२०८३ असोज २४ , शनिबार

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० घुस्रा रोडमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा दैलेखको रावतकोट घर भई हाल वीरेन्द्रनगर–१० बुदबुदे बस्ने ३२ वर्षीय विवेक थापा, उनकी २९ वर्षीया श्रीमती सुनिता थापा र मोटरसाइकल चालक २२ वर्षीय दीपेश चौधरी घाइते भएका थिए । प्रहरीका अनुसार विवेकको टाउकोमा गम्भीर चोट लागेको थियो भने सुनिताको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । मोटरसाइकल चालक चौधरीको अनुहारमा चोट लागेको थियो ।

तीनै जनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको थियो । थापाकाे अवस्था गम्भीर भएपछि थप उपचारका लागि शुक्रबार राति करिब ९ बजे नेपालगन्ज रिफर गरिएको थियो ।

नेपालगन्ज लैजाने क्रममा बाटोमै विवेकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव  प्रदेश अस्पताल कालागाउँ सुर्खेतको शवगृहमा राखिएको छ । घाइते सुनिता र मोटरसाइकल चालक चौधरीकाे थप उपचार भइरहेको छ ।  दुर्घटनापछि मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार