Blog

  • चाबहिलमा बेपत्ता डाक्टरको खोजी

    चाबहिलमा बेपत्ता डाक्टरको खोजी

    फेसबुकमा सन्देश छाडेर सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठको खोजीमा काठमाडौँका विभिन्न प्रहरी युनिटहरू जुटेको छ । रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरेका डा. श्रेष्ठले सोमबार फेसबुकमा सन्देश लेख्दै सम्पर्कविहीन बनेका हुन् ।

    उनको मोबाइल स्वीच रहे पनि उनको पछिल्लो लोकेसन गोपीकृष्ण हलनजिकै देखिएको थियो । ‘हामीले चाबहिल क्षेत्रमा उनको खोजी गरिरहेका छौँ,’ बस्नेतले भने ।

    गैँडाकोट घर भएका श्रेष्ठ काठमाडौँको कपमा बस्दै आएका थिए । श्रेष्ठले फेसबुकमा परिवार लगायत आफन्तहरूसँग माफी मागेका छन् ।
    रामेछाप अस्पतालमा आएदेखि नै आफू दिन रात खटिएर अस्पताल कसरी राम्रो बनाउने भनेर लागेको र आफू प्रमुख भए पछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागाभाग भएको उनले लेखेका छन् ।
    उनले आफूविरुद्ध सरुवा भएर गएका डा गगन अधिकारी र रामेछाप–०८ का केदार कार्की लगायतका व्यक्तिहरू लागेको समेत बताएका छन् ।
  • पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

    पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

     साइबर अपराधको कसुरमा पक्राउ पुजी जारी  भएपछि त्यसविरुद्ध पत्रकार दिलभूषण पाठकले निषेधाज्ञा निवेदन दिएका छन् ।

    पत्रकार पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा निवेदनको सुनुवाइका लागि पेसीसमेत तोकिएको छ ।

    अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पाठकको पेसी तोकिएको छ । उनको पेसी ‘ढ’ नम्बरमा रहेकाले आजै पालो आउने/नआउने यकिन भएको छैन ।

    हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको छोरा जयवीरलाई जोडिएको भन्दै उनले प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएका थिए । त्यसपछि जिल्ला अदालत काठमाडौंले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता पाठक सम्पर्कविहीन छन् ।

    अहिले उनले उनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो समेतलाई विपक्षी बनाएर निषेधाज्ञाको निवेदन दायर गरेका हुन् ।
  • देश बनाउन जनताले फेरि एक पटक माओवादीलाई बहुमत दिनुपर्छ : नारायणमाजी श्रेष्ठ

    देश बनाउन जनताले फेरि एक पटक माओवादीलाई बहुमत दिनुपर्छ : नारायणमाजी श्रेष्ठ

     प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश बनाउन जनताले फेरि एक पटक नेकपा माओवादी केन्द्रलाई बहुमत दिनुपर्ने बताएका छन् ।

    आज बिहान  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताए ।

    पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको उनले दाबी गरे । उनले भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप समेत लगाए । उनले अहिलेको सरकार भ्रष्ट र निरङ्कुश सरकार रहेको जिकिर गरे ।

     

  • धवलाशम्शेर राणा काठमाडौँ जिल्ला अदालतमा उपस्थित

    धवलाशम्शेर राणा काठमाडौँ जिल्ला अदालतमा उपस्थित

     राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का महामन्त्री धवलाशम्शेर राणा आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।

    आज बिहान उनी अदालतमा हाजिर भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए । राणाको न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान हुनेछ।तर सो पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालतमा उपस्थित भएका छैनन्।

    गत चैत १५ तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनीहरू मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन्। राणालाई चैत १५ गते राति पक्राउ गरेको थियो। प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो। हाजिर जमानीमा राखिएका उनीसहितलाई मुद्दा दर्ता गर्न जेठ ११ गते प्रहरीले सम्पर्क गर्ने प्रयास गरेको थियो।

  • यस्तो रहनेछ आजको मौसम

    यस्तो रहनेछ आजको मौसम

     हाल कोशी , मधेस, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    आज राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • सातै प्रदेशहरुले ल्याए बजेट , यस्तो छ बजेटको आकार

    सातै प्रदेशहरुले ल्याए बजेट , यस्तो छ बजेटको आकार

     आइतबार सातैवटा प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३का लागि बजेट (आय व्ययको अनुमान) ल्याएका छन्  ।

    संघीय सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर बचत रहेको रकमलाई पनि बजेट स्रोत देखाएका छन् । गण्डकी र मधेश प्रदेशले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी बजेटको जोहो गरेका छन् । आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशले एक अर्ब ७५ करोड र मधेश प्रदेशले दुई अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेका छन् ।

    यस्तो छ प्रदेशहरुका बजेटका संरचना  :

    कोशी प्रदेश

    कोशी प्रदेशले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख विनियोजन गरेको छ । कूल विनियोजनमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पूँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० करोड अर्थात ०.३ प्रतिशत रहेको छ ।

    कोशी प्रदेशको यो बजेटको आकार चालु आर्थिक वर्षको बजेटको तुलनामा १.७ प्रतिशतले बढी हो । कूल विनियोजनमा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणतर्फको रकम चार अर्ब ७० करोड ७२ लाख रहेको छ ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोतमध्ये कोशी प्रदेश सरकारको आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख र संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट चार अर्ब ९८ करोड ३४ लाखलाई बजेट स्रोत देखाइएको छ ।

    सशर्त अनुदानबाट चार अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट ३९ करोड़ १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ७४ करोड र रोयल्टीबाट प्राप्त हुने रकमबाट ३५ करोड ९९ लाखलाई बजेट स्रोत देखाइएको छ ।

    बाँकी अपुग रकम नगद चालु आर्थिक वर्षमा खर्च गर्न नसकेको बजेट मौज्दातबाट तीन अर्ब १३ करोड ब्यहोर्ने गरी स्रोतको अनुमान गरिएको छ । आइतबार कोशी प्रदेशसभामा त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेका थिए ।

    मधेश प्रदेश

    मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि कूल ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ ।

    कूल विनियोजनमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड पाँच लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४.११ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको बजेटको तुलनामा ६.१३ प्रतिशत बढी हो ।

    मधेश प्रदेशको आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वबाट नौ अर्ब ५० करोड ८३ लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ ।

    संघ सरकारबाट जाने वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ७२ करोड १९ लाख तथा शसर्त अनुदानबाट चार अर्ब २६ करोड १८ लाख, विशेष अनुदान बाट ३९ करोड ४५ लाख र समपुरक अनुदानबाट ३५ करोड ८२ लाख गरी जम्मा १२ अर्ब ७३ करोड ६४ लाख बराबर वित्तीय हस्तान्तरणमार्फत जाने रकमलाई आगामी आर्थिक वर्षको बजेट स्रोतका रूपमा देखाइएको छ ।

    संघीय राजस्व बाँडफाँटवाट १२ अर्ब ३५ करोड ८४ लाख प्रापत हुने र गत वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड दुई लाख ५१ हजार बराबर स्रोत व्यहोरिने अनुमान गरिएको छ । बाँकी अपुग दुई अर्ब रकम आन्तरिक ऋण उठाएर पूर्ति गर्ने गरी मधेश प्रदेशले बजेट स्रोत देखाएको छ ।  मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले आइतबार मधेश प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

    बागमती प्रदेश

    बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेस गरे । बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि प्रस्तावित सरकारका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट छुट्याएको छ ।

    कूल विनियोजनमध्ये चालुतर्फ २६ अर्ब चार करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन गरिएको छ । कूल विनियोजन मध्ये चालुतर्फ ३८।६० प्रतिशत र पुँजीगततर्फ ६१-४० प्रतिशत हुन आउँछ ।

    बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख १ हजार र अन्य राजस्वबाट ६ अर्ब ७९ करोड चार लाख १३ हजार उठाउने लक्ष्य राखेको छ । संघीय वित्तीय हस्तान्तरणबाट प्राप्त हुने १४ अर्ब ८१ करोड ९३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र विविध प्राप्तिबाट १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार व्यहोरिने अनुमान गरिएको छ ।

    गण्डकी प्रदेश

    आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेशले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार बराबरको बजेट ल्याएको छ ।  आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्चमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कूल विनियोजनको ३९.५ प्रतिशत रहेको छ । पूँजीगततर्फ १९ अर्ब नौ करोड ३३ लाख २४ हजार अर्थात् कूल विनियोजनको ५९ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कूल विनियोजनको ०.८ प्रतिशत छ । यो प्रदेशले आगामी वर्षमा एक करोड ५४ लाख ५२ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको छ ।

    गण्डकी प्रदेशका लागि आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटको स्रोतमध्ये केन्द्र सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट नौ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ तीन अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदानतर्फ ६३ करोड ९७ लाख र विशेष अनुदानतर्फ ४९ करोड ८६ लाख प्राप्त हुने गरी स्रोतको अनुमान गरिएको छ ।

    यो प्रदेशले आगामी आर्थिक वर्ष आन्तरिक राजस्व पाँच अर्ब ४५ करोड ८४ लाख ८८ हजार उठाउने अनुमान गरेको छ । साथै, चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात दुई अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने रकमलाई पनि बजेटको स्रोत देखाइएको छ । बाँकी एक अर्ब ७५ करोड आन्तरिक ऋण उठाउने गण्डकी प्रदेश सरकारको योजना छ ।प्रदेशसभामा आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान पेस गरे ।

    लुम्बिनी प्रदेश

    लुम्बिनीले आगामी आर्थिक वर्षका लागि कूल ३८ अर्ब ९१ करोडको बजेट ल्याएको छ । जसमध्ये, चालुतर्फ १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८.८० प्रतिशत छ ।

    लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट सात अर्ब ७८ करोड ४ लाख नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ८६ करोड ५६ लाख, नेपाल सरकारबाट प्राप्त हुने रोयल्टी ४१ करोड ५० लाख, स्थानीय तहबाट बाँडफाँड भई प्राप्त हुने राजस्व दुई अर्ब ८२ करोड ९० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

    संघ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट चार अर्ब ६६ करोड १५ लाख, समपुरक अनुदानबाट ५१ करोड ४० लाख, विशेष अनुदानबाट ४० करोड र चालु आर्थिक वर्षको नगद मौज्दातबाट दुई अर्ब परिचालन गर्नेगरी बजेटको स्रोत देखाइएको छ ।

    लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आइतबार लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरेका छन् ।

    कर्णाली प्रदेश

    प्रतिपक्षी दलको अवरोधका कारण कर्णाली प्रदेशसभा बस्न नसकेपछि वार्षिक राजस्व र व्ययको अनुमान पेस गर्ने कार्यसूची प्रभावित भएको थियो । आइतबार मध्यरातमा प्रदेशसभा बैठक सञ्चालन भएपछि त्यहाँका

    कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब पाँच प्रतिशत बढी हो ।

    कूल विनियोजनमध्ये चालुतर्फ सात अर्ब ७९ करोड ९१ लाख एक हजार अर्थात् २३.६४ प्रतिशत रहेको छ । पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् कूल विनियोजनको ६०.५५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख अर्थात् कूल विनियोजनको १।६६ प्रतिशत बजेट छुट्याइएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन गरिएको छ ।

    उक्त बजेटको स्रोतमध्ये आन्तरिक आयबाट ९६ करोड ७४ लाख ११ हजार, चालु आर्थिक वर्ष खर्च हुन नसकी बचत हुने बजेटबाट पाँच अर्ब ६९ करोड ६८ लाख ४४ हजार र संघीय सरकारबाट राजस्व बाँडफाँटबाट जाने १० अर्ब २७ करोड ३० लाख स्रोत व्यहोर्ने अनुमान गरिएको छ । वित्तीय समानीकरण अनुदानबाट १० अर्ब ५६ करोड चार लाख, सशर्त अनुदानबाट चार अर्ब ४४ करोड ६० लाख, समपुरक अनुदानबाट ५३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ४६ लाख स्रोत परिचालन गरिने अनुमान छ ।आइतबारआर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेस गरेका छन्  ।

    सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ । आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षको बजेट पेस गरे ।

    यो प्रदेशले ल्याएको आगामी आर्थिक वर्षको कूल बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ४२ हजार अर्थात् ३०.४९ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख छ हजार अर्थात् ५९.२५ प्रतिशत र अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत तीन अर्ब ४२ करोड ७७ लाख अर्थात् १०.२४ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ एक करोड छुट्याएको छ ।

    सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान गरेको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६५ करोड, संघ सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने नौ अर्ब ८७ करोड २५ लाख, संघीय रोयल्टी बाँडफाँट वापत प्राप्त हुने रकम आठ करोडलाई बजेटको स्रोत देखाइएको छ ।

    त्यसैगरी संघ सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्ष २०८१/८२ को विनियोजनबाट बचत हुने अनुमानित रकम सात अर्ब ६६ करोड ६३ लाख ४८ हजार, सशर्त अनुदानबाट प्राप्त हुने चार अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने ५१ करोड ६० लाखलाई आगामी आर्थिक वर्षको व्ययको स्रोत अनुमान गरिएको छ । आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्षको बजेट पेस गरेका छन् ।

  • उमेर नपुगेकालाई जेष्ठ नागरिक भत्ता दिएर भ्रष्टाचार, १७ जनाविरूद्ध मुद्दा

    उमेर नपुगेकालाई जेष्ठ नागरिक भत्ता दिएर भ्रष्टाचार, १७ जनाविरूद्ध मुद्दा

  • इरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी

    इरान र इजरायलबीच आक्रमण-प्रत्याक्रमण जारी

     

     इरान र इजरायलले एक अर्कामाथि क्षेप्यास्त्र आक्रमणलाई निरन्तरता दिएका छन् ।

    इरानी आक्रमणका कारण इजरायलको तेल अभिभ र जेरुसलेम शहरमा विस्फोटन भएको छ । इजरायली सेनाले इरानद्वारा नयाँ चरणको आक्रमणको घोषणा गरेपछि तेल अभिभ र जेरुसलेममा विस्फोटको आवाज सुनिएको जनाएको हो ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमले इजरायलका दुवै शहरहरूमा श्रृंखलाबद्ध विस्फोट भएको समाचार दिएका छन् ।

    ‘अहिले तेल अभिभमा भारी बमबारी, धेरै ठूला विस्फोटहरू सुनिएको छ,’ इजरायली पत्रकार हाग्गाई माटरले सोशल मिडिया पोस्टमा उल्लेख गरेका छन् ।
  • निर्देशन मानेर सुरक्षित बस्न इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह, २४ घण्टे हटलाइन शुरु

    निर्देशन मानेर सुरक्षित बस्न इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह, २४ घण्टे हटलाइन शुरु

    sharethis sharing button
     इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई आधिकारिक निर्देशनको पालना गर्दै सुरक्षित बस्न आग्रह गरेको छ । राजदूतावासले विज्ञप्ति जारी गर्दै नेपालीको सुरक्षा र हितका लागि २४ सै घण्टा खुला रहनेगरी हटलाइन पनि शुरु गरेको जनाएको छ ।

    राजदूतावासले हाल चलिरहेको इजरायल–इरान युद्धका क्रममा इजरायलका विभिन्न स्थानहरूमा ठूलो जनधनको क्षति पुगेको उल्लेख गरेको छ ।

    यस्तो स्थितिमा इजरायलको होम फ्रन्ट कमाण्डले सर्वसाधारणका लागि लगातार जारी गरिरहेको अध्यावधिक निर्देशनहरुलाई पालन गर्न नेपालीलाई आग्रह गरेको छ । अहिलेको परिस्थितिमा इजरायलमा शैक्षिक संघ संस्था एवम् अत्यावश्यक बाहेकका कार्यालय बन्द छन् । अहिले सभा तथा भेला नगर्न निर्देशन जारी गरिएको छ ।

    ‘‘इजराइलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’’ राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

     

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

    श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

     अर्घखाँचीमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्।

    छत्रदेव गाउँपालिका(३ का ३८ वर्षीय रामु कुमालको हत्या आरोपमा उनकी श्रीमती २७ वर्षीया मेखमाया कुमाल पक्राउ परेकी हुन्।

    सनिवार मध्यराति श्रीमान सुतिरहेको ठाउँमा धारलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका इन्स्पेक्टर झलक शर्माले जानकारी दिए।

    उनका अनुसार उनीहरूको व्यक्तिगत कुराकानीको विषयमा झगडा भएकाले धारिलो हतियार प्रहार गरेको बुझिएको छ।

    श्रीमतीलाई पक्राउ गरेर अदालत लगिएको छ, म्याद थप्ने काम भइरहेको छ, इन्स्पेक्टर शर्माले भने।

    यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।