Blog

  • सल्ले विमानस्थलमा उडान संख्या बढ्यो

    सल्ले विमानस्थलमा उडान संख्या बढ्यो

    रुकुम पश्चिमको सल्ले विमानस्थलमा नेपाल वायुसेवा निगमले उडान संख्या बढाएको छ। यात्रुको चाप बढेसँगै निगमले हप्तामा चार उडान सञ्चालन गर्ने निर्णय गरेको हो।

    पहिले हप्तामा काठमाडौँ र नेपालगञ्ज गरी एक–एक उडान मात्र हुँदै आएकोमा अबदेखि हप्तामा दुई दिन काठमाडौँ र दुई दिन नेपालगञ्जका लागि उडान हुने भएको छ। नेपाल वायुसेवा निगम रुकुम शाखाका प्रमुख प्रेम ओलीका अनुसार आइतबार र बिहीबार काठमाडौँ–रुकुम–नेपालगञ्ज तथा मङ्गलबार र शुक्रबार नेपालगञ्ज–रुकुम–काठमाडौँ रुटमा उडान हुनेछ।

    पहिले सीमित उडानका कारण टिकटका लागि यात्रुहरू लाइनमा बस्नुपर्ने अवस्था थियो। तर उडान संख्या बढेसँगै यात्रुको चाप कम हुने र टिकट पाउन सहज हुने निगमले जनाएको छ।

    हाल निगमको टिकट केन्द्रीय, क्षेत्रीय, जिल्लास्तरीय कार्यालय र अनलाइन माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। प्राविधिक कारणबाहेक उडान नियमित भइरहेको शाखा प्रमुख ओलीले जानकारी दिए।

    यसबाहेक सोमबारदेखि उडान भाडादरमा पनि केही घटाइएको छ। हाल रुकुम–नेपालगञ्जका लागि भाडा ४,५०३ रुपैयाँ ६० पैसा र काठमाडौँका लागि ९,९७८ रुपैयाँ ४५ पैसा कायम गरिएको छ। यसअघि नेपालगञ्जका लागि ४,५३७ र काठमाडौँका लागि १०,०८० रुपैयाँ लाग्थ्यो।

  • रुकुम पश्चिमका २ हजार भूकम्पपीडित अझै टहरा अनुदानबाट वञ्चित

    रुकुम पश्चिमका २ हजार भूकम्पपीडित अझै टहरा अनुदानबाट वञ्चित

    रुकुम पश्चिमका करिब २ हजार भूकम्पपीडितले भूकम्प गएको १९ महिना बितिसक्दा पनि अस्थायी आवास (टहरा) निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम नपाएको गुनासो गरेका छन्।

    २०८० साल कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रुकुम पश्चिममा घर क्षति भएका दुई हजार एक जना लाभग्राहीले हालसम्म टहरा निर्माण अनुदान पाउन सकेका छैनन्।

    प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका संयोजक कुलबहादुर जिसीका अनुसार मुसीकोट नगरपालिकाका १,३५६, त्रिवेणी गाउँपालिकाका २४३ र बाँफीकोट गाउँपालिकाका ४०२ जना प्रभावित अनुदानबाट वञ्चित छन्। यी लाभग्राहीलाई पहिलो र दोस्रो किस्ताका लागि झण्डै १० करोड ५० हजार रुपैयाँ आवश्यक पर्छ।

    हालसम्म जिल्लाका ३४ हजार ९९७ भूकम्प प्रभावितमध्ये ३२ हजार ९९६ जनाले पहिलो किस्ताको रकम पाइसकेका छन्। तर, दुई हजार एक जनाको फाइल तोकिएको म्यादमा आए पनि विपद् पोर्टलमा समावेश हुन छुटेका कारण अनुदान निकासा हुन सकेको छैन।

    बाँफीकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठाले पुनर्निर्माण सम्पन्न हुनुपर्ने समयमा पनि टहराको रकम नआउनु दुर्भाग्यपूर्ण भएको बताए। त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले राज्यले दिने भनेको राहत नपाउनु गम्भीर विषय भएको बताए।

    यसबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव ज्ञाननाथ ढकालले विषय कार्यकारी समितिमा लैजानुपर्ने अवस्था रहेको जानकारी दिएका छन्।

    उक्त भूकम्पका कारण रुकुम पश्चिममा ५३ जनाको मृत्यु, ४०७ जना घाइते, २६८ विद्यालय र १२ प्रहरी कार्यालयमा क्षति पुगेको थियो। साथै करिब २५ हजार ५८४ जना बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगी प्रभावित भएका थिए।

  • डिआईजी श्रेष्ठको विपद्‌ तयारी निर्देशन

    डिआईजी श्रेष्ठको विपद्‌ तयारी निर्देशन

     नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआईजी) माधव प्रसाद श्रेष्ठले विपतबाट हुनसक्ने क्षति न्यूनिकरणका लागि तयारी अवस्थामा रहन प्रहरीलाई निर्देशन दिएका छन् ।

    जिल्लाको निरीक्षण तथा अनुगमनको क्रममा बुधबार रुकुम पश्चिम आएका डिआईजी श्रेष्ठले मनसुजन्य विपतबाट हुने क्षति न्यूनकिरणका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकोले तयारी रहन निर्देशन दिएका हुन् । विगतका वर्षहरुमा भूकम्प र बाढीपहिरो समेतले धनजनको क्षति गरेको स्मरण गराउँदै उनले पूर्व तयारीका लागि सरोकारवाला सबै निकायहरुसँग आवश्यक समन्वय गरिरहन आवश्यक रहेको जनाए । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा उनले नागरिकमैत्री सेवा प्रदान गर्नुपर्ने बताए । जिम्मेवार भएर गुनासोरहित सेवा प्रवाह गर्नुपेर्न उनको भनाइ छ ।

    डिआइजी श्रेष्ठले सेवाप्रति उच्च व्यवसायिक हुन, शान्ती, सुरक्षा र जनताको न्यायको लागि प्रहरी प्रतिको आशा र भरोसा कम हुन नदिन उनले निर्देशन दिए । यस क्रममा उनले थुनुवाहरुको अवस्था र विभिन्न शाखाबाट सम्पादन भएका काम कारबाहिको अनुगमन गरेका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले जानकारी दिए । अनुगमनको क्रममा देखिएका कमी कमजोरीहरु सुधारका लागि समेत उनले निर्देशन दिएका छन् ।

  • ताँजाकोटमा घरघर शुद्ध खानेपानी सेवा सुरू

    ताँजाकोटमा घरघर शुद्ध खानेपानी सेवा सुरू

    हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका–१ जिमाना गाउँका बासिन्दाले अब शुद्ध खानेपानी घरमै पाइरहेका छन्। स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LIP) र ताँजाकोट गाउँपालिकाको सहलगानीमा करिब ८० लाख रुपैयाँको लागतमा सम्पन्न खानेपानी आयोजनापछि वर्षौंदेखि दूषित पानी पिउनुपर्ने तथा पानी लिन घण्टौं टाढा जानुपर्ने बाध्यता अन्त्य भएको हो।

    गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार “एक घर, एक धारा” योजना अन्तर्गत जिमाना र भैँसाबाझका ४७ घरधुरीमा धारा जडान गरिएको छ। आयोजना सम्पन्न भएपछि गाउँमा वर्षायाममा धमिलो खोला पानी पिउनुपर्ने अवस्था हटेको छ।

    अध्यक्ष जैसीले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर योजना अघि बढाइएको उल्लेख गर्दै, साना बजेटलाई छरेर नबढाई ठूला योजनामा केन्द्रित गरिएको बताए। उनले खानेपानी सेवा सुरु हुनुले तरकारी खेती र पशुपालनजस्ता आयमुखी क्रियाकलापमा समेत टेवा पुग्ने बताए।

    स्थानीय मिमबहादुर खड्का र मेनुका रिठालले विगतमा दूषित पानीका कारण झाडापखला फैलिने समस्या थियो भने अहिले सफा पानी घरमै आएपछि राहत महसुस भएको बताए। उनीहरूले पानी बोक्नुपर्ने झन्झट हटेपछि दैनिक जीवन सहज बनेको प्रतिक्रिया दिएका छन्।

    खानेपानी सेवा सुरु भएसँगै स्थानीयमा उत्साह छाएको छ। गाउँपालिकाले छोटो समयमा योजना सम्पन्न गरेको भन्दै स्थानीयले धन्यवादसमेत दिएका छन्।

  • भीरबाट लडेर घाइते सहकारी अध्यक्षको मृत्यु

    भीरबाट लडेर घाइते सहकारी अध्यक्षको मृत्यु

     कालीकोट जिल्लामा भीरबाट लडेर गम्भीर घाइते भएका नरहरीनाथ गाउँपालिका–५ का राजेन्द्र सहकारीको उपचारका क्रममा मृत्यु भएको छ ।

    घरका लागि काठ लिन आउँदै गर्दा भीरबाट लडेर सहकरी गम्भीर घाइते भएका थिए । गाउँपालिकाको सहयोगमा २५ वर्षीय घाइते सहकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । तर उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । उनका आफन्त बिरेन्द्रवहादुर बुढाले सहकारी घर निर्माणका लागि दार बोकेर ल्याउँदै गर्दा भीरबाट लडेर घाइते भएका थिए ।

    गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टको पहलमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टरको व्यवस्था गरेर तत्काल उद्धार गरियो । तर बचाउन नसकिएको बुढाको भनाइ छ । गाउँपालिका अध्यक्ष बिष्टले सहकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उपचारको क्रममा सहकारीको मृत्युपछि नरहरीनाथ गाउँपालिका स्तब्ध भएको छ ।

  • रुकुममा ६३ लाखको आलु चिप्स उद्योग पाँच वर्षदेखि अलपत्र

    रुकुममा ६३ लाखको आलु चिप्स उद्योग पाँच वर्षदेखि अलपत्र

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ मा बनाईएको आलु चिप्स उद्योगमा भएको लगानी सदुपयोग हुन सकेको छैन ।

    निर्माण सम्पन्न भएको पाँच वर्ष बितिसक्दा पनि उक्त उद्योग सञ्चालन नभएपछि लगानी खेर जाने जोखिम बढेको छ । उक्त उद्योगमा हालसम्म ६३ लाख ४६ हजार रुपियाँ राज्यको लगानी भएको छ । राज्यको लगानी बालुवामा पानी सरह भएको स्थानीयको भनाइ छ । विवरण अनुसार वरिंगे सामुहिक फलफूल खेती तथा सिस्ने हिमाल आर्गानिक आलु चिप्स उद्योगको लागि कृषि विकास कार्यालय रुकुम पश्चिमले दुई आर्थिक वर्षमा ४९ लाख ४५ हजार रुपियाँ भुक्तानी गरेको छ । आर्थिक वर्ष ०७५÷०७६ र ०७६÷०७७ मा भवन निर्माण र उपकरण समेत खरिदको रकम भुक्तानी भईसक्दा पनि अझै सम्म सञ्चालन भएको छैन । यहि उद्योगमा गत आर्थिक वर्ष ०८०÷०८१ मा आठबिसकोट नगरपालिकाले घेराबारको नाममा मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत १४ लाख एक हजार रुपियाँ भुक्तानी दिएको छ । तर पनि यो उद्योग सञ्चालनमा आएको छैन ।

    नगरपालिकाले आफूले निर्माण गरेका संरचनाको उपयोग गरी सर्वसाधारणले त्यसबाट लाभ लिएको सुनिश्चित गर्नुपर्नेमा त्यतातर्फ ध्यान नै नदिई थप लगानी गरेको पाइन्छ । यस विषयमा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०÷०८१ को बार्षिक लेखा परीक्षण प्रतिवेदनमा समेत लगानीको सदुपयोग नभएको उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७५÷०७६ मै निर्माण भएर सञ्चालनमा नआएको उद्योगमा नगरपालिकाले घेराबारको नाममा थप लगानी गर्नु राज्यको लगानी सदुपयोग नभएको उल्लेख छ । उक्त संरचना तत्काल सञ्चालन गरेर नगरवासीले सेवा प्राप्त गर्ने महालेखाको भनाइ छ । यस विषयमा आठबिसकोट नगरपालिका १ का वडा अध्यक्ष देवबहादुर घर्तीले समयमै निर्माण भएको उद्योग बिद्युत आपुर्ति नहुँदा नियमित सञ्चालनमा आउन नसकेको जानकारी दिए । सुरुमा केहि समय जेनेरेटरबाट सञ्चालन गर्दा खर्चको भार बढेकोले बिद्युत लाईन बिस्तारपछि उद्योग सुरु गर्ने उनको भनाई छ ।

    उक्त उद्योग सञ्चालनको लागि एक समिति नै दर्ता गरेर जिम्मा दिईएको छ भने जग्गा लिजमा लिईएको छ । उद्योग सञ्चालनका लागि आवश्यक सम्पूर्ण उपकरण तथा सामाग्रीहरु तयारी अवस्थामा रहेको बताईएको छ । उक्त वडामा बिद्युतिकरणको काम चलिरहेको छ । सडकको भागमा ल्याईसकिएका बिद्युतका पोल र तार भौगोलिक विकटताको कारण ठेकेदारले समयकै ढुवानी गर्न सकेको छैन । अब आलु उत्पादनको बेला पनि आएको र बिद्युत लाईन समेत जोडेर उक्त उद्योगबाट उत्पादन सुरु हुने आशा वडा कार्यालयले लिएको
    छ ।

  • एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : अर्थमन्त्री पौडेल

    एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : अर्थमन्त्री पौडेल

    There is no question about the strength of the UML leadership, but there is a lack of enthusiasm among the workers: Finance Minister Paudel

    बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउन सक्ने सामर्थ्य पार्टी नेतृत्वसँग रहेको दाबी गरे । पार्टी नेतृत्वको काबुभन्दा बाहिर कुनै पनि समस्या नरहेको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधान गर्न सक्ने क्षमता आफूहरूमा रहेको दोहोर्‍याए ।

    उनले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यकता रहेको बताए।

    उनले भने, ‘आज नेकपा एमालेमा हाम्रो काबुभन्दा बाहिर, हामीले समाधान गर्न नसक्ने कुनै समस्या छ जस्तो लाग्दैन। समस्याहरू छन्, तर ती सबै हाम्रो काबुभित्र छन्, समाधान गर्न सक्ने तहभित्रै छन्। अहिलेको पार्टीको नेतृत्वले पार्टीमा देखिएका कुनै पनि समस्याको समाधान गर्न सक्छ। र पार्टीको एकता सुरक्षित गर्दै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्न सक्छ भन्ने कुरामा हाम्रा सबै नेता–कार्यकर्ताहरूले विश्वास गर्नुपर्छ। र त्यो सामर्थ्य हामीसँग छ भन्ने विश्वास पनि छ। अहिले हाम्रो पङ्क्तिमा अलिकति त्यो गति, उत्साह, ऊर्जा कम देखिएको छ। एक समय थियो, जति बेला पार्टीले आह्वान गर्ने बित्तिकै हजारौँ–लाखौँ मान्छे सडकमा उत्रिन्थे। अहिले थोरै मान्छे जुटाउन पनि निकै मेहनत गर्नुपर्ने स्थिति सिर्जना भएको छ, किन? अहिले पार्टी र पार्टी कार्यकर्तामा किन शिथिलताको स्थिति बन्यो भन्ने कुरा अलिकति छलफल र चिन्ताको विषय हो।’ पार्टी नेतृत्वको सवालमा ठूला विवाद उत्पन्न नहुने विश्वास व्यक्त गर्दै उहाँले पार्टीका आन्तरिक समस्याको समुचित मूल्याङ्कन गरेर निष्कर्षमा पुग्नुपर्ने बताए ।

  • एभरेष्ट बैंक र चिनो हाइड्रोबीच वित्तीय व्यवस्थापन सम्झौता

    एभरेष्ट बैंक र चिनो हाइड्रोबीच वित्तीय व्यवस्थापन सम्झौता

    whatsapp sharing button
     एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ ।

    उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रो पावरका तर्फबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

    मनाङजिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रबर्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारई इपिसी मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानीस्थित सब स्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ ।

    यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रो पावर लिमिटेडबीच विद्युत खरिद बिक्रि सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।
  • स्क्रिन एडिक्सनविरुद्ध प्रिमियर स्कूलको अभियान

    स्क्रिन एडिक्सनविरुद्ध प्रिमियर स्कूलको अभियान

    sharethis sharing button
     प्रिमियर इन्टरनेसनल IB कन्टिन्युम स्कूल, एक नेपाली इन्टरनेसनल स्कूलले, आफ्नो अग्रसरतामा एक ऐतिहासिक उल्लेखनीय कदम चालेको छ ।यस स्कूलले At Home Gadget Use Policy अन्तर्गत विद्यार्थीको मानसिक स्वास्थ्य, ध्यान दिने क्षमता र सिकाइको गुणस्तरलाई डिजिटल युगको बहसको केन्द्रमा ल्याएको छ । आजका बालबालिकाले अधिकाशं समय अनियन्त्रित रूपमा मोबाइल, ट्याब्लेट वा कम्प्युटरमा बिताउने गरेका छन्, जसको असर उनीहरूको एकाग्रता, भावनात्मक सन्तुलन र पढाइमा स्पष्ट रूपमा देखिन थालेको छ। यही समस्यालाई सम्बोधन गर्दै प्रिमियरले विद्यालयीय सिकाइलाई अब घरसम्म विस्तार गर्दै डिजिटल वेलबिइङको संरचना प्रस्तुत गरेको छ।

    विद्यालयको अभिभावक प्रतिनिधिहरूको सहकार्यमा, बालबालिकाको पूर्व प्राथमिकदेखि उच्च माध्यमिक विद्यालयसम्मका विद्यार्थीका लागि उमेरअनुकूल व्यावहारिक र सन्तुलित नीति तयार पारिएकाले यो कार्यविधि विशेष छ । यो नीतिले स्क्रिनको प्रयोग समय सीमित गर्ने, गुणस्तरीय विषयवस्तु निर्धारित गर्ने, अभिभावकले विशेष निगरानी गर्ने र परिवारसँग आत्मीय समय बिताउने संस्कारलाई पुनर्जीवित गर्न प्रोत्साहित गरेको छ ।

    विश्वव्यापी रूपमा डिजिटल ओभरएक्सपोजरका लागि विभिन्न देशहरूले धेरै प्रतिबन्ध लगाएका छन् । जस्तै, फ्रान्सले स्कूलमा स्मार्टफोन प्रतिबन्ध लगाएको छ । अमेरिकामा किशोर-किशोरीका लागि सामाजिक सञ्जाल नियमन गर्ने व्यवस्था छ; यसै सन्दर्भमा नेपालमा प्रिमियरले At Home Gadget Use Policy ल्याएर उदाहरण प्रस्तुत गरेको छ । विभिन्न मानसिक चुनौतीहरूसँग जुध्न प्रिमियरले नेपालको सन्दर्भमा लागू हुने व्यावहारिक नीति तयार पारेको छ; जसले स्क्रिनको लत, ध्यान कमजोर हुनु, त्रासदी (Anxiety) उत्पन्न हुनु , सामाजिक व्यवहारसम्बन्धी समस्या र साइबर सुरक्षाजस्ता विश्वव्यापी जोखिमहरूलाई सम्बोधन गर्छ । यस अभियानमार्फत, प्रिमियरले आफूलाई विश्वव्यापी शैक्षिक समस्याहरूसँग जुद्धै, ‘सधैँ अनलाइन रहने’ प्रवृत्तिको मनोवैज्ञानिक र विकासात्मक असरमाथि सचेत समाधान ल्याएको छ । यो नीति प्रिमियरको दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै, अन्तर्राष्ट्रिय समस्याहरूको समाधान नेपालको सन्दर्भमा कसरी लागू गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण पनि बनेको छ ।

    यस विद्यालयका शैक्षिक निर्देशक प्रभिना थापाकाअनुसार, “यो कुनै विद्युतीय उपकरण प्रतिबन्ध गर्ने नीति होइन । यो त हाम्रा बच्चाहरूको ध्यान केन्द्रित गर्ने क्षमता, डिजिटल सुरक्षाबोध, सामाजिक विकास र विद्यार्थीको समग्र हितको रक्षा गर्ने अभियान हो । हामी हाम्रा अभिभावक प्रतिनिधिहरूसँग मिलेर यस्ता संस्कार निर्माण गर्ने कोसिस गरेका छौँ जसमा विद्युतीय उपकरणहरूले विद्यार्थीको सिकाइको क्षमतामा ह्रास नआउने गरी प्रोत्साहन गरियोस् ।”
    नेपालमा यस्तो मार्गदर्शक कदम चालेर प्रिमियर इन्टरनेसनल IB कन्टिन्युम स्कूलले २१औं शताब्दीको शिक्षालाई नयाँ आकार दिएको छ;- जहाँ सिकाइ, मानसिक स्वास्थ्य र समुदायको आवाज एउटै ठाउँमा मिसिन्छ। राष्ट्रको बालबालिकाको भविष्यका लागि एउटा निजी विद्यालयद्वारा लिइएको यो निर्णायक कदमले अन्य विद्यालय र नीतिनिर्माताहरूलाई पनि साझा रूपमा कदम चाल्नको लागि प्रोत्साहित गर्दछ ।