चिसोमा न्यानो दिने ‘गुइँठा’

सुर्खेत

दिनभरिको व्यस्तताबाट बचेको समयमा नेपालगन्ज-१९ मनिकापुरकी सुराना कुहर गोबर (मल) र परालको खोजीमा हुन्छिन्। त्यसबाट उनले ‘गुइँठा’ बनाउँछिन्। गुइँठाले दाउराको जस्तो काम गर्छ। यसलाई बालेर खाना पकाउन सकिन्छ भने चिसोको समयमा आगो बालेर ताप्ने सकिन्छ।

बचेको समयमा गुइँठा निर्माण गर्दा ग्याँस र दाउरा किन्ने पैसा बचत हुन्छ भने अर्कोतर्फ फुर्सदिलो समय सदुपयोग पनि हुन्छ। गाईबस्तुको गोबर र पराल मिलाएर गुइँठा बनाइन्छ।

गुइँठाको आगो दाउराभन्दा बढी बल्ने सुरानाले बताइन्। ‘धेरैजसो घरमै प्रयोग गर्नलाई गुइँठा बनाउँछौं,’ उनले भनिन्, ‘कोही किन्न आए भने बिक्री पनि गर्छाैं।’ यसको प्रयोग चिसो समयमा अझ बढी हुने उनी बताउँछिन्।

धान काटिसकेपछि गुइँठा बनाउने गरिन्छ। ‘धान नकाट्दासम्म त गुइँठा बनाउन सकिन्न। किनकि पराल नै हुँदैन,’ उनी भन्छिन्, ‘धान काटिसकेपछि भने गुइँठा बनाउने गरिन्छ।’ अहिले बनाएको गुइँठा बर्खासम्म प्रयोग गर्ने उनी बताउँछिन्।

पहाडी समुदायमा यसको प्रयोग नगन्य मात्रामा भए पनि मधेसी समुदायका ग्रामीण बस्तीमा यसको प्रयोग बढी हुन्छ। केहीले चिसो समयमा न्यानो हुनलाई पनि यसको प्रयोग गर्दै आएका सोही गाउँकी पुनम कुहरले बताइन्।

‘थोरै दाउरा बालेर यसलाई पनि दाउरासँगै बाल्दा बढी न्यानो हुन्छ,’ उनी भन्छिन्, ‘यसले चिसोसँग लड्न मद्दत पुग्छ।’ गुइँठा बनाउँदा लगानी आवश्यक नहुने र घरेलु सामान प्रयोग गरेर बनाउन सकिने उनी बताउँछिन्। घरमै गाईबस्तु हुनेले घरकै प्रयोग गर्छन् भने घरमा गाईबस्तु नहुनेहरु चरिचरणको ठाउँमा गएर गाईबस्तु गोबर ल्याउने गर्छन्। जसबाट उनीहरुलाई गुइँठा बनाउँछन्।

सामान्यतया: गोबरलाई चाक्लो पातलो पारेर पथारिनेलाई ‘चिपरी’ भित्रपट्टि सन्ठी हालेर लामो डोलो बनाइने साना आकारलाई गुइँठा भनिन्छ। यतिबेला सहरदेखि भित्री गाउँमा रहेका मधेसी समुदायको बस्तीमा गुइँठा लहरै घाममा सुकाएको देख्न सकिन्छ।

पारिलो घाम लाग्ने ठाउँ घरको आँगन, छाना, बाटोमा यसलाई सुकाउने र चाङ लगाउने गरिन्छ। पारिलो घाम लाग्यो भने करिब तीन/चार दिनमा यसको प्रयोग गर्न सकिन्छ भने घाम मधुरो लाग्यो भने झन् १५/२० दिनपछि यसलाई प्रयोग गर्न सकिन्छ।

जाडो याममा बाहेक वर्षायाममा पनि यसलाई दाउराको विकल्पमा प्रयोग गर्ने गरेको जानकी-४ की रिंकु दर्जीले बताइन्। ‘गुइँठा पुर्खाैंदेखि प्रयोग गर्दै आएका छौं,’ उनले भनिन्, ‘चिसो समय र बर्खाको समयमा यसको बढी प्रयोग हुन्छ।’ गुइँठा बनाउन धेरै सजिलो र छिटो हुने हुँदा पनि मधेसका ग्रामीण क्षेत्रमा यसको प्रयोग अझ बढी हुने गरेको उनी बताउँछिन्।

गुइँठा बनाउन महिला बढी प्रयोग हुन्छन्। फुर्सदको समयमा पुरुषहरूले पनि गुइँठा बनाउने गर्छन्।

अन्य समाचार

+ There are no comments

Add yours