Blog

  • अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौं आइपुगे

    अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौं आइपुगे

    अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु काठमाडौं आइपुगेका छन् । आइतबार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनीहरु नेपाल आइपुगेका हुन् ।

    अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौं ल्याएर छोडेको हो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो । अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।

  • भिजिट भिसाबारे छानबिन समिति बनाउन विपक्षीले खोजे सरकारको प्रतिबद्धता

    भिजिट भिसाबारे छानबिन समिति बनाउन विपक्षीले खोजे सरकारको प्रतिबद्धता

    काठमाडौं । संसद्को गतिरोध अन्त्यका लागि बसेको विपक्षी दलहरूको बैठक सकिएको छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।

    बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् ।

    नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार, सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता जाहेर गर्नुपनेगरी छलफल अघि बढेको छ ।

    यस विषयमा पुनः छलफल गर्ने नेताहरूले बताएका छन् ।

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो ।

    त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलोगरी बसेको थियो ।

    भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।

    सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन् ।

    तर, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रतिबद्धता जनाइरहन आवश्यक नरहेको तर्कमा छन् ।

    सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ ।

    प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन ।

  • माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन

    माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन

     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोनवार्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि देउवाले प्रचण्डलाई फोन गरेका हुन् ।

    स्रोतका अनुसार, उनीहरूबीच हिजो (बिहीबार) नै फोनवार्ता भएको हो ।

    प्रचण्डका अनुसार, फोन देउवा आफैंले गरेका थिए ।

    संसद् भवनमा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यसबारे जानकारी गराएका हुन् ।

    ‘देउवाजीले हिजो फोन गर्नुभएको थियो । माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो । त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘के भएको हो भनेर ? शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैं आश्चर्यमा परेँ ।’

    फोनवार्ताका क्रममा केहीबेर ठट्टा चलेको पनि उनले बताए ।

    ‘मैले चाहिँ तपाईंलाई पो थाहा हुनुपर्छ भनेँ । उहाँलाई पनि थाहा नभएको बुझेँ मैले,’ प्रचण्डले भनेका छन्, ‘देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझेँ।’

  • पत्रकार टिकाप्रसाद भट्ट विरुद्ध भ्रष्टाचारमुद्दा दायर

    पत्रकार टिकाप्रसाद भट्ट विरुद्ध भ्रष्टाचारमुद्दा दायर

     पत्रकारको आवरणमा सरकारी कर्मचारीहरुलाई धम्क्याउने र रकम असुल्ने गरेको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापका एक कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नासु पदमा कार्यरत टिकाप्रसाद भट्ट विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । साउन, २०४९ सालदेखि अस्थायी खरिदारमा कार्यरत उनले लगत्तै अनिश्चितकालिन म्याद थप गरेको कैयौ निकायबाट एकसाथ लाभ लिएको अख्तियारको आरोप छ ।

    कान्तिपुर दैनिकको पूर्णकालीन पत्रकार भएर त्यहाँबाट नियमित पारिश्रमिक तथा तलब लिनुका साथै नगर विकास समिति लगायत अन्य निकायबाट पनि पारिश्रमिक लिएको अख्तियारको आरोप छ ।

    कर्मचारीको परिचय लुकाई पत्रकारको हैसियतले विभिन्न कार्यालयहरुबाट काज/भ्रमण अनि बैठक भत्ता लिएको भन्दै अख्तियारले त्यसलाई गैरकानूनी लाभ भनेको छ ।

  • संसदको अवरोधबारे निर्णय गर्न छलफलमा जुटे विपक्षी दलहरू

    संसदको अवरोधबारे निर्णय गर्न छलफलमा जुटे विपक्षी दलहरू

     संसद्को अवरोध हटाउने वा जारी राख्ने सम्बन्धमा विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक सुरु भएको हो । जहाँ माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन् । मागबाट लचिलो हुँदै विक्षी दलहरूले जेठ १३ गतेदेखि लगातार संसद् बैठक अवरोध गर्दै आएका छन् ।

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो ।

    भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।
  •  छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : देउवा

     छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

    पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

    सभापति देउवाले यस विषयमा चाँडै सत्ता सहयात्री दलहरूसँग छलफल गरिनेसमेत बताए । ‘आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ,’ उनले भने ।

    पत्रकार सम्मेलनमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।

  • तिलागुफामा शिक्षा समस्या र सुधार छलफल

    तिलागुफामा शिक्षा समस्या र सुधार छलफल

     कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाको शिक्षा सुधारका लागि सरोकारवालाबीच छलफल भएको छ ।

    शिक्षक विद्यार्थी अनियमितता, हिउँदयाममा विद्यार्थी ट्युसन पढ्न जिल्ला छाड्ने प्रवृत्ति, शिक्षक विद्यार्थी अनुपात र विद्यालय मर्च लगायतका विषयमा भएको छलफल भएको नगर शिक्षा समिति पअध्यक्ष तथा नगर प्रमुख शंकर उपाध्यायले बताए । नगरको शिक्षा सुधार्न शिक्षकहरुकै हात हुन्छ, छलफलका विषयवस्तु प्रस्तुत गर्दै उनले भने तपाईंहरूका रचनात्मक सुझाव सल्लाहअनुसार शिक्षा क्षेत्रको आगामी योजना बनाउन सहयोग पुग्नेछ । उनले पालिकामा आवश्यकताभन्दा पनि लहड र रहरले सञ्चालन गरिएका विद्यालय समस्याका रुपमा रहेको बताए । विद्यालय शिक्षा सुधार्न शिक्षक प्रतिबद्ध हुनुपर्ने महादेव माविका प्राचार्य नरदीप शाहीले बताए । सरोकारवालाले शिक्षा सुधार्न दरबन्दी मिलान र विद्यालय मर्चलाई मुख्य विषय बनाउँदै स्थलगत अनुगमनसहित सुझाव दिन नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको संयोजकत्वमा वडाध्यक्ष, शिक्षक महासंघसहित शिक्षकका पेसागत संघ संगठनका प्रतिनिधि रहेको उच्चस्तरीय समिति गठन गरिएको छ । शिक्षक दरबन्दी मिलान र विद्यालय मर्च प्रमुख समस्या छ । शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति नवीन हमालले भने सबै वडाका वडाध्यक्ष, शिक्षक प्रतिनिधि रहेको समितिले तथ्यांकका आधारमा प्रतिवेदन तयार गरेर नगरसभामा पेस गरेपछि कार्यान्वयन गरिनेछ ।

    १० वटा माविसहित ३६ वटा विद्यालय रहेको तिलागुफामा विद्यार्थी अनुपातमा शिक्षक धेरै भए पनि नगर अनुदानबाट समेत शिक्षक भर्ना गरिएको छ । यहाँका केही विद्यालय माविमा विषयगत शिक्षक छैनन् । शिक्षक भएका विद्यालयले पनि दसैंपछि १० कक्षाका विद्यार्थी विद्यालय टिकाउन नसक्ने अवस्था रहेको कालिका मावि राचुलीका शिक्षक दुर्गाप्रसाद कोइरालाले बताए । केही विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी ट्युसन पढ्न जिल्ला बाहिर जानु स्वाभाविकै हो । उनले भने, दरबन्दी भएका विद्यालयमा पनि विद्यार्थी नबस्ने समस्या छ, यसले अभिभावकको लाखौं रकम खर्च हुने गरेको छ ।

    तिलागुफा नगरपालिकाका ३६ मध्ये १४ विद्यालयमा विद्यार्थी नै ५० भन्दा कम छन् । त्यहाँ शिक्षक दरबन्दी भने बढी छ । ५० भन्दा कम विद्यार्थी भएका विद्यालय वडा नं १ मा २ वटा छन् भने बाल विकास शिक्षकसहित ९ जना शिक्षक दरबन्दी छ । त्यस्तै, वडा नं ५ का २ विद्यालयमा ६ जना, वडा नं ६ का २ विद्यालयमा ६, वडा नं ७ का २ विद्यालयमा ८, वडा नं ८ को १ विद्यालयमा ४ जना शिक्षक दरबन्दी छ । त्यस्तै, वडा नं ९ का २ विद्यालयमा ८, वडा नं १० को १ विद्यालयमा २ र वडा नं ११ का २ विद्यालयमा ७ जना शिक्षक दरबन्दी रहेको शिक्षा शाखाले जनाएको छ ।