कुल बजेटमध्य चालु तर्फ ४१ करोड ५४ लाख ३२ रुपियाँ अर्थात् ७५.७२ प्रतिशत र पुँजीगत तर्फ १३ करोड ३२ लाख अर्थात २४.२८ प्रतिशत बजेट रहेको छ ।  सानीभेरी गाउँपालिकाको १७ औँ गाउँसभामा उपाध्यक्ष कमला रोका पुनले ५३ करोड ९७ लाख छ हजार ९९९ रुपियाँ बजेट पेस गरेकि छन् । जसमध्ये चालु तर्फ ३९ करोड ३३ लाख ९२ हजार चार सय ३२ अर्थात ७२.८९ प्रतिशत र पुँजीगत तर्फ १४ करोड ६३ लाख १४ हजार पाँच सय ६७ रुपियाँ अर्थात् २७.११ प्रतिशत रहेको छ ।

    बाँफिकोट गाउँपालिकाको १८ औं गाउँसभामा ५० करोड २५ लाख ७४ हजार ५६३ रुपियाँको बजेट पेस भएको छ । गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले उक्त अनुमानित बजेट पेश गरेकि हुन् । कुल बजेटमध्ये ३१ करोड ७५ लाख २५ हजार ६५५ रुपियाँ चालु तर्फ र १८ करोड ५० लाख ४८ हजार ९०८ रुपियाँ पुँजीगत तर्फको रहेको छ ।

  • चामुण्डाबिन्द्रासैनीको ४८ करोड ४३ लाखको बजेट, कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता

    चामुण्डाबिन्द्रासैनीको ४८ करोड ४३ लाखको बजेट, कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता

    चामुण्डा बिन्द्रासैनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ४३ लाख ३ हजार ८८ रुपैयाँ बराबरको अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ। नगरपालिकाका प्रमुख गणेश कुमार शाही र उप–प्रमुख मनसरा कुमारी शर्माले नगर सभामा बजेट प्रस्तुत गरेका हुन् ।

    बजेटमा नगरको समग्र विकासलाई प्राथमिकता दिइएको जनाइएको छ। कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, डिजिटल सेवा विस्तारलगायतका कार्यक्रम समेटिएको छ।

    नगर प्रमुख शाहीले “स्थानीय स्रोतको अधिकतम उपयोग, पारदर्शिता, जवाफदेहिता र सेवामुखी प्रशासनमार्फत बजेट कार्यान्वयनमा ध्यान दिनेछौं,” भनेका छन् । उप–प्रमुख शर्माले महिलामैत्री, बालमैत्री तथा समावेशी कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् ।

    नगरपालिकाले आगामी वर्षमा स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरणीय संरक्षण, युवा उद्यमशिलता र सुशासनमा जोड दिने नीति लिएको छ। बजेट कार्यान्वयनमा समुदायको सहभागिता, पारदर्शिता र अनुगमनलाई मजबुत बनाउने रणनीति अपनाइने बताइएको छ ।

  • मुसिकोटमा स्कुटर-ट्याक्टर ठक्कर, तीन घाइते

    मुसिकोटमा स्कुटर-ट्याक्टर ठक्कर, तीन घाइते

     रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परेर तीन जना घाईते भएका छन् ।

    आज मंगलबार बिहान रातामाटाबाट खलंगा बजार आउँदे गरेको स्कुटर पातुखोलामा दुर्घटना हुँदा दुई जना घाईते भएका छन् भने गएराती सल्लेमा भएको ट्याक्टर दुर्घटनामा परेर चालक घाईते भएका छन् । प्रहरीका अनुसार पातुखोलामा रा ४ प ७८८२ नम्वरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिदा मुसिकोट नगरपालिका ५ निवासी ५० बर्षीय चालक केवल सिंह दमाई र वडा नम्वर १ निवासी ३६ वर्षीया पुष्पा शाही घाईते भएकि छन् । दमाईको बाँया हात र खुट्टामा र शाहीको बाँया खुट्टामा चोट रहेको छ ।

    त्यसैगरी गएराती मुसिकोट नगरपालिका १ सल्लेबाट खलंगा आउँदै गरेको रा १ त २९२० नम्वरको ट्याक्टर मोड्ने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाईते भएका छन् । मुसिकोट नगरपालिका ७ निवासी २२ वर्षीय मोहन पुन घाईते भएको प्रहरीले जनाएको छ ।

  • शुभमको स्पिनमा जापान अल्झियो, नेपाललाई ८१ रनको लक्ष्य

    शुभमको स्पिनमा जापान अल्झियो, नेपाललाई ८१ रनको लक्ष्य

    मलेसियामा जारी एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ प्रतियोगिताको मंगलबार जारी आफ्नो दोस्रो खेलमा नेपाली टोलीले जापानबाट जितका लागि ८१ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर ब्याटिङको निर्णय लिएको जापानले ३४.३ ओभरमै अलआउट हुनुअघि ८० रन बनाएको हो ।
    खेलको प्रारम्भदेखि नै जापानी ब्याटरहरू नेपाली बलरको दबाबमा परेका थिए । जापानका माथिल्ला तीन ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । चौथो नम्बरमा क्रिज समाल्न आएका ब्याट्सम्यान चार्ली हराहिन्जले सर्वाधिक ३६ रन बनाए ।

    टोलीका कप्तानसमेत रहेका चार्लीले ४८ बलमा चार चौका पनि प्रहार गरे । गाबी हराहिन्जले टोलीको खातामा १३ रन थपे । जापानका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै जापानले पाँच प्रभावशाली विकेट गुमाइसकेको थियो ।

    जापानका तीन ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । नेपाली टोलीका उदीयमान स्पिनर शुभम खनाल एक्लैले पाँच विकेट लिए । उमेरले भर्खरै १४औँ वर्षमा प्रवेश गरेका उनले १० ओभरमा तीन मेडन राख्दै केवल १५ रन खर्चिए । यो उनको उत्कृष्ट प्रदर्शन पनि हो ।

    अभय यादवले पनि दुई विकेट हात पारे । उनले ६ ओभरमा २५ रन खर्चिए । सुशीलबहादुर रावल र विपिनप्रसाद शर्माले पनि एक–एक विकेट हात पारे । जापानले अतिरिक्त रूपमा केवल ६ रन पायो ।

    नेपाली टोली मंगलबारको खेलमा जापानलाई हराउँदै लगातार दोस्रो जीत निकाल्ने दाउमा छ । यसअघि आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटको फराकिलो अन्तरले हराएको थियो । त्यो खेलमा पनि नेपालका बलर र ब्याट्सम्यान दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

    जापान पनि आफ्नो पहिलो खेलमा विजयी भएको थियो । जापानले आफ्नो पहिलो खेलमा भुटानलाई २१५ रनको विशाल अन्तरले हराएको थियो । समूह ‘ए’ तालिकामा जापान दुई अंकसहित पहिलो स्थानमा छ ।

    समान अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । एक–एक खेल खेलेका सिंगापुर र भुटानले अंक बटुल्न सकेका छैनन् । उक्त समूहमा रहेको पाँचौँ टोली इन्डोनेसियाले भने हालसम्म एक खेल पनि खेलेको छैन ।

    नेपालले आफ्नो तेस्रो खेल जुन २९ तारिखमा इन्डोनेसियासँग खेल्नेछ । नेपाली टोलीले समूहगत चरणको आफ्नो अन्तिम खेल भने जुलाई १ तारिखमा भुटानसँग खेल्नेछ ।