समाजमा आत्महत्या झाँगिंदै गएको छ। त्यसको न्यूनीकरणका लागि विभिन्न प्रयास हुँदै आएका छन्। केही वर्षयता आत्महत्या गर्नेको संख्या उदयपुरमा पनि डरलाग्दो तरिकाले बढ्दै गएको छ। त्यसको न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय उदयपुरले जनचेतनामूलक अभियान थालेको छ। आत्महत्या न्यूनीकरणमा सर्वपक्षीय सहयोग जुटाउन यस्तो अभियान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईंले चालु आर्थिक वर्षको आत्महत्या विवरण प्रस्तुत गर्दै अवस्था भयावह हुँदै गएको बताए। उनले प्रस्तुत गरेको विवरणअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म उदयपुरमा मात्र ९६ जनाले आत्महत्या गरिसकेका छन्। त्यसमा ४१ महिला र ५५ पुरुष छन्। विवरणअनुसार बितेको नौ महिनामा ७८ महिला र ६७ पुरुष गरी १४७ जनाले आत्महत्या प्रयास गर्दा ९६ को ज्यान गएको हो।
आत्महत्याको अवस्था त्रियुगा नगरपालिकामा सबैभन्दा भयावह देखिएको छ। नौ महिला र ११ पुरुष गरी २० जनाले आत्महत्या गरेका छन्। त्यहाँ ३० महिला र २० पुरुष गरी ५० जनाले आत्महत्या प्रयास गरेका थिए। त्यहाँ आत्महत्या गर्नेमा दुई महिला गरी १० जना त ६ वर्षमाथिका छन्।
कटारी नगरपालिकामा आत्महत्या गर्ने तीन महिलासहित १४ जना रहेको डिएसपी चापागाईंले बताए। त्यसैगरी चौदण्डीगढी नगरपालिकामा ६ महिलासहित १४ जनाले आत्महत्या गरे।
अन्य स्थानीय तहहरू उदयपुरगढी गाउँपालिकामा १० महिलासहित १७ जना, रौतामाई गाउँपालिकामा तीन महिलासहित सात जनाले आत्महत्या गरेका छन्। लिमचुङबुङ गाउँपालिकामा तीन महिलासहित पाँच जनाको ज्यान गएको छ। ताप्ली गाउँपालिकामा तीन महिलाले आत्महत्या गरेको विवरण डिएसपी चापागाईंले प्रस्तुत गरे।
सडक नाटक, मनोपरामर्शलगायत विभिन्न जनचेतनामूलक गतिविधि गर्दै सदरमुकाम गाईघाटमा शनिबार एक कार्यक्रम आयोजना गरी अभियान सुरु गरिएको हो। सुरुको चरणमा प्रहरीले सर्वपक्षीय प्रभातफेरी, सडक नाटकसहितको जनचेतना जगाउने प्रवचन कार्यक्रम सम्पन्न भएको थियो।
त्रियुगा नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा आत्महत्या रोकथामबारे अन्तक्र्रियासमेत गरिएको थियो। आत्महत्या रोकथामसम्बन्धी सचेतना जगाउने अभियान सदरमुकामदेखि गाउँगाउँसम्म पुर्याउने पनि एसपी थापाले बताए। कार्यक्रमको सुरुमा आत्महत्या रोकथामसम्बन्धी सन्देशमूलक वृत्तचित्र (भिडियो) प्रदर्शन गर्नुका साथै सडक नाटक, कथा वाचन र मनोपरामर्शसमेत दिइएको थियो।
गाईघाट लोकतान्त्रिक चोक (पिपल चोक) मा आयोजित कार्यक्रमअघि बजारमा आत्महत्या निरुत्साहित गर्ने सन्देशमूलक ब्यानर र प्लेकार्ड बोकेको जनसमूहले बजार परिक्रमा गर्दै प्रभातफेरी गरियो।
प्रहरी कर्मचारी, पूर्वप्रहरी, अमर प्रहरी परिवार, नगरप्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार, खेलाडी, युवा, विद्यार्थी, कलाकार, रंगकर्मी, नागरिक समाज, राजनीतिकर्मी, अधिकारकर्मी र व्यापारी व्यवसायी सम्मिलित र्याली बजार परिक्रमापछि पिपलचोकमै पुगेर जनचेतनामूलक सभामा परिणत भएको थियो।
कार्यक्रममा एसपी थापाले उदयपुरको प्रमुख चुनौतीका रूपमा रहेको आत्महत्याको रोकथाम र न्यूनीकरण गर्न प्रहरी एक्लैबाट सम्भव नहुने भएकाले समाज, स्थानीय सरकार, परिवार र अन्य सबै पक्षले प्रहरीलाई सहयोग गर्न आग्रह गरे।
सबै मिलेर जनचेतना अभियान चलाए मात्र आत्महत्या न्यूनीकरण गर्न सकिने बताउँदै उनले प्रहरीले थालेको सचेतनामूलक कार्यक्रममा जनप्रतिनिधिदेखि सर्वसधारणसम्मको साथ र सहयोगको अपेक्षा गरे।
त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले एसपी थापा नेतृत्वको जिल्ला प्रहरीले थालेको आत्महत्या तथा लागुऔषध लगायत विभिन्न विकृति विसंगतिविरुद्धको अभियानलाई पूर्ण साथ र सहयोग गर्ने बताउँदै यसमा अन्य पक्षको पनि सहयोग हुनुपर्ने बताए।
सचेतनामूलक कार्यक्रममा नगरले आर्थिक, भौतिक र नैतिक रूपमा पूर्ण साथ रहने प्रतिबद्धता उनको थियो। आत्महत्या समाजको प्रमुख चुनौती भएको भन्दै मेयर बस्नेतले रोकथाम र न्यूनीकरणका लागि चेतना जगाउनुका साथै मनोपरामर्शमा ध्यान दिनुपर्नेेमा जोड दिए।
नगर उपप्रमुख महेश्वरी राईले बाउआमाले जन्माएर, कैयौं दुःख कष्ट सहेर हुर्काइबढाइ, पढाइलेखाइ गरेका सुन्दर जीवन सामान्य कमीकमजोरीकै कारण आत्महत्या गरेर गुमाउन नहुने बताइन्।
संसारमा मान्छे मात्र नभएर कुनै पनि प्राणी दुःखमुक्त नहुने र कुनै न कुनै समस्या भइरहने भन्दै दुःखमा आत्तिएर ज्यान फाल्नेजस्तो गम्भीर गल्ती गर्नुको साटो साथीभाइ, आमाबाबु, अभिभावक, समाजसँग समस्या सुनाएर समाधानको उपाय निस्कने र आत्महत्या नै गर्नुपर्ने अवस्था नआउने उपमेयर राईको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अन्य कार्यक्षेत्रहरूमा भोगेका अनुभवहरू आदान प्रदान गर्दै जिल्ला प्रहरीले समाजमा शान्तिसुरक्षा र अमनचयनका लागि सुरु गरेको सुधार अभियान कार्यक्रमलाई साथ सहयोग गर्न सबैसँग आग्रह गरे।
सुन्दर जीवन जिउन जन्मेको हुनाले कसैले पनि आत्महत्या नगर्न अनुरोध गर्दै सिडिओ घिमिरेले जीवनलाई सुन्दर बनाउन आफू पनि रमाउन र अरूलाई पनि रमाइलो वातावरण बनाइदिन आग्रह गरे।
कार्यक्रममा जिल्ला अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) उदयपुरकी वरिष्ठ मनोपरामर्शदाता रञ्जना ताजपुरिया र उदयपुर अस्पतालका विशेषज्ञ मनोचिकित्सक डा. रणदीप राउतले मनोपरामर्श विधिबारे प्रवचन दिएका थिए।
उनीहरूले मानसिक बिरामीलाई समयमै उचित परामर्श र औषधि उपचार गरे आत्महत्याबाट बचाउन सकिने तर परामर्श र उपचार नपाए सामान्य मानसिक विरामी बढेर जटिल हुँदै आत्महत्याको मुखमा पुग्ने बताए। परामर्शले सहजै आत्महत्या रोक्न सकिने उदाहरण दिँदै उनीहरूले जनचेतना नै सबभन्दा ठुलो उपाय भएको सुझाएका थिए।
स्थानीय कलाकारहरू गोपाल कृति, नुनु तिम्सिना, वीरशबाबु शाही, गोठकृष्ण ठकुरी र राजन खड्काले आत्महत्याबाट बच्ने सन्देशमूलक सडक नाटक प्रस्तुत गरेका थिए। आत्महत्याले आफू, परिवार, समाज र राष्ट्रलाई अपुरणीय क्षति हुने भन्दै समस्याको निकास आत्महत्या नभई डटेर सामना गर्नु उत्तम हुने सन्देश नाटकको थियो।