Blog

  • भिजिट भिसा समस्या २०६४ सालदेखिकै हो: प्रचण्ड

    भिजिट भिसा समस्या २०६४ सालदेखिकै हो: प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् ।

    प्रेस सेन्टर चितवनले मङ्गलबार दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताए । यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ ।

    उनले यो मुद्दालाई त्यत्तिकै नछाड्ने उल्लेख गर्दै जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने स्पष्ट पारे । उनले भने, ‘मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।’

    दाहालले आफूहरू प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए । उनले भने, ‘हामीले संविधानका निम्ति, ऐन कानूनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।’

    अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।

  • दैलेखमा पहिलो खुला व्यायामशाला

    दैलेखमा पहिलो खुला व्यायामशाला

    दैलेखमा नागरिकलाई स्वस्थ्य बनाउन नाराणण नगरपालिका – ६ काडाचौर हरित पार्कमा खुल्ला ब्यायामशाला निर्माण गरिएको छ ।

    जिल्लामा पहिलो पटक खुल्ला ब्यायामशाला निर्माणको गरिएको हो । नारायण नगरपालिका–६ का वडाध्यक्ष जनक न्यौपानेले नागरिकलाई शारीरिक व्याममा प्रेरित गर्नका लागि खुल्ला ब्यायामशाला निर्माण गरिएको बताए । उनले नागरिकलाई शरीरलाई ब्यायामको माध्यमबाट स्वास्थ्य र स्फुर्त राख्नका लागि ब्यायामशाला निर्माण गरिएको बताए ।

    ब्यायामशाला निर्माणका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु काठमाडौँले रकम विनियोजन गरेको थियो । हात, खुट्टा, कम्मर, घाटी, ढाड, पेटलगायत शरीरका विभिन्न अङ्गहरूको ब्यायामका लागि उपकरण जडान गरिएको छ । खुल्ला ब्यायामशाला निर्माण भएसँगै ब्यायामका लागि युवायुवतीदेखि ज्येष्ठ नागरिक लागि पुग्ने गरेका छन् ।

  • हुम्लामा संस्कृति संरक्षणका लागि वेशभूषा प्रदर्शनी

    हुम्लामा संस्कृति संरक्षणका लागि वेशभूषा प्रदर्शनी

    हुम्ला जिल्लामा आफ्नो परम्परागत संस्कृति जगेर्ना र संरक्षण गर्न सिमकोटमा वेशाभूषासहितको प्रदर्शनी गरिएको छ ।

    संस्कृति जर्गेना गर्दै नयाँ पुस्तालाई यसबारे जानकारी गराउन प्रदर्शनी गरिएको सिमकोट गाउँपालिका–५ का वडाध्यक्ष चीनबहादुर रावतले बताए। आफ्नो पहिचान विस्तारै लोप हुने अवस्थामा देखिन थालेपछि यसको संरक्षणका लागि यस्तो कार्यक्रम आवश्यक रहेको उनले बताए । उनले गाउँपालिकाबाट बजेट व्यवस्थापन गरेर कार्यक्रम गरिएको जानकारी दिँदै नयाँ र पुरानो पुस्ताबाट सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको बताए । प्रदर्शनीमा महिलाले चोली, दोपट्टालगायत परम्परागत पोसाकमा गरगहनासहित सजिएर मागल, चाँर्ची, चुटकिला, फाग, भारी गीत गाएका थिए ।

    पुरुषले पनि आफ्नो परम्परागत पोसाकमा सजिएर ढाल, तरबार, फुर्का नाच प्रस्तुत गरेका थिए । त्यसै गरी बाझा नाच, हुड्के, फुर्का नाच पनि प्रदर्शनीमा प्रस्तुत गरिएको थियो । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला भामरोकायाले यस्ता कार्यक्रमबाट सांस्कृतिक पहिचानलाई बढावा मिल्ने बताइन् ।

  • जाजरकोटमा महिनामा दुई दिन बजार बन्द हुने

    जाजरकोटमा महिनामा दुई दिन बजार बन्द हुने

     जाजरकोट उद्योग वाणिज्य संघले प्रत्येक महिनाको दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ ।

    सङ्घको १८औं वार्षिक साधारण सभाको निर्णय अनुसार अबदेखि प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार सदरमुकाम खलङ्गा बजार बन्द गरिने भएको हो । सङ्घका अध्यक्ष रमेश केसीका अनुसार पहिलो चरणमा भेरी नगरपालिकाभित्रका बजारका पसलहरू बन्द गरिने छ । सो निर्णय आजदेखि लागु गरिएको छ । उनले व्यवसायीहरूकै मागअनुसार यस्तो निर्णय गरेको बताए । हामीले भन्दा पनि व्यवसायीहरूले हामीलाई दुई दिन फुर्सद चाहियो बजार बन्द गर्ने निर्णय गरिदिनु पर्‍यो भनेर आए उनले भने, हामीले उनिहरूकै माग बमोजिम पसलमा गएर दुई सय ६ व्यवसायीको हस्ताक्षर गरेर बजार बन्द गर्ने निर्णय गरेका हौँ, बन्दको समयमा होटल र मेडिकल भने सञ्चालन गर्न पाइने छ भने तरकारी पसलहरू बिहान ८ सम्म र बेलुका ५ बजेपछि मात्रै खोल्न पाइने व्यवस्था गरिएको अध्यक्ष केसीले बताए ।

    तोकिएका पसल बाहेक नियम विपरीत अन्य पसल खोलेमा पहिलो पटक पाँच सय रुपियाँ, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सय रुपियाँ जरिवाना गरिने अध्यक्ष केसीले जानकारी दिए । त्यस्तो उल्लङ्घन दोहोरिएमा जरिवाना क्रमशः बढाइने उनको चेतावानी छ । आजैदेखि निर्णय लागु भएसँगै खलङ्गा बजारका सबै पसल बिहानैदेखि बन्द गरिएका छन् भने बजार क्षेत्र सामान्यतया सुनसान देखिएको छ ।

  • अदानचुलीमा क्षयरोग परीक्षण : ९० जनाको रिपोर्ट नेगेटिभ

    अदानचुलीमा क्षयरोग परीक्षण : ९० जनाको रिपोर्ट नेगेटिभ

    हुम्ला जिल्लाको अदानचुली गाउँपालिमा क्षयरोगका सम्भावित ९० जना बिरामीको खकार परीक्षण गरिएको छ ।

    आइतबार र सोमबार दुई वटा स्वास्थ्य चौकी रहेको अदानचुली गाउँपालिकामा सम्भावित भएका बिरामीका घर घरमा गएर खकार ल्याई क्षयरोगको परीक्षाण गरिएको हो । पालिकाको श्रीनगर स्वास्थ्य चौकी र लौठी स्वास्थ्य चौकीमा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाबाट आएको टोली ल्याब टेक्निसियनको टोलीसँगै गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको सक्रियतामा खकारको चेकजाँच गरिएको स्वास्थ्य शाखा संयोजक विनोद बुढाले बताए । उनका अनुसार पालिकाका १ देखि ६ वटै वडाका सम्भावित ९० जना बिरामीहरुको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थय सेवा कार्यालय हुम्लाबाट ल्याब टेक्निसियन रवीन्द्र देवकोट र पवन ऐडीको टोलीले सम्बन्धित स्वास्थ्य चौकीमा गई ल्याब परीक्षण गरेका हुन् ।

    सम्भावित बिरामीको खकार लिनका लागि स्वास्थयकर्मी र सामुदायिक महिला स्वास्थ्य स्वय सेविकाको सक्रियातामा घर घरमा गई ल्याएको खकार सोही दुई वटा स्वास्थ्य चौकीमार्फत परीक्षण गरिएको हो । पालिकामा धेरै जनामा क्षयरोग हुने सक्ने सम्भावित अनुमान गरिएको भए पनि खकारको ल्याप परीक्षण शून्य देखिएको जनस्वास्थ्य निरीक्षक सन्तोष बुमीले बताएका छन् । गाउँपालिकामा भएका सबै वडका सम्भावित बिरामीको आफू गएर परीक्षणका लागि कसैलाई नछुटाई खकार ल्याइएको बताए ।

  • ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए

    ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डाक्टर रिसोर्टमा भेटिए

    फेसबुकमा अलिवदा लेखेर सम्पकविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।

    काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा  भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए ।

    बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ ।

    फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।

    फेसबुकमा के लेखेका थिए ?

    जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन् ।

    उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडा सरुवा भएका थिए । उनले आफ्नो सरुवामा राजनीतिक चलखेल र व्यक्तिगत प्रतिशोध रहेको आरोप लगाएका छन् ।
    करिब २५ महिनाको सेवाकालमा १८ महिना अस्पताल प्रमुखका रूपमा काम गरेका ती चिकित्सकले आफू अस्पताल सुधारको अभियानमा लागेको समयमा विभिन्न षड्यन्त्र र झुटा आरोप खेप्नुपरेको बताएका छन् ।

    उनका अनुसार कर्मचारी प्रशासनका अनियमितता सुधार गर्ने क्रममा केही कर्मचारी समूह र स्थानीय नेताहरूको आँखामा उनी नराम्रोसँग परेको दाबी गरेका छन् ।

    ‘काम नचाहने, अस्पताललाई निजी सम्पत्ति ठान्ने केही कर्मचारी र स्थानीय नेताहरूले मलाई लगातार बदनाम गर्ने र दबाब दिने काम गरे,’ ती चिकित्सकले बताएका छन् ।

