Blog

  • ‘नीलो रिबन’ लगाएर सदनमा रास्वापाको बिरोध

    ‘नीलो रिबन’ लगाएर सदनमा रास्वापाको बिरोध

    whatsapp sharing button
     भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको रास्वपाका सांसदहरूले ‘निलो रिबन’ लगायत विरोध गरेका छन् ।

    भिजिट भिसाको आवरणमा मानव तस्करी भएको आरोपको आरोप छ। आज पनि प्रतिनिधि सभाको बैठकअघि रास्वपाका सांसदहरूले संसद् भवनअघि सामूहिक फोटो खिचाए । यही सामूहिक तस्बिर राखेर कार्यवाहक अध्यक्ष डिपी अर्यालले फेसबुकमा लेखेका छन्, ‘आन्दोलन जारी छ।’

    यसैबीच मंगलबार संसद भवन प्रवेश गर्नुअघि रास्वपाले विरोधको फरक शैली अपनाएको छ। रास्वपाका सबै सांसदहरूले निलो रङको दोसल्ला लगाएर विरोध जनाएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आइरहेको छ।

  • इरानका भारतीय विद्यार्थीहरू सुरक्षित स्थानमा सार्दै भारत

    इरानका भारतीय विद्यार्थीहरू सुरक्षित स्थानमा सार्दै भारत

     इजरायल र इरान द्वन्द्व चर्किदै जाँदा भारतले इरानस्थित भारतीय विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारेको छ।

    भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर तेहरानस्थित भारतीय दूतावासले इरानको सुरक्षा स्थिती निरन्तर निगरानी गरिरहेकोे जनाएको छ।

    विदेश मन्त्रालयले विद्यार्थीहरुलाई इरानभित्र सुरक्षित स्थानहरूमा सारिएको र नयाँ सम्भावित विकल्पहरूको समेत अध्ययन भइरहेको जनाएको छ।

    तेहरानस्थित भारतिय दुतावासले त्यहाँ रहेका भारतियहरुको सुरक्षाका निम्ती स्थानिय समुदायका नेताहरु र लोककल्याणकारी क्षेत्रमा काम गर्ने स‌ंस्थाहरुसँग समन्वय गरिरहेको जनाएको छ।

    शुक्रबारयता इजरायलले निरन्तर इरानमाथी मिसाइल आक्रमण जारी राखेको छ। अन्तराष्ट्रिय संचारमाध्यमहरुले इरानको राजधानी तेहरानबाट कैयौं मानिसहरु भागिरहेका बताएका छन्।समाचार एजेन्सी एपीका अनुसार इरानको हवाई क्षेत्र बन्द भएपछि र ट्याक्सीसमेत नपाउँदा मानिसहरु सीमा क्षेत्रसम्म पुग्न सकेका छैनन्।

    यस्तै मंगलबार बिहान इरानको परमाणु क्षेत्रमा इजरायलले आक्रमण गरेको इजरायलको दाबी छ। न्यूक्लियर क्षेत्रमा ठूलो धमाका भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।

  • फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री

    फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री

     डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । मंगलबार उनले मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैँसेपाटी पुगेर भेट गरेका हुन् ।

    भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुनासो पोखेका थिए । सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि मुकाबिला गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका  श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।

    फेसबुकमार्फत ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका उनलाई प्रहरीले बालाजु क्षेत्रमा सकुशल फेला पारेका थियो ।
    दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौँडा सरुवा भएका थिए । आफूले सेवा गरेको रामेछाप अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको उनले फेसबुक पोस्टमा लेखेका छन् ।
  • प्रचण्डको भनाइ: प्रतिपक्षले सत्तापक्षजस्तो भूमिका खेल्नुपर्छ

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता रहेको बताएका छन् । यस्तो बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको उनको भनाइ छ ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै १७ दिनसम्म संसद अवरोध गरेको माओवादी केन्द्रले सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेसँग दुई बुँदे सहमित गदैँ अवराेध खुलाउन राजी भएपछि पार्टीभित्रैबाट आलोचना खेपिरहेको छ ।

    यसै सन्दर्भमा मंगलबार बिहान चितवनस्थित निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रतिपक्षको हिसाबले हामी कमजोर छौं । तर पनि हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।’

    बजेट माथिको छलफलका लागि संसदको अवरोध हटाउनु परेको उनको भनाइ थियो । संसद अवरोध खुलाउन गरेको दुई बुँदे सहमतिलाई प्रचण्डले माओवादी जिम्मेवार ढंगले प्रस्तुत भएको भनेर व्याख्या गरे ।  ‘यदि तपाईंहरुले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भिर र जिम्मेवार ढंगले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ,’ प्रचण्डले भने, ‘तपाईंहरुले परम्परागत आँखाले, चलनचल्तीको हिसाबले मात्रै हेर्नुभयो भने के गर्‍या होला ? भन्न पनि सकिन्छ ।’

    बजेट पास गर्नुपर्ने, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीवोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसदको अवरोध खुलाउन तयार भएको प्रचण्डले बताए ।

    दुई बुँदे सहमति नगरेको भए हुन्थ्यो भन्नेहरुलाई उनले ‘बचकना’ भनेर टिप्पणी समेत गरे । ‘दुई बुँदे नगर्‍या भए नि हुन्थ्यो भन्छन् कसैले । यो चाहिँ बडो बचकना कुरा हो भन्ने लाग्छ मलाई,’ प्रचण्डले भने, ‘उनीहरुले नेपाली राजनीतिलाई नबुझ्नुको परिणाम पनि हो । यो अन्तरविरोधको परिस्थिति थाहा नपाउनुको परिणाम पनि हो ।’

    उनले अगाडि थपे, ‘यथार्थ कुरा के हो त भने संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता सम्बन्धी ऐन अनि शान्ति प्रक्रियासँग सम्बन्धी बाँकी काम टुंग्याउनुपर्ने विषयहरुप्रति जिम्मेवार भएर सोच्ने, यो परिवर्तनको बाहक पार्टी हुनुको नाताले, त्यसको प्रमुख नेतृत्व हुनुको नाताले त्यसको केही आधार बनाएर ऐन निर्माणलाई प्राथमिकता दिनुपर्ने, छानबिनको कुरालाई नछोडिकन यो जिम्मेवारी पूरा गर्नु थियो मैले । हाम्रो पार्टीले नै त्यो गर्नुपर्थ्यो, अरुले गरेर हुँदैनथ्यो ।’

    त्यही भएर अध्ययन र छानबिनलाई गम्भिरतापूर्वक अगाडि बढाउने र ३० दिनभित्र छानबिन समिति बनाउने प्रतिबद्धता आएपछि संसदको अवरोध खुलाएको प्रचण्डले तर्क गरे ।

  • एसईई नतिजा असार तेस्रो सातामा सार्वजनिक हुने

    एसईई नतिजा असार तेस्रो सातामा सार्वजनिक हुने

     राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

    नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो ।

    ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन आउजाउमा समय गयो । परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन’, परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने ।

    अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले बताए ।

    ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौं। केही ठाउँमा परीक्षण भइरहेको छ । सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं’, उनले भने ।

    एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी थिए ।

  • उनापानी बजारमा आगलागी, करोडौँको क्षति

    उनापानी बजारमा आगलागी, करोडौँको क्षति

    यही असार १ गते आइतबार आगलागी भएको सर्केगाड  गाउँपालिका-३ को उनापानी गाउँमा एक करोड बराबरको क्षति भएको छ ।

    आइतबार राति ११ बजे लागेको आगलागीबाट एक करोड क्षति भएको विवरण संकलन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

    आगलागीबाट८ वटा घर जलेर नष्ट  हुदाँ अनुमानित एक करोड बराबरको क्षति भएको जनाइएको छ । पशुवस्तु क्षति नभएको तर घर र घरभित्र रहेको एक करोड बराबरको सम्पति गरी एक करोड क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

    आगलागी हुँदा घरमा भएका अन्नपात, भाँडाकुडा, लिउ, फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ ।

    सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली र स्थानीयबासीहरू मिलेर आगो नियन्त्रण लिएको डीएसपी पोखरेलले बताए ।

    आगलागी हुँदा विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन् ।

    अन्य छिमेकीका घरमा आगलागी हुन् नदिएको प्रहरीले बताएको छ ।

  • सुपर ओभरमा नेपाल पराजित

    सुपर ओभरमा नेपाल पराजित

    अन्तर्राष्ट्रिय त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ।

    स्कटल्यान्डको टिटउट रंगशालामा सम्पन्न खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित भएको हो। निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो। तेस्रो सुपर ओभरमा भने नेदरल्यान्ड्ले नेपाललाई पराजित गरेको हो।

    पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्यान्ड्सले पनि १९ रन बनाएको थियो। त्यसैगरी दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १७ रन बनाएको थियो। जवाफमा नेपालले पनि १७ रन जोडयो र खेल फेरी तेस्रोपटक सुपर ओभरमा पुग्यो।

    तेस्रो सुपर ओभरमा भने नेपालले रन जोड्न सकेन। पहिलो बलमा कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए। एक रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले पहिलो बलमा छक्का प्रहार गरेर जितेको हो।

    त्यसअघि निर्धारित २० ओभरको खेलमा एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए। त्यस्तै कुशल भुर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे। नेपालले जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक थियो। तर नन्दन यादवले काइल क्लेनका बलमा चौका प्रहार गरेपछि खेल टाई भएको थियो।

    नेदरल्यान्ड्सका डानियल डोरामले ३ विकेट लिए भने विक्रमजित सिंहले २ विकेट लिए। त्यस्तै काइल क्लेइन, बेन फ्लेचर र जाँच लायनले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए। उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाएका हुन्।

    त्यस्तै विक्रमजित सिंहले ३० रन बनाए। सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादवले २ तथा कुशल भुर्तेल र ललित राजवंशीले समान १ विकेट हात पारे।

  • ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

     चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार सोमबार राति विमानस्थलबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

    घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र ट्याक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

  • गाडी दुर्घटनामा दुई जनाको मृत्यु

    गाडी दुर्घटनामा दुई जनाको मृत्यु

     पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु१च ६७५६ नम्बरको गाडी ९जिप० वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो। सो गाडीले अन्डा बोकेको थियो।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्। मृत्यु हुनेमा सवारीधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका ४६ वर्षीय विनोद ढुंगाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष छन्।

    ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्काको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो।
    गाडी चालक बुटवल उपमहानगरपालिका–११ का ३० वर्षीय राजु खड्का गम्भीर घाइते भएका छन्। खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

    गाडी सडकदेखि ३०० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सुनको मूल्य घट्यो

    सुनको मूल्य घट्यो

    नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो ।

    यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो ।

    यसैबिच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १६० रुपैयाँ कायम भएको हो ।