Blog

  • सिकारबाट फर्किँदै गर्दा एकको मृत्यु

    सिकारबाट फर्किँदै गर्दा एकको मृत्यु

    दैलेख जिल्लाको महाबु गाउँपालिका–४ बतासेमा सिकार खेलेर फर्किने क्रममा साथीले बोकेको भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ ।

    बिहीबार राति जंगली जनावरको सिकारबाट घर फर्किने क्रममा ओरालो बाटो झर्दा चिप्लिएको साथीको बन्दुक पड्किँदा स्थानीय पूर्णबहादुर थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार ३० वर्षीय सूर्यबहादुर थापा बलामी चिप्लिँदा बन्दुकको गोलीले पूर्णबहादुर थापाको छाती र ढाड छेड्दा घटनास्थलै मृत्यु छ ।

  • १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण रोक

    १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण रोक

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकहरूको प्रवेशमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले बुधबार एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसअनुसार सुरक्षा कारणले १२ देशका नागरिकहरूको अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध वा कडाइ गरिएको छ।

    यस आदेशअनुसार १२ देशका नागरिकहरूको अमेरिका प्रवेश पूर्ण रूपमा रोकिएको छ। अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको हो।

    त्यस्तै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलालगायतका देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। अधिकारीहरूले भनेका छन्, ‘कानुनी रूपमा अमेरिका स्थायी आवास अनुमति (ग्रीन कार्ड) प्राप्त गरेका, हाल विद्यमान भिसा भएकाहरू तथा केही विशेष श्रेणीमा पर्ने व्यक्तिहरूलाई यस प्रतिबन्धबाट छुट दिइनेछ।’

    व्हाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सन भन्छिन्, ‘राष्ट्रपति ट्रम्प आफ्नो वाचा अनुसार अमेरिका र यहाँका जनतालाई ती खतरनाक विदेशी तत्वहरूबाट सुरक्षित राख्ने प्रयासमा छन्, जो यहाँ आएर हानि पुर्याउन सक्ने सम्भावना राख्छन्।’

  • एक किशोरको मृत्यु

    एक किशोरको मृत्यु

    दाङको तुलसीपुरमा दुई किशोरबीचको कुटपिटबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–८ दुधेनामा बस्ने १५ वर्षीय बिराज गिरी रहेका छन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सुर्य बहादुर रानाका अनुसार मृतक गिरी दाङ डेरामा बसेर अध्ययन गर्दै आएका थिए । १९ जेठमा साँझ साढे ५ बजेतिर तुलसीपुर–९ बेलुवामा गिरी र सोही ठाउँका मोतिराम वलीका १५ वर्षिय छोरा यज्ञ वलीबीच कुटपिट भएको थियो । मृतक गिरीले पहिले आफूमाथि हात उठाएपछि आफुले प्रतिकार गर्दै दुई मुक्का प्रहार गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

    कुटपिटपछि दुबैजना नजिकैको विद्यालय क्यान्टिनमा गइ पानी पिएपछि गिरी एक्कासि ढलेका थिए । ढले लगत्तै उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगञ्जस्थित नर्सिङ होममा लगिएको थियो । उपचारको क्रममा बिहीबार बिहान पौने ३ बजे गिरीको मृत्यु भएको सुचना अधिकारी रानाले जानकारी दिए ।  दुवै किशोर श्री माध्यमिक विद्यालय दोघरेमा अध्ययनरत थिए ।

    मृतक गिरीले रुकुममै परीक्षा दिएर दाङ फर्किएका थिए भने वली हाल कक्षा ९ मा अध्ययनरत छन् । गिरीको मृत्युपछि कुटपिटमा संलग्न यज्ञ वली प्रहरी नियन्त्रणमा छन्। प्रहरीका अनुसार उनीहरुको झगडा सामाजिक सञ्जाल फेसबुकमा गालीगलौजबाट सुरु भएको थियो । हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • घट्यो शेयर बजारः नेप्से २६४०.९६ अंकमा

    घट्यो शेयर बजारः नेप्से २६४०.९६ अंकमा

     साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.९९ अंकले घटेको हो । ०.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४०.९६ अंकमा झरेको छ । समग्रमा बजार घटे पनि हाइड्रो र लगानी समूह क्रमशः १.१३ र ०.०३ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भएका छन् ।
    शेयर बजार सोमबार २.७७ अंकले उचालिंदा ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९ सय ३३.०९ रुपियाँ, मंगलबार ३५.७३ अंकले बजार घट्दा ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३ सय २४.५४ रुपियाँ र हिजो बुधबार ११.९७ अंकले बजार घट्दा ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५ सय २२.५४ रुपियाँ बराबरको कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।
  • नागरिकता वितरणको प्रक्रिया अघि बढाउँदै सरकार

    नागरिकता वितरणको प्रक्रिया अघि बढाउँदै सरकार

    गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्न सरकारले प्रक्रिया अघि बढाएको बताएका छन् ।

    प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । हालसम्म जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागकिरता दिने व्यवस्था छ ।

    समितिको बैठकमा बिहीवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रश्तावकर्ताहरुसँग छलफल भएको हो ।

    सो बारेमा उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले जिल्ला सदरमुकाम टाढा हुने र आवतजावतमा झमेला र खर्चिलो हुने भएकाले झनै जटिलता हुने स्थितिलाई मध्यनजर गर्दै सरकारले नजिकको इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता प्राप्त हुन सकोस् भनेर इलाका प्रशासन कार्यलयबाटै पनि नागरिकताको व्यवस्थापन गर्नेकुरा अगाडि बढाइएको जानकारी दिए । त्यसको लागि शाखा अधिकृत सबै इलाका प्रशासन कार्यालयको कार्यालय प्रमुख नहुनु समस्या रहेको बताए ।

    गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्दा समस्या नहोस् र सहजता प्रदान होस् भन्ने ध्येयले सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालमध्ये अधिकांशमा मेसिन नै राखेर टोकन पद्धति शुरु गरिएको बताए ।

    मेसिन उपलब्ध हुन नसकेको केही जिल्ला प्रशासनमा पहिला पुग्नेको लिखित नाम टिपेरै भएपनि टोकन पद्धति दिने प्रचलन शुरु भएको र यसले केही सहजता ल्याएको जिकिर गरे ।

    गृहमन्त्री लेखकले बाबुले सहजता प्रदान नगरेसम्म सन्तानले नागरिकता पाउन नसक्ने स्थितिले धेरै जटिलता उत्पन्न गरेको भन्दै त्यसलाई सहज बनाउने गरी विधेयक ल्याइएको बताए ।

  • बैंक र  व्यवसायी छुट्याइए पनि आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अध्यक्ष

    बैंक र  व्यवसायी छुट्याइए पनि आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अध्यक्ष

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन । काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेशनल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्मा विचाराधीन ऐनमा संशोधनको प्रस्ताव अनुसार जस्ताको त्यस्तै पारित भएमा आर्थिक गतिविधि नै प्रभावित बन्ने धारणा राखे । बाफियासँग सम्बन्धि ऐन संशोधन गर्न संसद्मा प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यो विषयलाई गम्भीर रुपमा लिनु पर्ने उनको तर्क थियो ।

    “व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत शेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन् । ” ढकालले भने । उनले बजेट कार्यान्वयन गर्न सके नेपालले लिएको आर्थिक विकासको लक्ष्य पुरा गर्न सकिने समेत बताए। यस्तै अध्यक्ष ढकालले वातावरणलाई असर नपर्ने गरी खनिजजन्य पदार्थको आन्तरिक प्रयोग र निर्यात गर्न सकिने बजेटको व्यवस्था सकारात्मक भएको बताए ।

    मध्यपूर्वको उदाहरण दिंदै अध्यक्ष ढकालले भने । “यदी मध्यपूर्वका देशहरुलाई आफुसंग भएको पेट्रलियम पदार्थको निर्यात नगरेको भए वा निर्यात गर्न नदिइएको भए मध्यपूर्वका देशहरु आजको अवस्थामा रहने थिएनन् । तसर्थ हामीले पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी नेपालमा भएको प्राकृतिक स्रोतको प्रयोग र निर्यातलाई सहजिकरण गर्नु पर्दछ । ” उनले भने ।

  • माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । सो आरोपपत्र दायर भएसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फौज्दारी र भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएसँगै सार्वजनिक ओहोदाका व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधान छ । उनि सङ्घीय संसद्अन्तर्गत रौतहट जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद छन् । काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा आयोगले उनिहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

    उक्त कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले उक्त कम्पनीको नाम प्रयोग गरी-गराई कम्पनीको उद्देश्यको प्रतिकुल हुने गरी बदनियत राखी आफूसमेतका प्रतिवादीहरुलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पदधारण गरेका व्यक्तिसँगको मिलोमतोमा उक्त जग्गा खरिद प्रकरणमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा १० विपरितकार्य भएको आयोगको ठहर छ । यस प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ ।

  • बहुवर्षिय सिँचाई आयोजनाको ८० प्रतिशत भौतिक प्रगती

    बहुवर्षिय सिँचाई आयोजनाको ८० प्रतिशत भौतिक प्रगती

     जुम्ला जिल्लामा निर्माणधिन उठिल्या–एैरेनी बहुवर्षिय सिँचाई आयोजना निर्माणको भौतिक प्रगती ८० प्रतिशत भएको छ ।

    निर्माण सुरु भएको दुई वर्षको अवधिमा उक्त सिँचाई आयोजनाको भौतिक प्रगती ८० प्रतिशत भएको पाइएको छ । जुम्लाकै सबैभन्दा ठुलो सिँचाई आयोजनाका रुपमा रहेको उठिल्या–एैरेनी बहुवर्षिय सिँचाई आयोजना खानेपानी,सिँचाई तथा उर्जा विकास कार्यालय जुम्लाले निर्माण गरिरहेको छ । सिँचाई अभावले बाँझिदै गएका खेतीयोग्य जमिनमा सिँचाई विस्तार गरी उत्पादन बढाउने उदेश्यले कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयको ५ करोडबढीको लागतमा उठिल्या–एैरेनी आयोजना निर्माण भईरहेको खानेपानी,सिँचाई तथा उर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकल बहादुर महतले बताए । उनका अनुसार चन्दननाथ नगरपालिकाको वडा नं. ९ देखी तातोपानी गाउँपालिका वडा नं. ५ को एैरेनी सम्म ४.५ किलोमिटर लामो सिँचाई कूलो मध्य पहिलो प्याकेजमा २ किमी सिँचाई कूलो निर्माणको काम अन्तिम चरणमा गएको छ । कूल ९ करोड २४ लाख ११ हजार बराबरको स्टमेट स्वीकृत भएकोमा पहिलो प्याकेज निर्माण कार्यका लागि रुद्रावति निर्माण सेवा धनगडीसंग ५ करोड १२ लाख २२ हजारमा ठेक्का सम्झौता भएको छ ।

    २०८० जेठ १४ गतेबाट निर्माण सुरु भएको बृहत्त सिँचाई आयोजना आगामी २०८३ जेठ २८ गते सम्पन्न गर्ने सम्झौता भएको छ । कार्यालय प्रमुख महत भन्छन, हामीसंगै अझै एक वर्ष बाँकी छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तिय प्रगती ६० प्रतिशत भएको छ । अहिले रोपाईँ सुरु भएका काम रोकिएको छ । दशै तिहार लगत्तै काम सुरु भई निर्धारित समयमै सम्पन्न हुन्छ । कूल ५ करोड १२ लाख २२ हजार मध्य हालसम्म ३ करोड २६ लाख ४८ हजार रुपैयाँ खर्च भईसकेको छ । पहिलो प्याकेज अन्तरर्गत २ किलोमिटर नहर निर्माण, हेडवक्स निर्माण,पानी प्रवेशद्धारको गेट निर्माण भईसकेको छ । चन्दननाथ–९ देखी तातोपानी–५ सम्म ४.५ किमी लामो नहरमध्य पहिलो प्याकेजमा उठिल्यादेखी श्रीनगरसम्म २ किमी नहर निर्माण भएको छ । स्टेमनुसार आयोजनाको गुणस्तर देखी निर्माण सामाग्रीको गुणस्तरका विषयमा नियमित अनुगमन तथा निरिक्षण लगायतका काम भईरहेको कार्यालय प्रमुख महतले उल्लेख गरेका छन् । रोपाई सुरु भएपछि नहरको तल्लो भागमा सरिया बिछयाएको र कंक्रीट हाल्न नपाउँदै किसानले पानी छोडेपछि काम रोकिएको कार्यालयले जनाएको छ ।

    पहिलो प्याकेजको काम सकिए लगत्तै दोस्रो प्याकेज निर्माणको स्वीकृतीको प्रक्रिया अघि बढाईने छ । बहुवर्षिय आयोजना भएकोले बजेटको समस्या नहुने अपेक्षा गरिएको छ । यदपी बजेट स्वीकृती गराउन कार्यालय प्रमुखहरुले प्रदेश मन्त्रालयमा निधै धाउनु पर्ने अबस्था छ । उठिल्या–एैरेनी बहुवर्षिय सिँचाई आयोजना निर्माणपछि चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाको ९० हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार हुने भएको छ । सिँचाई अभावले खेती नगरेर बाँझिएका खेतीहरुमा आयोजना निर्माणपछि सिँचाई सुविधा पुग्ने र उब्जनी बढ्ने आशामा किसान छन् । स्थानीय लक्ष्मी कार्की भन्छन,‘परम्परागत कूलोमा थोरै पानी आउने र वर्षामा भत्कीने समस्याले सिँचाईमा समस्या थियो । अहिले ठुलो सिँचाई आयोजना बन्न थालेपछि विगतको जस्तो समस्या नहुने आशामा छौ । सिँचाई अभावले बाँझिएका जमिनमा अब खेती गरिने छ ।

  • विश्व वातावरण दिवसका अबसरमा वृक्षारोपण कार्यक्रम संचालन

    विश्व वातावरण दिवसका अबसरमा वृक्षारोपण कार्यक्रम संचालन

    जुम्लामा विश्व वातावरण दिवसका अबसरमा वृक्षारोपण गरिएको छ ।

    दिवसका अबसरमा विहिबार विहान डिभिजन वन कार्यालय जुम्लाको आयोजनामा चन्दननाथ नगरपालिका वडा नं ३ स्थित कर्णाली मावि अनामनगरमा बृक्षारोपण गरिएको हो । विद्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही,सुरक्षा निकायका प्रमुख,उद्योग बाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकोटा,चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढथापा र पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईको लगायत सबै सरकारी कार्यालयका प्रमुख प्रतिनिधिको सहभागितामा बृक्षारोपण गरिएको
    हो ।

    हरेक वर्ष जुन–५ तारिखमा मनाईने विश्व वातावरण दिवस अन्तर्गत यश वर्ष “प्लाष्टिक प्रदुषण न्युनिकरण,हाम्रो दायित्व” भन्ने नारा तय गरिएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाले बताए । उनका अनुसार विश्व वातावर्ण दिवसका अबसरमा आज दिँउसो नगरपाालिका भित्रका विद्यालय बीच हाजिरी जवाफ प्रतियोगिता संचालन गरिने छ । पछिल्लो समय बढ्दै गएको अव्यवस्थित विकासले वाताबरणको चरम दोहन भईरहेकोले वाताबरणमैत्री पूर्वाधार विकासमा जोड दिनु पर्ने डिभिजन प्रमुख बुढ्थापाले उल्लेख गरे ।

  • समृद्धि, सुशासन र रोजगारीमुखी नीति तथा कार्यक्रम

    समृद्धि, सुशासन र रोजगारीमुखी नीति तथा कार्यक्रम

    कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा प्रदेशसभामा पेश गरिएको छ ।

    कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनमा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सामाजिक, आर्थिक, भौतिक र मानवीय विकास सहितको समाजवादउन्मुख प्रणाली सुशासन, सामाजिक न्याय र समृद्धियुक्त कर्णाली भन्ने मूल ध्ययेका साथ रोजगारी सिर्जना र गरिबी निवारण गरी समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गर्न कर्णाली प्रदेशको मार्गचित्रको रुपमा प्रस्तुत नीति तथा कार्यक्रममा निम्न विषयलाई जोड दिइएको प्रमुख मियाँले बताए । तहगत सरकारहरूबीचको समन्वय र सहकार्यमा नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, प्रदेशको समृद्धिको आधारको रूपमा रहेको पूर्वाधार विकासलाई उच्च्चव प्राथमिकता दिने, गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्यमार्फत मानव पुँजीको विकास गर्ने प्रमुख मियाले बताए ।

    शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई रोजगारी र रोजगारीलाई गरिबी निवारणमा अन्तरआबद्धता कायम गर्ने लक्ष्य राखिएको छ, उनले भने, कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रिकीकरण र विविधीकरण गर्दै खाद्य उत्पादनमा आत्मनिर्भर तथा निर्यातमा प्रोत्साहन गरिनेछ, उनले भने, उद्योग, पर्यटन, कृषि र पशु क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन मार्फत रोजगारी सिर्जना गर्दै समृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ । तहगत सरकारको सहकार्यमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाई नागरिकमा सुशासनको अनुभूति दिलाउने लक्ष्य राखिएको मियाँले बताए । चालु तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत खर्चमा वृद्धि गर्ने उनले बताए ।

    हुम्लाको सदरमुकाम सिमकोटलाई मानसरोवर तथा कैलाश प्रवेशद्वारको रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न खार्पु–सिमकोट नमुना एकीकृत पर्यटन पूर्वाधार विकास र शे–फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन रिङ्बो बस्तीलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीको रूपमा रूपान्तरण गर्ने कार्य अगाडि बढाइएको मियाले बताए । उनले सडक, सडक पुल र झोलुङ्गे पुल लगायतका पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

    भूमिको दिगो र उत्पादनमूलक उपयोगको लागि भूउपयोग नीतिको तर्जुमा गरी कार्यान्वयन गरिने र भूमिको प्रकृति अनुसार वर्गीकरण तथा भू–उपयोग योजना अनुरुप कृषियोग्य भूमिको दिगो व्यवस्थापन मार्फत उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको मियाँले बताए । भूमिको अतिक्रमण, खण्डीकरण, अव्यवस्थित सहरीकरण तथा जोखिम न्यूनीकरण गरिनेछ । कृषियोग्य जमिनको चक्लाबन्दीलाई प्रोत्साहन गरी सामूहिक खेतीको विकास गरिनेछ । बाँझो जमिनको सदुपयोग गर्न ‘बसोवास गाउँमा, भविष्य आफ्नै ठाउँमा’ भन्ने लक्ष्यका साथ विकास साझेदार र स्थानीय तहको साझेदारीमामागमा आधारित युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ, उनले भने, छरिएर रहेको श्रम, सिप, स्रोत र पुँजीलाई सहकारीको माध्यमबाट उत्पादनशील क्षेत्रमा परिचालन गरिनेछ ।

    दुर्गम तथा ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता र पहुँच अभिवृद्धि गर्दै सहकारी मार्फत उद्यमशीलता विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिइने मियाँले बताए । कृषि सहकारी संस्थालाई कृषिको उत्पादन र बजारीकरणमा संलग्न गराई उत्पादन वृद्धि गरिनेछ, उनले भने, स्वस्थ माटो, स्वस्थ बाली, स्वस्थ जीवन अभियानसहित व्यावसायिक कृषि पकेट क्षेत्रमा माटोको अवस्था सुधार अभियान सञ्चालन गरिनेछ ।