    उनको भनाइ अनुसार अस्पताललाई व्यवस्थित बनाउने क्रममा उनले करारका केही कर्मचारीहरूलाई स्पष्टीकरण सोधेका थिए । यही कारणले केही व्यक्तिहरू उनको विरुद्ध सक्रिय भएका थिए ।

    उनले आरोप लगाए अनुसार रामेछापका स्थानीय नेता केदार कार्कीको दबाबमा अस्पताल सञ्चालन गर्नुपर्ने, व्यक्तिगत स्वार्थ पूरा गर्नुपर्ने, होटलका बिलहरू तिर्नुपर्ने जस्ता अनुचित मागहरू आएका थिए । ती मागहरू अस्वीकार गरेपछि उनलाई धम्कीसमेत दिएको आरोप छ ।

    ‘मेरो कार्यकक्षमै आएर ‘३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन’ भनेर धम्की दिएको थियो,’ उनले बताएका छन् ।

    उनको भनाइ अनुसार उनलाई कुनै सुनुवाइ नगरी छानबिन प्रक्रियाकै बीचमा हतारहतार सरुवा गरियो ।

    ‘छानबिन समितिले अनुसन्धान गरिरहेको अवस्थामा नै मलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन भनियो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो कत्तिको न्यायोचित हो ?’

    उनले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूमाथि पनि अमानवीय व्यवहार गरेको गुनासो गरेका छन् । हेटौंडा पुगेपछि मन्त्रालयका एक प्रमुख प्रशासकीय अधिकृतले कुनै स्पष्टीकरण नदिई जबरजस्ती रामेछाप पठाएको उनले बताएका छन् ।

    ‘१६ वटा टाँका लागेको शरीर, २ वर्षकी छोरी र श्रीमती लिएर राति रामेछापबाट काठमाडौं आउन बाध्य भएँ,’ श्रेष्ठ भन्छन् ।

    मानसिक तनावले गर्दा उनले आत्महत्या गर्ने प्रयाससमेत गरेको खुलासा गरेका छन् । ‘आफ्नै मेहनतले अस्पताललाई सुधार्दा पुरस्कार पाउनु पर्नेमा उल्टै कारबाही खेप्नुपरेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेपालमै केही गर्छु भन्ने सपना देखेको थिएँ, अहिले पश्चाताप भइरहेको छ ।’

  • गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार

    गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति चाहिन्छः सन्तोष परियार

  • सेयर कारोबार साढे ३ महिनाकै उच्च

    सेयर कारोबार साढे ३ महिनाकै उच्च

     सोमबार सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो ।

    कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ । नेप्से परिसूचक जम्मा २.८० अंक बढेको छ । सो वृद्धिपछि २६५८ मा कायम भएको छ । १२४ कम्पनीको मूल्य बढ्दा १२४ कै घट्यो ।

    यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.६९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.२५ र व्यापार ०.०९ प्रतिशत बढे ।

    अघिल्लो दिनसम्म उच्च दरले बढेको हाइड्रोपावर आज १.०० प्रतिशत घट्यो । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो अन्य ०.३३ तथा लगानी ०.१३ प्रतिशत घटे ।

    पियोर इनर्जी र पिपुल्स पावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ८.३७, सोल्टी होटलको ६.३०, ओरियन्टल होटलको ५.१३, बोटलर्स नेपाल बालाजुको ५.०९ प्रतिशत मूल्य बढ्यो ।

    अपरहेवाखोला हाइड्रोपावरको मूल्य ७.५८, श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.३३, सिनर्जी पावरको ४.८४ तथा उन्नति सहकार्य लघुवित्तको ४.३५ प्रतिशत मूल्य घट्यो ।
    आज धेरै कारोबार भएका कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी र राधि विद्युत् छन् ।

  • इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन् जानकारी

    इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन् जानकारी

     परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूतसँग भेट गरी इजरायल र इरानबीचको युद्धबाट विकसित परिस्थितिबारे जानकारी लिएकी छन् ।

    नेपालका लागि इजरायलका राजदूत स्मगलर एरी बाससँग परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री राणाले युद्धको अवस्थामा इजरालमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् ।

    मन्त्री राणाले युद्धको अवस्थामा नेपाली नागरिक असुरक्षित रहेको भन्दै सुरक्षित अवस्थाका लागि आवश्यक सहायताको पहल गरिदिन राजदूत बासलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    राजदूत बासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए । उनले युद्धको अवस्थाबारे जानकारी गराउँदै इजरायलमा रहेका नेपालसहित सबै देशका नागरिकको सुरक्षामा इजरायल सरकार गम्भीर रहेको बताएका थिए ।

    इजरायल र इरानबीच युद्धको अवस्था निम्तिएपछि आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएको थियो ।