२०८३ असोज १२ , सोमबार

३४ वर्षपछि एउटै कित्तामा खड्का–थानी, सुर्खेत कांग्रेसमा नयाँ शक्ति समीकरण



सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेतको क्षेत्रीय अधिवेशन रोचक बन्दै गएको छ । लामो समयदेखि फरक-फरक समूहमा देखिँदै आएका कांग्रेसका नेता पूर्णबहादुर खड्का र हृदयराम थानी ३४ वर्षपछि एउटै समूहमा उभिएपछि सुर्खेतको कांग्रेस राजनीतिमा नयाँ शक्ति समीकरण बनेको छ । आज हुने क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । त्यसैले पनि सुर्खेतमा हुने निर्वाचनलाई आगामी जिल्ला नेतृत्वको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ।

कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला भएकाले सुर्खेतको अधिवेशनलाई यसपटक विशेष चासोका साथ हेरिएको हो । खड्का स्वयंले आफू कुनै समूहमा खुलेर नलागेको बताउँदै आए पनि गृह जिल्लामा भने उनका भाइ विष्णुबहादुर खड्काको नेतृत्वमा रहेको समूहसँग हृदयराम थानी जोडिएका छन् ।
विगतमा खड्का र थानी फरक समूहको नेतृत्व गर्दै आएका थिए । तर यसपटकको अधिवेशनमा भने उनीहरूबीचको लामो समयदेखिको राजनीतिक दूरी घटेको छ । ३४ वर्षपछि खड्का-थानी एउटै कित्तामा आउनुलाई नै सुर्खेत कांग्रेसको यसपटकको अधिवेशनको सबैभन्दा महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ ।

गगन समूह छुट्टै मैदानमा

खड्का-थानी समूहसँगै सुर्खेत कांग्रेसमा अर्को समूह पनि आफ्नो टिमसहित निर्वाचनमा होमिएको छ । उक्त समूहले कांग्रेसका नेता गगन थापालाई सभापतिका रूपमा स्वीकार गर्दै आफ्नो राजनीतिक अभियान अघि बढाएको छ।

यो समूहमा केन्द्रीय सदस्यद्वय तीर्थजंग शाही, जानकी सिंह, पूर्वमन्त्री शिवराज जोशी, पार्टीका पूर्वसभापति कमलराज रेग्मी, नारायण कोइराला, देवकुमार सुवेदी, श्याम भारती, भूपेन्द्र खत्री, उपेन्द्र थापा, बलबहादुर विष्ट र उपेन्द्र खड्का लगायतका नेताहरू रहेको बताइएको छ। यता खड्का पक्षमा हृदयराम थानी, विष्णुबहादुर खड्का, निरञ्जन केसी, टोपबहादुर रावत र बालदिप कँडेल लगायतका नेताहरू रहेको बताइएको छ ।

क्षेत्रीय अधिवेशनमै शक्ति परीक्षण

समूहको समीकरण परिवर्तन भएसँगै अब सुर्खेत कांग्रेसको जिल्ला सभापति को बन्ने भन्ने चासोसमेत बढेको छ। क्षेत्रीय अधिवेशनबाट चयन हुने प्रतिनिधिहरूले आगामी जिल्ला अधिवेशनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले अहिलेको निर्वाचनलाई जिल्ला नेतृत्वका आकांक्षीहरूको प्रारम्भिक शक्ति परीक्षणका रूपमा हेरिएको छ ।
सुर्खेतका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत हुने क्षेत्रीय अधिवेशनमा प्रत्येक क्षेत्रबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र २४ जना प्रदेश महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् ।

निर्वाचनमा सहभागी हुन करिब १४ सय क्षेत्रीय प्रतिनिधि पश्चिम सुर्खेतको बाबियाचौर पुगेका छन् । प्रतिनिधि चयनका लागि नेताहरूले आ-आफ्नो समूह बलियो बनाउन अन्तिम कसरत गरिरहेका छन् । विगतको गुटगत समीकरणभन्दा फरक देखिएको यसपटकको सुर्खेत कांग्रेस अधिवेशनले कुन समूहको संगठनात्मक प्रभाव कति छ भन्ने संकेत गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार