सुर्खेत । कर्णाली प्रदेशका युवा वातावरण अभियन्ता किशोर न्यौपाने ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ को उत्कृष्ट २० मा छनोट भएका छन् । देशभरबाट प्राप्त ७९१ आवेदनमध्ये किशोर उत्कृष्ट २० मा पर्न सफल भएका हुन् ।

१७ वर्षीय किशोरले पछिल्ला केही वर्षदेखि कर्णालीमा जलवायु परिवर्तन तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय हुँदै आएका छन् । वातावरण संरक्षणमा उनको निरन्तर सक्रियता, नेतृत्व क्षमता र समुदायस्तरमा पुर्याएको योगदानका आधारमा उनी टप २० मा छनोट भएको बताइएको छ ।
किशोरको नेतृत्वमा हालसम्म ३ हजार २३० भन्दा बढी वृक्षरोपण गरिएको छ । त्यस्तै कर्णालीका ५८ वटा विद्यालयका २० हजारभन्दा बढी विद्यार्थीलाई वातावरण संरक्षणसम्बन्धी सचेतना प्रदान गरिएको छ। उनले वातावरण संरक्षणलाई युवामाझ अभियानकै रूपमा अघि बढाउँदै आएका छन् ।
कर्णाली प्रदेशमा पहिलोपटक ‘ट्रास कलेक्सन रेस’ समेत किशोरकै नेतृत्वमा आयोजना गरिएको थियो । फोहोर व्यवस्थापन र वातावरण संरक्षणलाई मनोरञ्जन तथा प्रतिस्पर्धासँग जोडेर युवालाई अभियानमा सहभागी गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
किशोरले वातावरणीय अभियानलाई व्यक्तिगत प्रयासमा मात्र सीमित नराखी स्थानीय तह, वन कार्यालय तथा जलाधारसँग सम्बन्धित निकायसँग सहकार्य गर्दै संस्थागत रूपमा अघि बढाउँदै आएका छन्। स्थानीय समुदाय र विद्यार्थीलाई वातावरण संरक्षणमा जोड्ने अभियानमा उनको सक्रियता रहँदै आएको छ ।
यसैगरी उनले सुर्खेतको बुलबुले तालको संरक्षण तथा पुनर्स्थापनाका लागि समेत पहल गरेका छन् । तालको संरक्षण र वातावरणीय सुधारका विषयमा उनले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा आफ्नो प्रस्ताव तथा सरोकार राखेका थिए ।
आफ्नो प्रारम्भिक वातावरणीय अभियानका लागि व्यक्तिगत स्रोतबाटै लगानी गर्दै काम सुरु गरेका किशोरले छोटो समयमै राष्ट्रियस्तरको पहिचान बनाउन सफल भएका हुन् । वातावरण संरक्षणका क्षेत्रमा किशोर पुस्ताको सहभागिता बढाउन उनको अभियानले महत्वपूर्ण भूमिका खेलेको उनका सहकर्मीहरू बताउँछन् ।
ग्लोकल टिन हिरो नेपालको टप २० मा छनोट भएपछि किशोरले कर्णालीबाट वातावरण संरक्षणमा सक्रिय युवाको प्रतिनिधित्व गर्ने अवसरसमेत पाएका छन् । देशभरका सयौँ युवामध्ये उत्कृष्ट २० मा छनोट हुनुलाई उनले आफ्नो व्यक्तिगत उपलब्धिसँगै कर्णालीको वातावरणीय अभियानको पहिचानका रूपमा लिएका छन् ।
किशोरको छनोटले कर्णालीका युवामा वातावरण संरक्षण, जलवायु अभियान तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय हुने प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरबाट सुरु गरेको वातावरणीय अभियान राष्ट्रिय मञ्चसम्म पुग्नु कर्णालीका लागि समेत सकारात्मक उपलब्धि भएको सरोकारवालाहरूको भनाइ छ ।








