Blog

  • सेयर बजारमा उत्पादन समूह धेरै बढ्यो

    सेयर बजारमा उत्पादन समूह धेरै बढ्यो

     आइतबार सेयर बजार झिनो अंक ०.४७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम घटे पनि उत्साहजनक देखिन्छ । अघिल्लो दिन १२ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ११ अर्ब ४४ करोडको भयो ।

    ९० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो । हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको उत्साह कायमै छ । गत साता सबैभन्दा धेरै ५.५३ प्रतिशत बढेको यो सेक्टर आइतबार ०.९६ प्रतिशत बढ्यो । आज धेरै मूल्य बढेका कम्पनीमा हाइड्रोपावरको वर्चस्व रह्यो ।

    यद्यपि उत्पादन समूह सबैभन्दा धेरै १.४७ प्रतिशत बढ्यो । व्यापार १.०८, निर्जीवन बीमा ०.०७ तथा विकास बैंक ०.४८ प्रतिशत बढे ।

    बैंकिङ ०.४४, फाइनान्स ०.५९, लगानी ०.७६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स ०.३१, होटल तथा पर्यटन ०.०६ तथा अन्य समूह ०.४६ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

    १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर छन् । त्यस्तै बरुण हाइड्रोपावरको ९.८४, युनियन हाइड्रोपावरको ९.३४ प्रतिशत मूल्य
    बढ्यो ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर, राधि विद्युत् र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

  • कर्णालीको बजेटमा माओवादी असहमत

    कर्णालीको बजेटमा माओवादी असहमत

    सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटमा माओवादीले असहमति जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने जनाएको हो ।

    योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक गर्नुपर्ने र संसद्मा मुख्यमन्त्री यामलाल कँडेलले जनाएको प्रतिबद्धताअनुसार जिल्लाबाट सिफारिस योजना पनि बजेटमा समावेश नहुँदासम्म संसद् बैठकमा उपस्थित नहुने माओवादी संसदीय दलको बैठकले निर्णय गरेको छ ।

    आइतबार दिउँसो तीन बजे नै प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२ र ०८३ को वार्षिक बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर बजेटमा माओवादीले असन्तुष्टि देखाएपछि अझै बैठक बस्न सकेको छैन । कार्य व्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ भने अझै सहमति जुट्न भने सकेको छैन ।

    आफू कार्य व्यवस्था परामर्श समितिको बैठकमै भएको र सोही विषयमा छलफल भइरहेको माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए । ‘म अहिले कार्य व्यवस्था परामर्श समितिकै बैठकमै छु, सोही विषयमा छलफल भइरहेको छ,’ उनले भने ।

    उता सत्तारुढ एमालेले भने बजेट नआउँदै माओवादीले विरोध गर्नु उचित नभएको बताएको छ । ‘बजेट सभामा प्रस्तुत नहुँदै विरोध गर्नुको तुक छैन,’ एमालेका एक सांसदले भने, ‘बजेट सभामा प्रस्तुत नहुँदासम्म त गोप्य नै रहन्छ । देखाउँदै ल्याउने कुरा पनि हुँदैन ।’ बजेटमा असन्तुष्टि भए बजेट भाषण पछि पनि राख्ने सकिने उनले बताए ।

    आज दिउँसो २ बजे बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भने कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट पारित गरिसकेको छ । बजेट संसद्मा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट पारित भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

  • भिजिट भिसामा माओवादी गलेको छैन : वर्षामान पुन

    भिजिट भिसामा माओवादी गलेको छैन : वर्षामान पुन

     नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्य स्मरण गरेका छन् ।

    रास्वपाको नाराबाजीकाबीच प्रतिनिधिसभामा बजेटमाथिको सामान्य छलफल चलिरहेको छ । आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पार्टीका तर्फबाट धारणा राख्न रोष्ट्रम पुगेका पुनले केही दिन अगाडिसम्म संसद्‌मा संघर्षरत रहँदाको समयमा रास्वपासँगको सहकार्य स्मरण गरेका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र त्यससँग सम्बन्धित भिजिट भिसा प्रकरणको विषय यही जेठ १३ गतेदेखि संसद्‌‌मा उठ्दै आएको छ । यो विषय संसद्‌‌मा प्रवेश गराउन प्रतिपक्षमा रहेका माओवादी केन्द्र, रास्वपा लगायतका दलहरूले भूमिका खेले ।

    त्यसक्रममा माओवादी, रास्वपा लगायतका दलहरू सँगसँगै रहेको माओवादीका उपमहासचिव पुनले स्मरण गरेका हुन् ।

    सत्तापक्षसँग निरन्तर भएको संवादपछि र आम जनताको भावना, आम जनसमुदायको सुझावहरूलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा उठेका विषयहरूलाई सम्बोधन गर्ने सरकारको प्रतिवद्धतापछि आफूहरु सदन चलाउन तयार भएको उनले बताए ।

    ‘खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी लगायत हामी प्रतिपक्षी दलहरूले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौं’, पुनले भने । यो विषय सदन बाहिर पनि उठेको उनले बताए । नैतिकताको विषय व्यक्तिको निजी विषय हुने उनले बताए । पार्टीहरूले, जनताले नैतिकताको कुरा सम्बन्धित व्यक्तिलाई सुझाव दिने विषय रहेको बताए ।

    गृहमन्त्रीले राजीनामा नदिने र सबै प्रकारका छानबिनका लागि तयार रहेको बताएपछि सरकारले एक महिनाभित्र छानबिन हुने प्रतिवद्धतापछि आफूहरु सदन खोल्न तयार रहेको बताए ।

    यो विषयमा सहमतिमा आउन रास्वपालाई समेत आग्रह गरेको पुनले स्मरण गरे । मुख्य विषय भिजिट भिसा प्रकरणको छानबिन हुनुपर्ने रहेको उनले बताए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन निश्पक्ष ढंगले अगाडि बढ्ने र विगतमा समेत भएको समस्या र नीतिगत तथा संरचनात्मक विषय केलाउन छानबिन चाहेको बताए ।

    केही व्यक्तिले आफैले गृहमन्त्रालय चलाएको हुनाले माओवादी तर्सिएको हो कि भन्ने समेत सुनिएको उल्लेख गर्दै उनले त्यस्तो नरहेको बताए । बरु यो विषयमा अध्ययन र छानबिनका लागि निरन्तर खबरदारी गर्ने बताए ।

    २ बुँदे सहमति गरेर सदन खोल्दा अग्नि प्रसाद सापकोटा विरुद्धको मुद्दासँग सम्बन्ध छ कि भनेर समेत कतिपयले आशंका गरे । अग्नि सापकोटाविरुद्धको मुद्दा र सदन खोल्ने विषय कुनै लेनदेनको विषय नरहेको बताए ।

    ‘माओवादी गलेको कुरामा कुनै सत्यता छैन’ उनले भने ।

    माओवादी उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको विषयमा उठाएका विषय एक ढंगले सम्बोधन भएको भनेर छलफलमा भाग लिन आग्रह गरे । रास्वपा नयाँ दल रहेको उल्लेख गर्दै उनले अनुभव संगाल्दै अगाडि बढ्न आवश्यक रहेको बताए ।

    सत्तापक्षका सांसदहरू समेत संयमित ढंगले प्रस्तुत हुनुपर्ने बताए ।

    ‘अलिकति बल प्रयोग जस्तो, जबरजस्ती जस्तो भयो । प्रमसख प्रतिपक्षी दल आइसक्यो, यसलाई पेलेपनि हुन्छ भन्ने जस्तो ठानिनु हुँदैन’ पुनले भने ।

    संसदीय अंकगणित कहिले कसैको ठूलो, कहिले अर्को ठूलो हुन सक्ने भन्दै उनले विगतमा रहेको प्रतिसोध अहिले नै साधौं जस्तो गर्न नहुने बताए ।

    सभामुखले संवादको वातावरण बनाउन थप पहल लिनुपर्ने आग्रह गरे । संवाद गर्दै रास्वपालाई समेत बजेटमाथि धारणा राख्ने वातावरण बनाउन सभामुखलाई उनले अनुरोध गरे ।

    यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल लिनुपर्ने उनको आग्रह छ ।

  • माओवादीले झुक्यायो, आन्दोलन जारी रहन्छः रास्वपा

    माओवादीले झुक्यायो, आन्दोलन जारी रहन्छः रास्वपा

  • अभियान अन्तर्गत पश्चिम नेपालमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु

    अभियान अन्तर्गत पश्चिम नेपालमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु

    पर्यटन प्रवर्द्धनको उद्देश्यले होटल संघ पोखरा नेपालले “जाउँ है पोखरा” अभियान अन्तर्गत पश्चिम नेपालका प्रमुख शहरहरूमा कार्यक्रम सुरु गरेको छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा सञ्चालन हुने यो अभियान जेठ २९ गतेदेखि असार २ गतेसम्म वुटवल, नेपालगञ्ज, सुर्खेत र दाङ (घोराही) मा सञ्चालन हुने भएको छ ।

    होटल संघ पोखरा नेपालका संयोजक लक्ष्मण सुवेदीका अनुसार, “जाउँ है पोखरा” अभियान दुई दशकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सक्रिय रहँदै आएको छ । देशमा द्वन्द्वको कालखण्डमा सुरु गरिएको यो अभियानले आन्तरिक पर्यटक नै दिगो पर्यटनको आधार हुन् भन्ने मान्यता अनुसार निरन्तरता पाइरहेको छ ।

    संघले गत वर्ष फागुनमा पूर्वी नेपालका विभिन्न शहरमा पनि यस्तै अभियान सम्पन्न गरेको थियो । यो वर्ष पश्चिम नेपालमा अभियानलाई केन्द्रित गरी आन्तरिक पर्यटनलाई थप उत्साहित गर्ने र पर्यटकलाई पोखरा भ्रमणको निम्तो दिने उद्देश्य लिएको छ । साथै पोखराबाट समेत पर्यटकलाई पश्चिम नेपालका गन्तव्यहरूतर्फ आकर्षित गर्ने योजना रहेको छ ।

    पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन अभियान सघाउ पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । कनेक्टिभिटीलाई विशेष महत्व दिँदै संघले पोखरा तथा पश्चिम नेपालबीच सिधा हवाई उडान तथा स्तरीय बस सेवा विस्तार गर्न सम्बद्ध निकायहरूलाई सक्रिय भूमिका खेल्न आह्वान गरेको छ ।

    संघका अनुसार, पोखरामा पाँच खर्ब हाराहारीको लगानी, १,२०० होटल र ४०,००० बेड क्षमता रहेको छ । यस क्षेत्रमा करिब २०,००० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। संघले फेवा नववर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव, खेलकुद कार्यक्रम, भारतीय शहरहरूमा “चलिए पोखरा” अभियान तथा अन्तर्राष्ट्रिय ट्राभल मार्टहरूमा सहभागिता जस्ता विभिन्न प्रवर्द्धनात्मक गतिविधि गर्दै आएको छ ।

    पोखरा प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक गतिविधिहरूले भरिपूर्ण गन्तव्य भएको उल्लेख गर्दै होटल संघ पोखराले सम्पूर्ण नेपालीलाई पोखरा भ्रमण गर्न निमन्त्रण गरेको छ ।

  • निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : ओली

    निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : ओली

    Public trust in Public Service Commission for fairness is strong: Prime Minister Oli
    आयोगको हीरक जयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गरेका हुन् ।

    ‘नेपाल र नेपालीको चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै यसलाई प्रविधिमैत्री र समयसापेक्षा बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘आयोगलाई थप साधनस्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्छ । सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ ।’

  • योग्य र नैतिक कर्मचारी छनोटमा लोकसेवा आयोगको भूमिका प्रशंसनीय : राष्ट्रपति पौडेल

    योग्य र नैतिक कर्मचारी छनोटमा लोकसेवा आयोगको भूमिका प्रशंसनीय : राष्ट्रपति पौडेल

    The role of the Public Service Commission in selecting qualified and ethical employees is commendable: President Paudel
    आयोगको ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आइतबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आयोगले सात दशकभन्दा बढी समयदेखि मुलुकको स्थायी प्रशासन सञ्चालनका लागि स्वच्छ र दक्ष जनशक्ति छनोट गर्दै आएको उल्लेख गरे।

    राष्ट्रपतिले लोकसेवा आयोगलाई प्रेरित, उच्च नैतिकता भएको, अनुशासित र राष्ट्रप्रति सद्भाव राख्ने कर्मचारी छनोटमा अझ सजग र चनाखो हुन आग्रह गरेका छन् ।

    उनले भने, ‘मुलुक सञ्चालन गर्ने सरकारी निकायमा स्थायी सरकारका रूपमा रहने योग्यतम् कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले साढे सात दशकको अवधिमा आफ्नो मूल सिद्धान्त, स्वच्छता र दक्षतालाई प्रमुख आधार मान्दै क्रियाशील रहनु प्रशंसनीय पक्ष हो। आफ्नो भूमिका निर्वाह गर्दै आयोगले सबै वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रतिको आशा एवं भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य, दायित्व एवं जिम्मेवारी निर्वाह गर्न चनाखो हुन जरुरी छ। सो उत्प्रेरित, उच्च नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सक्छन् भन्ने अर्थलाई हामीले बिर्सनु हुँदैन।’

    नेपालमा निजामती सेवामा समावेशी पदपूर्तिको व्यवस्था भएयता विभिन्न समावेशी समूहको विज्ञापनबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका र पछाडि पारिएका क्षेत्रबाट उम्मेदवार सिफारिस गर्न सफल हुनु आयोगको सकारात्मक पक्ष रहेको राष्ट्रपतिको भनाइ छ ।

  • महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

    महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान

     महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रम सहित सम्मान गरिएको छ ।

    बैंकमा इमान्दार, निष्ठा, समर्पण, दायित्वबोध र व्यवसायिकता साथ २० वर्ष सम्म निरन्तर रुपमा बैंकको स्थायित्व, विकास र उत्कृष्टताको यात्रामा महत्वपुर्ण सेवा तथा योगदान पु¥याए बापत ३६ जना कर्मचारीहरुलाई काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो । विभिन्न शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा रही सेवा प्रदान गरिरहेका उक्त कर्मचारीहरुलाई बैंकका अध्यक्ष, सचालक समितिका सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गर्नुभएको हो । उक्त कार्यक्रममा संचालक समिति सदस्यहरु, बैंकका उच्च पदस्थ अधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरु, काठमाण्डौं उपत्यकाका शाखा प्रबन्धकहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । सम्मानित कर्मचारीहरुको ज्ञान, सीप, अनुभव र मार्गदर्शनले बैंकलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।

    साथै उक्त कार्यक्रममा महालक्ष्मी टोष्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ । टोस्टमास्टर इन्टरनेशनल द्धारा मान्यता प्राप्त यो क्लब मार्फत बैकका कर्मचारीहरुमा नेतृत्व क्षमता, सार्वनजानिक वक्तृत्व कला, आत्मविश्वास तथा संचार कौशल अभिवृद्धिमा सहयोग पु¥याउने लक्ष्य सहित गठन गरिएको हो । विकास बैंकहरुमा टोस्टमास्टर क्लबको औपचारिक सुरुवात गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ ।

    जेष्ठ महिना भर बैंकले ३१ औं वार्षिकोत्सव मनाउन तय गरेको पुर्व निर्धारित सम्पूर्ण कार्यक्रमहरु समेत सफलतापूर्वक सम्पन्न भएका छन् । यस अवसरमा आगामी दिनहरुमा बैंकले आफ्ना ग्राहकहरुलाई थप अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउन प्रतिबद्धता समेत जाहेर गरेको छ ।

  • सदनबाट बाहिरिए राप्रपाका सांसद

    सदनबाट बाहिरिए राप्रपाका सांसद

     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोधका बीच प्रतिनिधि सभाको बैठक चलाएको भनेर सभामुखमाथि नै प्रश्न उठाएको छ ।

    सभामुखले समय दिएपनि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताए ।

    दुई दलको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी छ । रास्वपाका सांसदहरू गृहमन्त्रीको राजीनामा मागेर नाराबाजी गरिरहेका छन् । राप्रपाका सांसदहरू भने आफ्नो सिटबाट उठेर विरोध गरिरहेका छन् ।

  • नेपालबाट बंगलादेशमा आजदेखि ४० मेगावाट विद्युत निर्यात सुरु

    नेपालबाट बंगलादेशमा आजदेखि ४० मेगावाट विद्युत निर्यात सुरु

    sharethis sharing button
     नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा आजदेखि विद्युत निर्यात सुरु गरेको छ ।

    नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात सुरु गरेको हो ।

    गत वर्ष कात्तिक १८ ९जुलाई १५० मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ ९जुन १५० अर्थात् आइतबारदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ ।

    गत वर्ष असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो यामको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ः०० देखि राति १२ः०० बजेसम्म १२ घण्टा विद्युत् निर्यात भएको थियो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुसीको खबर भएको बताएका छन् ।

    नेपालले हरेक वर्ष पाँच महिना वर्षात्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ ।