अमित चौधरी जो धनियाँ बेचेरै कमाउँछन् वार्षिक आठ लाख

खेतभरि हरियो धनियाँ छ। धनियाँ उखेलेर ससाना मुठा पार्दै गरेको अवस्थामा भेटिए घोराही उपमहानगरपालिका– ६ चोरगाउँका अमित चौधरी। उनले दुई कठ्ठा जमिनमा धनियाँ खेती गरेका छन्। धनियाँको माग बाह्रै महिना हुने भएकाले बाह्रै महिना खेती गर्ने गरेको बताए।

उनका बुबाले विगत आठ वर्ष अघिदेखि व्यावसायिक रुपमा धनियाँ खेती गर्थे। आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिइएको उनले बताए। दुई कठ्ठा खेतमा चार किलो धनियाँको बीउ दुई हजार चार सयमा खरिद गरि खेती गरेको उनले बताए। त्यो धनियाँ बिक्री गरेर दुई लाख आम्दानी गरेको उनले बताए।

बाह्रै महिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए। सिजनमा पाँच मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा १० मुठाका दरमा बिक्री हुन्छ। धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उनले बताए।

धेरै उखेल्न सक्यो भने दैनिक तीन हजारदेखि तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको अमितले बताए। उखेल्न नसकेको समयमा एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्मको बिक्री हुने गरेको उनको भनाइ छ।

धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँ खेतीलाई निरन्तरता दिइएको उनले बताए।

‘वैशाख, जेठ र असारमा धनियाँ प्रतिमुठा १० रुपैयाँका दरले बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ’, उनले भने। गत वर्ष यी तीन महिनामा दुई लाख आम्दानी गरेको उनले बताए। सरदर वर्षको आठ लाख रुपैयाँ धनियाँ बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उनले बताए।

‘धनियाँ छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौं, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ, उ’ले भने, ‘लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ।’

उनीसँग बाह्रै महिना धनियाँ हुने गरेको छ। छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँ खेती बाह्रै महिना गर्ने गरिएको उनले बताए।

‘इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका र्छौं, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न बुबाआमा र श्रीमतीको सहयोग रहेको छ’, उनले भने। –रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *