Blog

  • पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाउँछु : सभापति देउवा

    पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाउँछु : सभापति देउवा

    whatsapp sharing button
     नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयलाई अपाङ्गतामैत्री बनाइने बताएका छन् ।

    शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अपाङ्गता भएका व्यक्तिहरुलाई पार्टी कार्यालयमा माथि चढ्न समस्या भएको गुनासो आएको भन्दै पार्टीका पदाधिकारीहरुसँग कुरा गरेर माथिसम्मै ह्वीलचेयर जानसक्ने व्यवस्था गर्ने बताए । उनले अबको बाटो संकल्प र कार्यान्वयनको भएको बताए । उनले अब बोल्ने नभए काम ध्यान दिनुपर्ने बताए ।
    पार्टी संरचनामा अनिवार्य प्रतिनिधित्व सुनिश्चितता गर्नेकुरामा लाग्ने बताए । सबै तहमा डिजिटल पहुँच सुधार गर्न ध्यान दिने बताए ।

    पार्टीको नीति तथा घोषणापत्रहरुमा अपाङ्गताका सवालहरु स्पष्ट रुपमा उल्लेख गर्ने प्रतिवद्धता जनाए । सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरुले हिनतावोध नगरी आफ्नो काममा लाग्न आग्रह गरे ।
  • सल्यानमा चट्याङ लाग्दा महिला घाइते, चार बाख्राको मृत्यु

    सल्यानमा चट्याङ लाग्दा महिला घाइते, चार बाख्राको मृत्यु

     सल्यानमा वर्षासँगै परेको चटयाङ लागेर सल्यानमा एक महिला घाइते भएकी छन् । घर नजिकै परेको चटयाङ लागेर त्रिवेणी गाउँपालिका–१ सागिने घर भएकी २४ वर्षकी आरती पुन घाइते भएकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार घरमा बसिरहेका बेला चटयाङ परेको थियो । घाइते पुनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको उनले बताए । यस्तै, कालिमाटी गाउँपालिका–५ दम्दवाली बस्ने पहलसिंह गाहाका चार बाख्रा चट्याङकै कारण मरेका छन् । दुई खसी र दुई बाख्रा मरेका हुन् ।

  • कनकासुन्दरीमा प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम सफल, सयौंलाई रोजगारी

    कनकासुन्दरीमा प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रम सफल, सयौंलाई रोजगारी

    जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिकामा प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमका सबै योजना सम्पन्न भएका छन् ।

    स्थानीय पूर्वाधार विकास तथा रोजगारी सृजना गर्ने लक्ष्यले संचालित कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा छनोट भएका सबै योजना सम्पन्न भएका हुन् । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहदै कनकासुन्दरीले दुई करोड बढी लागतका प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमका १८ योजना सम्पन्न भएका हुन् । चालू आर्थिक वर्ष २०८१÷०८२ का लागि कनकासुन्दरी गाउँपालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ८ वटा योजना र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ११ वटा योजना छनोट गरिएको थियो । कूल १९ वटा योजना मध्य १८ वटै योजना निर्माण सम्पन्न भईसकेकोे कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए । उनका अनुसार मुख्य्यमन्त्री्त्री रोजगारका ८ वटा योजनामध्य एक योजना विवादित भएको र ७ वटा योजना सम्पन्न भईसकेका छन् ।

    वडा नं ३ को सडक निर्माण योजना रारा राष्ट्यि निकुञ्ज क्षेत्रमा परेपछि निकुञ्जको स्वीकृति नपाउँदा काम रोकिएको उनको भनाई छ । उक्त सडक योजना निर्माणका लागि केही रुख कटान गर्नु पर्ने र त्यसका लागि निकुञ्जको स्वीकृति नभई काम अघि नबढ्ने भएकाले सम्बन्धित उपभोक्ता समितिले निकुञ्जबाट स्वीकृति ल्याउने पक्रिया थालेको छ । असार अन्तिम सम्म उक्त योजना पनि सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ । योजना निर्माण सम्पन्न भएर अनुमगन समेत भईसकेको र अन्तिम भुक्तानी गर्न मात्रै बाँकी रहेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम प्रतियोजनाको बजेट १५ लाख रहेको छ । कनकनसुन्दरीका ८ वटा वडामा १ करोड २० लाखका सडक,खानेपानी,सिँचाई,लगायतका योजना निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

    प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट कनकासुन्दरी गाउँपालिकाका ९ वटै वडाका विभिन्न बस्तीमा सडक,खानेपानी,विद्युत,घेराबार,मन्दिर निर्माण,सिँचाई कुलो,बाटो पिसिसि,जलविद्युत आयोजनाको मुहान संरक्षण,पाईप लाईन विस्तार लगायतका थुप्रै काम गरिएको कनकासुन्दरी गाउँपालिकाका रोजगार संयोजक हंशराज न्यौपानेले बताए । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका ११ वटा योजना पनि सम्पन्न भईसकेका छन् । चालू आवमा विनियोजित योजनाहरु आर्थिक वर्ष सकिनु अगावै सम्पन्न गरेको कनकासुन्दरीका रोजगार संयोजक न्यौपानले उल्लेख गरे । उनले भने, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि,पर्यटन,खानेपानी संग सम्बन्धित योजना बनेका छन् । यसमा पालिकाले सामाग्री खरिदमा बजेट विनियोजन गरेको छ । कामदारको ज्याला बापतको पैसा संघबाट प्राप्त हुन्छ ।

    चालू आवमा प्रम रोजगार कार्यक्रमका योजना निर्माणका सामाग्री (सरिया,सिमेन्ट,ढुंगा,बालुवा) खरिदका लागि गाउँपालिकाले ३३ लाख विनियोजन गरेको थियो । कामदारको ज्यालाका लागि संघिय सर्सत अनुदानबाट ५७ लाख १६ हजार रुपैयाँ विनियोजित भएको थियो । पालिका र संंघबाट प्रम कार्यक्रमका योजना निर्माणमा विनियोजित कूल ८६ लाख बजेटका ११ वटै योजना सम्पन्न भईसकेको रोजगार संयोजक शाहीले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री तथा प्रधानमन्त्री रोजगारको गरी कूल २ करोड १० लाख लगानीका १८ वटा योजना निर्माण सम्पन्न भएका छन् । उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालू आवमा कनकासुन्दरीका ७८ जना यूवायूवतीले रोजगार पाएका छन् । भने मुख्यमन्त्री रोजगार कार्यक्रमबाट २ सय ८६ जा नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

  • वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति गठन

    वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति गठन

     सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति गठन गरेको छ ।

    समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् ।

    मन्त्री राणाका अनुसार समितिको बैठक दुई तीन पटक बसिसकेको छ ।

    शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो जानकारी दिएकी हुन् ।

    ‘वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ । गृहमन्त्री, श्रममन्त्री र परराष्ट्रमन्त्रीका साथै तीन वटै मन्त्रालयका सचिव बसेर गहनतम रुपमा छलफल गरेर के–के समस्या रहेछ भनेर हेर्ने हो’ उनले भनिन् ।

    समितिले आफूले देखेको उपाय श्रम मन्त्रालयलाई दिनेछ । राणा थप्छिन्, ‘हामी दुई तीन राउण्ड बसिसकेका छौं ।’

    कतिपय देशमा अन्य देशका नागरिकले भन्दा नेपाली कामदारले कम तलब पाउने अवस्था रहेको समेत उनले बताइन् ।

    ‘युएईमा नेपाली कामदारले पाउने अन्य मुलुकले पाउने भन्दा कम तलब रहेछ । अरुले १ हजार रियाल पाउने रहेछन् तर हाम्रो देशकाले ८ सय मात्रै पाउने रहेछ ।’

    यस्ता समस्याको समाधानको उपाय समितिले सुझाउनेछ ।

  • इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य उकालो

    इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्य उकालो

     इजरायलले इरानमाथि आक्रमणको घोषणा गरेपछि तेलको मूल्य बढेको छ। आक्रमणको समाचारपछि बेन्चमार्क अनुबंधहरू, ब्रेन्ट क्रूड र निमेक्स लाइट स्वीट, १०% भन्दा बढीले बढे।

    इरान र इजरायलबीचको द्वन्द्वले इरानबाट हुने तेल आपूर्तिमा बाधा पुर्‍याउन सक्ने चिन्ता व्यापारीहरू व्यक्त गर्छन्।

    कच्चा तेलको मूल्यमा भएको वृद्धिले खाद्यान्नको मूल्यदेखि कारको इन्धनको लागतसम्म सबै कुरालाई असर गर्छ।

    विश्लेषकहरूले बीबीसीलाई बताएअनुसार व्यापारीहरूले आगामी दिनहरूमा इरानले बदला लिन्छ कि लिँदैन भन्ने कुरामा नजर राखिरहेका छन्।
  • सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि

    सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि

     गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।

    बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. चार हजार २०० ले वृद्धि भएको छ भने चाँदीमा रु. १५ ले बढोत्तरी भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु. दुई हजार १६५ मा कारोबार भइरहेको छ ।

    गत मङ्गलबार एक तोला सुन रु. एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु. दुई हजार १६५ मा कारोबार भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • मुगुमा चट्याङले एकै किसानका १४ बाख्रा मरे

    मुगुमा चट्याङले एकै किसानका १४ बाख्रा मरे

    मुगुमा अविरल वर्षा संगै चट्याङ लागेर एकै किसानका १४ बाख्रा मरेका छन् ।

    विहिबार दिउँसो चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेका हुन् । भने चार वटा बाख्रा घाईते भएका छन् । एकै साथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्तापित हुनु परेको छ । उनले नगरपालिका लगायत अन्य निकायबाट राहत पाए फेरि बाख्रा पालन गर्ने बताएका छन्। तीन घण्टा लामो भएको भारी वर्षापछि आएको बाढीले सोही गाउँकी बासुरुपा रावलको घर भत्कीएको छ । भने झ्यारी गाउँका अन्य धेरैजसो घरभित्रै बाढी(भल) पसेको छ । स्थानीय बासुरुपाका अनुसार भत्कीएपछि परिवारको विचल्ली भएको छ । भने गाउँले विस्तापित भएका छन् । एकै २०७९ असोज महिनाको २४ र २५ गते आएको अविरल वर्षाले झ्यारी गाउँमा ठूलो क्षति पुर्याएको थियो।

    झ्यारी गाउँमा त्यहाँ माथि नजिकैको बाम्नेचौरमा बस्दै आएका स्थानीयभारी वर्षात हुन लागेसंगै चिन्तामा परेका छन् । २०७९ कै बाढीले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता खेपीरहेका स्थानीय जोखिम मोलेर अहिले बस्न बाध्य रहेको स्थानीय असल रावलले बताएका छन् । वर्षापछिको बाढीले पाक्दै गरेको जौ गहुँ बालीमा पनि क्षति पुगेको छ । घटनाको एकिन विवरण आउन भने बाँकि रहेको छ । रारा छायानाँथ नगरपालिकाका मेयर विष्णु कुमार भामले प्रहरी पठाएर घटनाको मुचुल्का गर्न लगाएको बताए । क्षतिको विवरणनुसार किसानको राहत र पुर्नस्थापनाका लागि नगरपालिकाबाट उचित राहत प्रदान गरिने मेयर भामको भनाई छ ।

  • उच्चका ४ जना मुख्य न्यायाधीशमा सिफारिस

    उच्चका ४ जना मुख्य न्यायाधीशमा सिफारिस

     न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ ।

    आज बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

    राजनप्रसाद भट्टराईलाई विराटनगर, लालबहादुर कुँवरलाई पाटन, हरिप्रसाद भण्डारीलाई सुर्खेत र राजेन्द्र तिवारीलाई तुलसीपुरको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।

    सिफारिस गरिएका न्यायाधीशहरू हाल जनकपुर, पाटन, विराटनगर र तुलसीपुर इजलासमा कार्यरत छन्।

  • भेडापालन प्रोत्साहनका लागि जुम्लामा गोठालो भत्ता

    भेडापालन प्रोत्साहनका लागि जुम्लामा गोठालो भत्ता

     जुम्लामा चालु आर्थिक वर्ष २ सय ३० जना किसानले गोठालो भत्ता पाएका छन् । कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पालेका किसानले प्रत्येक वर्ष भत्ता दिँदै आएको छ ।

    पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले भेडा पालन व्यवसायमा संलग्न किसानहरूलाई राहत स्वरूप गोठालो भत्ता वितरण गर्ने कार्य गरिरहेको छ । यो वर्ष सबै भन्दा बढी ४० जना गुठीचौर गाउँपालिकाका किसानले गोठालो भत्ता पाएका छन् । यसै गरी, सिँजाका ३७, तातोपानीका ३१, तिलाका २२, चन्दननाथ नगरपालिका १९, कनकासुन्दरीका १३ र हिमा गाउँपालिकाका ५ जना किसानले गोठालो भत्ता पाएको कार्यालय प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले बताए । उनले प्रक्रियामा आएका किसानलाई एक मुष्ट १८ हजार रुपियाँ दिइएको बताए । यो भत्ता भेडा पालनमा लागि परेका किसानहरूको प्रोत्साहनका लागि उपलब्ध गराइएको हो । तर, उपलब्ध तथ्याङ्क अनुसार कतिपय भेडापालक किसानहरू भने यो सुविधाबाट वञ्चित हुँदै आएका बताएका छन् ।

    प्रक्रिया पुरा गरे पनि नाम नपरेको, आवेदन प्रक्रियाको जानकारी नहुनु वा आवश्यक कागजात अभाव जस्ता कारणहरूले गर्दा केही किसानहरूले गोठालो भत्ता प्राप्त गर्न सकेका छैनन् । स्थानीय स्तरमा यस विषयमा गुनासो बढ्दै गएको छ । प्रभावित किसानहरूले वितरण प्रक्रिया पारदर्शी र समावेशी हुनुपर्ने माग गर्दै आएका छन् । उनीहरूको भनाइ अनुसार, हामी पनि भेडा पाल्छौँ, सबै प्रक्रिया पूरा गरेका थियौँ, तर भत्ता पाएनौँ । पशु सेवा कार्यालयका प्रमुख बुढाथापाका अनुसार, भत्ता वितरण निश्चित मापदण्ड अनुसार हुने गर्छ । केही किसानहरूको विवरण अधुरो वा ढिला पुगेको हुन सक्छ, जसका कारण उनीहरू सूचीमा पर्न नसकेका हुन् । भत्ताबाट लाभान्वित भएका किसानहरूले पशुपालनमा थप उत्साह र स्थायित्व महसुस गरिरहेको बताएका छन् । यो अवस्थाले स्थानीय स्तरमा वितरण प्रणालीको पुनरावलोकन र आवश्यक सुधारको माग उठेको छ । यद्यपि, ग्रामीण तथा दुर्गम बस्तीका किसानहरू भने यो कार्यक्रमबाट वञ्चित भइरहेका छन् ।

    सूचना अभाव, कमजोर पहुँच, प्रशासनिक झन्झट तथा आवश्यक कागजात सङ्कलनको कठिनाइका कारण ग्रामीण किसानहरू यो योजनाबाट लाभ लिन नसकेको बताइएको छ । स्थानीय किसानहरू भन्छन्, हामी भेडा पाल्छौँ, तर गोठालो भत्ता के हो भन्ने नै थाहा छैन । जानकारी नै पाएका छैनौँ । यसरी योजनाबाट वास्तविक हकदार किसान छुटिरहनु गोठालो भत्ता कार्यक्रमको प्रभावकारिता र पहुँच माथि प्रश्न उठाउन थालिएको छ । यस समस्यालाई सम्बोधन गर्न सरोकारवाला निकायहरूले सूचना प्रवाहमा सुधार, स्थानमै सेवा विस्तार र समावेशी वितरण प्रक्रिया अपनाउनु आवश्यक देखिन्छ ।

  • मिनिट्रक र मोटरसाइकल ठोक्किएपछि रुकुम पश्चिममा दुई घाइते

    मिनिट्रक र मोटरसाइकल ठोक्किएपछि रुकुम पश्चिममा दुई घाइते

     रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ छेरामा मिनिट्रक र मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन् ।

    शुक्रबार बिहान मुसीकोट नगरपालिका–४ को सोलाबाङबाट माछिमीतर्फ जाँदै गरेको रा ५ प ७० नम्बरको मोटरसाइकल सानीभेरीको सिम्लीबाट दाङतर्फ जाँदै गरेको रा १ ख १४९३ नम्बरको मिनिट्रकमा ठोक्किएको हो । दुर्घटनाको खबर लगत्तै घटनास्थल पुग्नुभएका त्रि सिद्धेश्वरी राप्ती यातायात समितिका रुकुम इन्चार्ज टेकबहादुर बिकले दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुईजना घाइते भएको जानकारी दिए । घाइते हुनेहरुमा रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका ७ निवासी टीकाराम केसी र भीमप्रकाश डाँगी रहेको इन्चार्ज बिकले बताए ।

    घाइतेहरूलाई प्रहरी चौकी सोलाबाङका इन्चार्ज गणेश बिक, स्थानीयलगायतका टोलीले उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । दुवैजना घाइतेलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । ट्रक चालक सल्यानका निर्मल बिक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।