राजन रोकाया र सुमित्रा चौधरी पहिलो वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा च्याम्पियन भएका छन्।
दौड हिरो लिगको आयोजनामा पाटन दरवार स्क्वारमा आइतबार भएको म्याराथनमा राजन पुरुषमा र सुमित्रा महिलामा च्याम्पियन भएका हुन्। दुवै विजेताले समान ५० हजार रूपैयाँ पाए।
२१.१ किलोमिटर दौड राजनले एक घण्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे। सुमित्रा भने एक घण्टा ३४ मिनेट २६ सेकेन्डमा यो दूरी पार गर्दै महिलातर्फ च्याम्पियन भइन्। पुरुषमा खिमबहादुर खत्री र धर्म महर्जन क्रमशः दोस्रो र तेस्रो भए। खिमबहादुरले एक घण्टा १७ मिनेट २४ सेकेन्ड र धर्मले एक घण्टा १९ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गरे।
महिलामा पुष्पा भण्डारी दोस्रो भइन्। उनले एक घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरिन्। मञ्जु सुनार तेस्रो स्थानमा रहिन्। उनले दुई घण्टा तीन मिनेट ८ सेकेन्ड दूरी पार गरिन्।
पुरुष १० किलोमिटर दौडमा राजेन्द्र तामाङ पहिलो भए। उनले यो दूरी पूरा गर्न ३२ मिनेट ३३.१ सेकेन्डको समय लगाए। सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्ड समयका साथ दोस्रो स्थानमा रहे। रेम बुढामगर ३४ मिनेट ५३.१ सेकेन्ड समय लगाउँदा तेस्रो भए। यसै विधातर्फ महिलामा फूलमती राना, आशा रावत र सगुन राई शीर्ष तीन स्थानमा रहे।
फूलमतीले ३८ मिनेट २८.०५ सेकेन्ड, आशाले ३९ मिनेट ४.४० सेकेन्ड र सगुनले ५० मिनेट २० सेकेन्ड समय खर्चिए। पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिरले सफलता पाए। उनले १८ मिनेट ३३.७५ सेकेन्ड समय लगाए। मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डका साथ दोस्रो र हस्त सुनार १९ मिनेट १५.४० सेकेन्ड समयका साथ तेस्रो स्थानमा रहे।
महिला पाँच किलोमिटर दौडमा सीमा चौधरीले सफलता पाइन्। सीमाले २२ मिनेट ४८.७० सेकेन्डका साथ शीर्षता बनाइन्। श्रेवी महर्जन दोस्रो र पूर्णिमा श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
श्रेवीले २३ मिनेट ५०.९ सेकेन्ड र पूर्णिमाले २६ मिनेट ३९.८७ सेकेन्ड समयमा पाँच किलोमिटर दौड पूरा गरे। बोइज एक किलोमिटर दौडमा सञ्जय नेपाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा क्रमशः शीर्ष तीन स्थानमा रहे।
गल्र्समा रजिना दुलाल, मनु खड्गी र कृतिका हाउँमिखा क्रमशः पहिलोदेखि तेस्रो भए। दौड हिरो लिगको आयोजनामा सम्पन्न म्याराथनलाई एनआरएस स्पोटर््स फाउन्डेसनले प्राविधिक सहयोग गरेको थियो। पाटन दरवार स्क्वारमा आयोजित दौडमा हजारभन्दा बढी धावकधाविकाले प्रतिस्पर्धा गरेका थिए।
कृष्ण मन्दिरबाट सुरु दौड पाटनका विभिन्न स्थान हुँदै अन्त्यमा कृष्ण मन्दिरमा नै आएर टुङ्गिएको थियो। दौडमा १५ देशका धावकधाविकाले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ।
ललितपुर उपमहानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौडको शुभारम्भ गरेका थिए। कार्यक्रमको अन्त्यमा मेयर महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र प्रकाश सायमीले विजयी खेलाडीलाई पदक तथा पुरस्कार वितरण गरे।
राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र ललितपुर उपमहानगरपालिकाको सहयोगमा दौड भएको हो। दौड प्रत्येक वर्ष आयोजना गर्ने आयोजकले जनाएको छ।

Leave a Reply