लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते

लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

मंगलरबार दिउँसो १२:४५ बजेको समयमा सदरमुकाम बेशीसहर नगरपालिका–७ स्थित तमु सङ्ग्रहालयको ओरालोबाट ब्रेक फेल भएको ग ३ च ५०७१ नम्बरको जिप क्याम्पस रोडमा रहेको एक घरभित्र पस्न पुगेको थियो।

लमजुङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार सृजना श्रेष्ठको घरमा सञ्चालित आस्मी खाजा घरको सटरबाट जिप घरभित्र छिरेको हाे। सोही खाजा घरमा बसिरहेका तीन जना घाइते भएका हुन्।

जिप दुर्घटनामा परी बेसीशहर नगरपालिका-९ पाखाथोक बस्ने ८० वर्षीय रत्न कुमारी राउत, क्याम्पस रोड बस्ने ६३ वर्षीय डम्बर कुमारी रोका मगर र ३८ वर्षीय सिर्जना श्रेष्ठ घाइते भएका छन्।

दुर्घटनाबाट खाजा पसलको सटर र पसल भित्र रहेका अन्य सामानहरूमा ६ लाख बराबरको क्षति पुगेको प्रहरी निरीक्षक चपाईले जानकारी दिए।

जिप चालक दूध पोखरी गाउँपालिका–४ नमार्खुका ४१ वर्षीय डिलप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *