Category: Economic

  • खेलाडी विपिनलाई नायिका स्वस्तिमाको आइफोन उपहार

    खेलाडी विपिनलाई नायिका स्वस्तिमाको आइफोन उपहार

    कर्णाली याक्सका लागि शानदार प्रदर्शन गरेका युवा आइकोनिक खेलाडी विपिनप्रसाद शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् ।

    स्वस्तिमाले क्रिसमसको अवसर पारेर विपिनलाई नयाँ आइफोन उपहार दिएकी हुन् । स्वस्तिमाले उपहारसँगै एउटा नोट पनि लेखेकी थिइन् जसमा लेखिएको थियो– ‘प्यारो विपिन भाइ, एनपीएलमा पाएको सफलताका लागि धेरैधेरै बधाई, यो फोन तिम्रो मेहेनत र प्रदर्शनका लागि एउटा प्रशंसाको चिनोको रूपमा रहेको छ । भविष्यका लागि थप सफलताको शुभकामना ।’

    विपिन आफैंले इन्सटाग्राममा स्टोरी राखेर स्वस्तिमालाई धन्यवाद दिएका छन् भने उक्त स्टोरीलाई स्वस्तिमाले ‘रिशेयर’ पनि गरेकी छन् । स्वस्तिमा फेस अब कर्णाली याक्स समेत थिइन् ।

    एनपीएलको राइजिङ स्टार अर्थात् उदयीमान खेलाडी १६ वर्षीय विपिन कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी हुन् ।

    उनले प्रतियोगितामा आठ खेलमा १३ विकेट लिँदै कर्णालीको सबैभन्दा धेरै विकेट लिने खेलाडीको रूपमा रहे । उनले ६ भन्दा कमको इकोनोमीमा बलिङ गरेका थिए ।

    उनले जिमी नीशम, मार्टिन गप्टिल, आन्द्रेस गौसजस्ता खेलाडीहरूलाई आउट गरेका थिए ।

  • खेलकुद क्लबलाई धावक रोकायाद्वारा जग्गा दान

    खेलकुद क्लबलाई धावक रोकायाद्वारा जग्गा दान

    धावक हरिबहादुर रोकायाले जुम्लास्थित कर्णाली खेलकुद क्लबलाई निःशुल्क जग्गा दान गरेका छन् । उनले चन्दननाथ नगरपालिका– ५ को वडा कार्यालय नजिक रहेको करिब ३५ लाख रुपैयाँ बराबरको जग्गा क्लबलाई शुक्रबार प्रदान गरेका हुन् ।

    जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुराउन जग्गा दानले सहयोग पुग्ने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिने जानकारी दिए ।

    जुम्लाको खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने धावक रोकायाले बताए ।

  • अव पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

    अव पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

    नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।

    पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ ।

    प्रमुख आचार्यले भने, ‘पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्याङ्क निर्माण भएको छ । हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम भइरहेको छ ।’

    निगमले पाइलपाइनबाट गत असोज १८ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र गत मङ्सिर २६ गते एक हजार किलोलिटर मट्टितेल अमलेखगन्ज झारेको थियो । अब निरन्तर पाइपलाइनबाट डिजेलका साथै पेट्रोल र मट्टितेल ल्याउन सक्ने स्थितिमा निगम पुगेको छ । पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ ।

    ‘स–साना ‘लिकेज’ हुन सक्छ कि भनेर सुक्ष्म रूपमा निगरानी गरिरहेका छौँ यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना छ । यसपछि क्रमशः पाइपलाइनबाट पेट्रोल र मट्टिटेल अमलेगन्ज आउनेछ’, कार्यालय प्रमुख आचार्यले भने, ‘ट्रक ट्याङ्करका तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै नै सुरक्षित मानिन्छ । पाइपलाइनबाट इन्धन आउन थालेपछि ट्रकट्याङ्कर दुर्घटना, इन्धन चोरी तथा मिसावट र वातावरणीय प्रदूषणलगायत समस्याको अन्त्य हुनेछ ।’

    पाइपलाइनबाट दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज ल्याउन सकिन्छ तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था भने बनेको छैन । ‘दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन”, प्रमुख आचार्यले भने, ‘डिजेल, पेट्रोल र मट्टितेल पाइपलाइनबाटै आयत हुन थालेपछि भने पूर्ण क्षमतामा सञ्चालन हुन सक्छ ।’

    यसलाई दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना भनिएको छ, जसको कुल लम्बाइ ६९ दशमलव दुई किमी रहेको छ । यसमध्ये भारततर्फ ३३ किमी र नेपालतर्फ ३६ दशमलव दुई किमी रहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

    निगमको मधेस प्रादेशिक डिपो अमलेखगन्जबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

    पूर्ण ‘अटोमेसन’मा अमलेखगन्ज डिपो

    करिब पाँच दशकदेखि सञ्चालित अमलेखगन्ज डिपो पूर्ण ‘अटोमेसन’मा जाँदैछ । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएका छन् । पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ‘ट्रान्समिक्स ट्रयाङ्क’ र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।

    ट्रक ट्याङ्करमा इन्धन भर्नका लागि थप २४ वटा पूर्णस्वचालित ‘लोडिङ–वे’, अत्याधुनिक प्रयोगशालालगायत संरचना निर्माण गरी परीक्षण सम्पन्न गरिएको परियोजनाका इन्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए । ‘२४ वटा लोडिङ–वेमा पेट्रोल र डिजल ट्याङ्कर भर्नका लागि टप फिलिङ र बटम फिलिङको व्यवस्था गरिएको छ’, उनले भने, ‘भण्डारण ट्याङ्क र नयाँ लोडिङ–वे करिब आठ सय मिटरको अन्तरमा छ, यसले डिपोलाई झन् सुरक्षित बनाएको छ ।’

    मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगन्ज डिपोको निर्माण सुरु गरिएको थियो । करिब ६७ हजार सात सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । यो देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ ।

    अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार एक सय १० किलोलिटर पेट्रोल, २४ हजार आठ सय १० किलोलिटर डिजेल र दुई हजार दुई सय ७० किलोलिटर मट्टितेलको भण्डारण क्षमता रहेको छ । सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले हाल विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ ।

    अमलेखगञ्ज–लोथर पाइपलाइन विस्तार छिट्टै

    पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ ।

    लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इण्डियन आयल कर्पोरेशसनको विज्ञ टोली नेपाल आएको छ । ‘परियोजना विस्तारका लागि पुनः सर्भे हुनुपर्ने देखिएको छ, पाइपलाइन जाने मार्गमा रहेका वन र आरक्ष क्षेत्रका बारेमा पनि अध्ययन भइरहेको छ’, प्रमुख आचार्यले भने, ‘सम्भवतः अर्को महिनादेखि लोथरसम्म पाइपलाइन विस्तार परियोजनाको काम अघि बढ्छ ।’

  • सुनको मूल्य बढ्यो

    सुनको मूल्य बढ्यो

    आइतवार सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतवार सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ ।

    गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतवारका लागि एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, निर्धारित मूल्यअनुसार आइतवार चाँदी प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार हुनेछ ।

  • कर्णालीमा धान उत्पादन बढ्यो

    कर्णालीमा धान उत्पादन बढ्यो

    कर्णालीमा धान उत्पादन बढेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आवको तुलनामा चालु आवमा पाँच हजार २२१ मेट्रिक टन धान बढी उत्पादन भएको हो । मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार गत आर्थिक वर्षमा एक लाख २४ हजार नौ सय ६९ मेट्रिक टन धान उत्पादन भएकामा चालु आवमा एक लाख ३० हजार सात सय ९० मेट्रिक टन धान उत्पादन भएको छ ।

    उनका अनुसार सबैभन्दा कम डोल्पामा धान उत्पादन भएको छ । डोल्पामा ३५० मेट्रिक टन उत्पादन भएको छ । डोल्पामा १९९ हेक्टर जमिन खेतीयोग्य छ । साथै मुगुमा ८८५ हेक्टरमा धानखेती गरिएकामा ९७५ मेट्रिक टन उत्पादन भएको छ ।

    हुम्लामा ५५० हेक्टरमा एक हजार ३६ मेट्रिक टन धान उत्पादन भएको छ । मर्सी धानको उत्पादन हुने जुम्लामा यस वर्ष अघिल्लो वर्षकै हाराहारीमा धान उत्पादन भएको छ । जुम्लामा दुई हजार ९३० हेक्टरमा धानखेती गरिएकामा छ हजार ३९५ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको भनाइ छ ।

    कालीकोटमा अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढेको छ । कालीकोटमा गत आवजमा दुई हजार ४१५ हेक्टरमा धानखेती भएकामा चालु आवमा दुई हजार ४२५ हेक्टरमा धानखेती गरिएको थियो । उत्पादनका दृष्टिले समेत अघिल्लो आवको तुलनामा २१८ मेट्रिकटन बढी अर्थात पाँच हजार पाँच सय मेट्रिक टन उत्पादन भएको छ ।

    रुकुम पश्चिममा दुई हजार ६४ हेक्टर जमिनमा धानखेती गरिएकामा पाँच हजार ४८५ मेट्रिक टन धान उत्पादन भएको छ । सल्यानमा ६ हजार ७६० हेक्टरमा धानखेती गरिएकामा २३ हजार ६३० मेट्रिक टन धान उत्पादन भएको छ ।

    जाजरकोटमा आठ हजार ७८५ मेट्रिक टन धान जाजरकोटमा उत्पादन भएको छ । जारकोटमा दुई हजार ५६० हेक्टरमा धानबाली लगाएको थियो । त्यस्तै दैलेखमा २५ हजार १२० मेट्रिक टन धान उत्पादन भएको छ । जुन अघिल्लो आबको तुलनामा एक हजार ६२० मेट्रिक टन बढी हो । सुर्खेतमा ५२ हजार ९०४ मेट्रिक टन धान उत्पादन भएको छ । जुन अघिल्लो आवको तुलनामा पाँच हजार ९०९ मेट्रिक टन बढी हो ।

  • नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले घट्यो

    नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले घट्यो

    नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सामान्य अङ्कले घटेको छ । आज पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा तीन सय १४ कम्पनीको ८१ लाख ४७ हजार तीन सय २० कित्ता शेयर ४९ हजार चार सय २१ पटक खरिदबिक्री भएको छ । पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ । आज पनि कारोबार रकम रू चार अर्ब २७ करोड ८२ हजार मा खुम्चिएको छ ।

    वित्त समूह एक दशमलव शून्य सात, लघुवित्त समूह शून्य दशमलव शून्य नौ र व्यापार समूह शून्य दशमलव ५० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ३६, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ४२, जलविद्युत् शून्य दशमलव ३६, लगानी शून्य दशमलव ३२ र जीवन बिमा समूह शून्य दशमलव ३३ प्रतिशतले घटेको छ ।

    उत्पादन तथा प्रशोधन शून्य दशमलव ३२, म्युचुअल फण्ड शून्य दशमलव २६, निर्जीवन बिमा शून्य दशमलव १४ र अन्य समूह शून्य दशमलव ३७ अङ्कले घटेको छ ।

    उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९० प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू १५ करोड ५९ लाख २३ हजार दुई सय ८६ बराबरको एक लाख ७१ हजार चार सय ८६ कित्ता शेयर किनबेच भएको छ ।