Blog

  • इनड्राइभले काठमाडौंमा आफ्नो कार्यालय उद्घाटन गर्यो

    इनड्राइभले काठमाडौंमा आफ्नो कार्यालय उद्घाटन गर्यो

    नेपालको एक अग्रणी राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ। यो कदम इनड्राइभको स्थानीय ड्राइभर पार्टनर्सहरू प्रति समर्पण, शहरभरि राइडहरूको लागि सेवाको गुणस्तर बढाउने, र कम्युनिटी इनिसिएसनलाई सशक्त बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम हो ।

    नयाँ कार्यालयले ड्राइभर पार्टनर्सलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरूको लागि केन्द्रको रूपमा काम गर्नेछ। काठमाडौंस्थित नयाँ कार्यालयले ड्राइभर कम्युनिटीको सशक्तीकरण, राइडरहरूको अनुभव सुधार, र स्थानीय स्तरमा सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्य बोकेको छ । यस कार्यालयमार्फत इनड्राइभले अब ड्राइभर सपोर्ट, सीप विकासका लागि तालिम कार्यक्रमहरू, समुदाय तथा सुरक्षा–केन्द्रित अभियानहरू, साथै स्थानिय आवश्यकता अनुसार अनुकूलित मार्केटिङ र साझेदारी कार्यक्रमहरू सञ्चालन गर्नेछ । इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टोलीले भने, “हामी इनड्राइभमा, काठमाडौँमा हाम्रा ड्राइभर पार्टनर्स र स्थानीय समुदायका लागि अफिस खोल्न पाउँदा अत्यन्तै उत्साहित छौं । यो नयाँ कार्यालय केवल एउटा कार्यस्थान मात्र होइन, यो एक यस्तो समर्पित समर्थन केन्द्र हो जहाँ हाम्रा ड्राइभर पार्टनर्सले आवश्यक सहयोग, मार्गदर्शन, तालिम तथा आत्मबल प्राप्त गर्न सक्छन् । हामी चाहन्छौं कि उनीहरूले यहाँ आएर इनड्राइभको अभिन्न हिस्सा भएको अनुभव गरून् । यो केन्द्र उनीहरूको सफलतालाई अझ सशक्त बनाउने माध्यम हो ।”
    नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ जसले चालकहरूलाई व्यावसायिक रूपमा बढ्न र उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र जानकारीहरू प्रदान गर्नेछ । थप रूपमा, चालकहरूले कुनै समस्याको सामना गरेमा वा टिम मेम्बरसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् । नयाँ सुरुवातले नेपाली बजारप्रति इनड्राइभको दृढ र दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट रूपमा झल्काउँछ । इनड्राइभले उचित मूल्य निर्धारण र प्रयोगकर्तालाई प्राथमिकतामा राख्ने दृष्टिकोणको कारणले यात्रु र चालक दुवैको लागि द्रूत रूपमा मनपर्ने विकल्प बनेको छ । यही कारणले गर्दा यो प्लेटफर्म छोटो समयमा यात्रुहरू र चालकहरू दुबैको मन जित्न सफल भएको छ । नेपाली बजारमा इनड्राइभ लोकप्रियताको नयाँ स्तरमा पुग्दै गएको छ, जसले स्थानीय आवश्यकतालाई बुझ्ने र समाधान दिने यसको क्षमतालाई प्रमाणित गर्छ। यस प्रयासमार्फत इनड्राइभले नेपालमा दीगो र समावेशी यातायात प्रणाली निर्माणमा योगदान पु‍र्याउने लक्ष्य लिएको छ ।

    इनड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले भनिन्, “नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण र प्राथमिक बजार हो। काठमाडौंमा नयाँ कार्यालय स्थापना गर्नु भनेको केवल एक भौतिक संरचना खडा गर्नु मात्र होइन, यो हामीले नेपाली ड्राइभर पार्टनर्ससँग निरन्तर निर्माण गर्दै आएको विश्वास र सहकार्यको प्रतिक हो।”
    ”हामीले सधैं चालकहरूसँग संवादलाई प्राथमिकता दिएका छौं—उनीहरूको सुझाव, आवश्यकताहरू र चुनौतिहरूलाई ध्यानपूर्वक सुन्दै आएका छौं। आफ्नो कम्युनिटीलाई सुन्ने र बुझ्ने संस्कृतिले इनड्राइभलाई साँच्चिकै आफूहरुको लागि बनेको प्लेटफर्म भएको मानिसहरूलाई अनुभूति गराएको छ । यो नयाँ कार्यालय हाम्रो प्रतिबद्धताको स्पष्ट प्रमाण हो — यो एक यस्तो स्थान हुनेछ, जहाँ चालकहरूले आवश्यक सहयोग, प्रशिक्षण, र अवसर पाउन सक्नेछन् । तर अझ महत्वपूर्ण कुरा, यो स्थान उनीहरूले आफ्ना आवाजहरू सुरक्षित रूपमा अभिव्यक्त गर्न, व्यक्तिगत र व्यावसायिक रुपमा दक्षता वृद्धि गर्न, र इनड्राइभको यात्रामा सक्रिय साझेदार बन्न महत्वपूर्ण हुनेछ ।”

    काठमाडौंमा यो कार्यालय खोल्न पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामी यसलाई चालकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने माध्यमका रूपमा हेर्छौं, यसले भविष्यमा अझ बढी समावेशी र दिगो परिवहन प्रणालीको निर्माणमा योगदान पु‍र्याउनेछ । काठमाडौंमा कार्यालय सुरु गर्नु इनड्राइभको सम्मानलाई अझै अगाडि बढाउने एक महत्वपूर्ण कदम हो । यसले इनड्राइभलाई चालक–केन्द्रित, पारदर्शी, र समुदाय–संचालित मोबिलिटी प्लेटफर्मको रूपमा थप मजबुत बनाउँछ । इनड्राइभले नेपालमा ल्याएको निष्पक्ष, उचित मूल्य, र प्रयोगकर्तामैत्री मोडेल ल्याएको छ, जसले छोटो समयमा आम जनमानसको विश्वास जित्दै लोकप्रियता हासिल गरेको छ ।

  • संसद खुलाउन कांग्रेस र माओवादी नेताहरु छलफलमा

    संसद खुलाउन कांग्रेस र माओवादी नेताहरु छलफलमा

     सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच छलफल भइरहेको छ ।

    संसद अवरोध अन्त्यका लागि कांग्रेस र रास्वपाका नेताहरू छलफलमा जुटेका हुन् ।

    कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा।स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन् ।

    प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि बन्धक बनेको छ । प्रतिनिधिसभा बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ ।

  • ज्यान मार्ने कसुरमा २  जना फरार

    ज्यान मार्ने कसुरमा २ जना फरार

     ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका–१ बस्ने जाजरकोट कुसे गाउँपालिका–७ घर भएका २७ वर्षीय दिपेन्द्र सिंह र २७ वर्षीय तप्त सिंह रहेका छन् ।

    जिल्ला अदालत जाजरकोटबाट ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटबाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय जाजरकोट पठाइएको छ ।

  • अमेरिकाबाट बोरा बोकेर फर्कनु पर्‍यो नेपालीलाई

    अमेरिकाबाट बोरा बोकेर फर्कनु पर्‍यो नेपालीलाई

    अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु बोरा बोकेर फर्किएका छन् । उनीहरु आइतबार मध्यराति बोरा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए । कतिपय रित्तो हात फर्किएका थिए ।

    अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरु गए राति काठमाडाैँ फर्किएका थिए । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो ।

    अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली गएराति फर्किएको वरिष्ठ अध्यागमन अधिकृत एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिए ।

    उनीहरुलाई हत्कडी लगाइएको थियो कि थिएन भन्ने खुलेको छैन । प्रवक्ता न्यौपानेले, ‘हाम्रो इमिग्रेसनमा आउँदा सामान्य थिए, विमानमा के थियो थाहा हुने कुरा भएन ।’

    गएराति करिब ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरु बाहिरिँदा करिब १२ बजेको थियो ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । अमेरिकाले कतिपय देशका नागरिकहरुलाई हतकडी र नेल लगाएर फर्काएका समाचारहरु सार्वजनिक हुने गरेका छन् ।

    ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

    अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

    डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको स्रोतले जनायो ।

    अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

    डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।

  • ६० किलो सुन तस्करीमा संलग्न आशंकित १९ जनालाई अदालतले माग्यो

    ६० किलो सुन तस्करीमा संलग्न आशंकित १९ जनालाई अदालतले माग्यो

  • नागरिकता विधेयकमा एनआरएनएको सुझाव लिँदै संसदीय समिति

    नागरिकता विधेयकमा एनआरएनएको सुझाव लिँदै संसदीय समिति

     नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल जारी छ ।

    प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकको सम्बन्धमा गैरआवासीय नेपाली संघ (एनआरएन) र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गरिरहेको छ ।

    गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

    प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ ।

    दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले सरोकारवालाहरूसँग छलफल गरेको हो ।

  • जुम्लाका तीन उत्कृष्ट किसान सम्मानित

    जुम्लाका तीन उत्कृष्ट किसान सम्मानित

     जुम्ला जिल्लाका तीन जना उत्कृष्ट किसान पुरस्कृत भएका छन् । कृषि क्षेत्रमा लामो समयदेखी योगदान दिएका तीन जना किसान मुख्यमन्त्री उत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत भएका छन् ।

    आइतबार एक विशेष कार्यक्रमको आयोजना गरेर पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले उत्कृष्ट तीन जना किसानलाई पुरस्कार वितरण गरिएको बताए । चालु आर्थिक वर्षको विनियोजित बार्षिक स्वीकृत कार्यक्रमनुसार पुरस्कार प्रदान गरिएको हो । सन्तोष बस्नेत (पाण्डे) रीता पाण्डे र सन्तकली भण्डारी पुरस्कृत भएकी छन् । ९ जना किसान मध्य छनोट समितिले विभिन्न मापदण्डलाई आधार मानेर तीनजना सिफारिस गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आर्चायले पुरस्कार प्रदान गरेका हुन् । मुख्यमन्त्री उत्कृष्ट पुरस्कार बाट सम्मानित हुने सन्तोषले नगद ३० हजार रुपैयाँ, रीता र सन्तकलीले नगद २५ हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । व्यवसायीक कृषि फर्म,भेडा पालन व्यवसाय गरेका उद्यमी र किसानलाई पुरस्कार दिइएको छ ।

    कर्णाली प्रदेश सरकारले व्यवसायीक कृषि तथा पशुपालन र उत्पादन बृद्धिका लागि किसानलाई प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्दै आएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए । निरन्तर कृषि कर्म लाग्ने किसानलाई सरकारले सम्मान गर्छ,पुस्कार दिन्छ,आफ्नै ठाउँमा ईलम गर्नुपर्छ भन्ने भावनाको विकास गराउन र कृषिमा प्रेरित गराउन मुख्यमन्त्री उत्कृष्ट किसान पुरस्कार टेवा पुराउने अपेक्षा गरिएको छ ।

  • मणिसाँघुमा सुरक्षित सुत्केरी सेवाका लागि डेढ करोडको बर्थिङ सेन्टर

    मणिसाँघुमा सुरक्षित सुत्केरी सेवाका लागि डेढ करोडको बर्थिङ सेन्टर

     जुम्ला र डोल्पाको सिमा क्षेत्रमा पर्ने दुर्गम मणिसाँघु गाउँमा सुविधायुक्त प्रसुती गृह निर्माण हुने भएको छ ।

    भौगोलिक रुपमा विकट मणिसाँघुका गर्भवती महिलाहरु स्वास्थ्य संस्थामा पुग्न नसक्ने र घरमै सुत्केरी हुनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै सुविधायुक्त प्रसुति गृह (बर्थिङ सेन्टर) निर्माण हुने भएको हो । हिमानी कोषको एक करोड ५० लाख लगानीमा बन्ने प्रसुति गृहको शनिवार हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहले संयुक्त रुपमा शिलान्यास गरे । दुर्गमका महिलालाई सुत्केरी गराउन कठिन भइरहेको अवस्थालाई मध्यनजर गर्दै कोषले मणिसाँघुमा बर्थिङ सेन्टर बनाउने योजना बनाएको कोषका जुम्ला संयोजक गोर्कण कठायतले बताए । गाउँमा सडक पुगेपनि भनकै बेला एम्बुलेन्स सेवा नपुग्ने,एम्बुलेन्स पुगेपनि कर्णाली स्वास्थ्य विज्ञान सम्म पुराउदैँ गर्दा ज्यानै सम्म जाने जोखिम समेत रहेकाले मणिसाँघुमै निर्माण प्रसुति गृहले ग्रामिण महिलालाई राहत पुग्ने अपेक्षा गरिएको छ । संयोजक कठायतले भने, कोषले प्रसुति गृह निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ लगानी गर्ने छ । हिउँदमा अत्यधिक चिसो हुने भएकोले चिसोलाई मध्यनजर गर्दै संरचना निर्माण हुने छन् । अबको ६ महिनाभित्र प्रसुति गृह निर्माण सम्पन्न हुने छ ।

    राष्ट्यि प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीले सरकार पुग्न नसकेको ठाउँमा हिमानी कोषले सेवा भावका दृष्टीले डेढ करोड लगानी गरेर प्रसुति गृह निर्माण गर्नु स्वागत योग्य काम भएको बताए । यो पूर्वाधार निर्माणले सरकारकै संस्थागत सुत्केरीलाई शतप्रतिशत पुराउने अभियानलाई सघाउने उल्लेख गरे । भौगोलिक कठिनाईकै कारण समयमै औषधी उपचार नपाएर मृत्युवरण गर्नुपर्ने विवस्था अहिले पनि छ । स्थानीय तहमा सिमित स्रोतका कारण एकै क्षेत्रमा करोड खर्च गर्न सक्ने स्थिती नहुने भएकोले आबश्यकता मशसुस गर्दै हिमानी कोषले मणिसाँघुमा प्रसुति गृह बनाउन लागेकोमा गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले धन्यबाद दिए । डेढ करोड लागतमा दुईवटा सुविधायुक्त भवन बन्नेछन् । ६ महिनाभित्र बर्थिङ सेन्टर निर्माणको काम सम्पन्न भएर सेवा प्रारम्भ हुने लक्ष्य राखिएको गुठिचौर गाउँपालिका १ का अध्यक्ष अर्जुन महाताराले बताए । उक्त प्रसुति गृह बनेपछि गुठीचौर–१ र २ का ९ वटा बस्तीका हजारौ महिला लाभान्वित हुने छन् ।

    गाउँमा भरपर्दो स्वास्थ्य सेवा नपाउदा कैयौं गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । केही त अस्पताल लैजाँदा बाटोमै सुत्केरी भइरहेको भेटिन्छन् । वडाध्यक्ष महताराले भने, अब बर्थिङ सेन्टरमै सुरक्षित रुपमा सुत्केरी गराउने वातावरण बनेको छ । यो दुर्गममा हाम्रा लागि निकै खुसीको कुरा पनि हो । सबैभन्दा प्रभावित महिला केन्द्रित यस्ता पूर्वाधार निर्माण तीनै तहको सरकारले ध्यान दिन जरुरी छ । बर्थिङ सेन्टरका लागि गुठीचौर–१ का लेखक महताराले निःशुल्क जग्गादान गरेका छन् । उनलाई हिमानी शाहले दोसल्ला ओढाई कदरपत्रले सम्मान गरिन् । यसैबीच हिमानी कोषकै लगानीमा हिमा गाउँपालिका वडा नं. ७ को माथिकुडुमा निर्माण भएको बृहत्त सिँचाई पोखरीको समेत उद्घाटन गरिएको छ । त्यस क्षेत्रका खेती योग्य बाँझो जमिनमा सिँचाई सुविधा विस्तार गर्न स्थानीयको मागका आधारमा बृहत्त सिँचाई पोखरी निर्माण गरिएको हो ।

  • स्कटल्याण्डसँग नेपाल २ रनले पराजित

    स्कटल्याण्डसँग नेपाल २ रनले पराजित

     आईसीसी क्रिकेट विश्वकप -२ अन्तर्गत नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ  । आइतबार स्कटल्यान्डको डुन्डीमा  सम्पन्न खेलमा नेपाल २ रनले पराजित भएको हो ।

    स्कटल्याण्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट भयो । भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपनि अन्त्यमा स्कटल्याण्ड भाग्यमानी साबित भयो ।

    नेपालको १८३ रनमा ६ विकेट गुमेपछि दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मिलेर सातौं विकेटका लागि १०५ रनको सानदार साझेदारी गर्दै सम्भावित शानदार जितको नजिक पुर्‍याएका थिए । तर दिपेन्द्र ४७औं तथा सोमपाल ४८औं ओभरमा आउट भएपछि करण केसी र सन्दीप लामिछाने माथि जिम्मेवारी आएको थियो ।

    यस्तै स्कटल्याण्ड कप्तान रिची बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्का मद्दतले १०२ रनमा रनआउट भए । माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे । ओपनर चार्ली टियरले ६८ रन बनाए ।

    नेपालले यसअघि पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसपछिको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो । लिग २ मा १५ खेल खेलेको नेपाल १० अंकमा सिमित छ । स्कटल्याण्डको १७ खेलबाट २२ अंक भएको छ ।

  • सुनको मूल्य सामान्य घट्याे

    सुनको मूल्य सामान्य घट्याे


     नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको सामान्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

    यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ ।

    यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको थियो ।