सयौं वर्ष पुरानो ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

म्याग्दीको रघुगंगा गाउँपालिका– ४ दग्नाममा दुई गाउँबीचमा ‘लिंगो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ। भूमे पूजाका अवसरमा यस गाउँमा सयौं वर्ष पुरानो इतिहास बोकेको ‘लिंगो जुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ।

म्ंगलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिंगो जुधाइमा गैरी गाउँ विजयी भएको छ। प्रकृति पूजाका रुपमा चिनिने भूमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँबिचको लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न भएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताए। ‘यो संस्कृति पुर्खादेखि नै चल्दै आएको छ, हरेक वर्ष भूमे पूजामा यहाँ दुई गाउँका लिङ्गो जुधाउने प्रतियोगिता हुन्छ’,– उनले भने।

दग्नाममा गैरी गाउँ, कान्छी गाउँ, माझीगाउँ र डाँडागाउँ गरी चारवटा टोल रहे पनि यस प्रतियोगितामा भने हरेक वर्ष गैरी र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन्। मंगलबार दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजापताकाले सिँगारिएका अग्ला बाँसका लिंगा बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिंगो ठड्याएर प्रतिस्पर्धा गरेका थिए।

पुख्र्याैली नाच, सोरठी भाका र पञ्चेबाजासहितको उत्सवका बिच मंगलबार बिहान भूमे देवताको पूजा गरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि स्थानीयले लिंगो जुधाएका हुन्। प्रतियोगितामा अग्ला–अग्ला सिँगारिएका लिङ्गालाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ।

दग्नामको भूमे पूजालाई लिंगो जुधाइले सांस्कृतिक उत्सव बनाउने गरेको वडाध्यक्ष पविन गर्बुजाले बताए। ‘भूमे पूजालाई हामीले मौलिकता र परम्परा जोगाउने गरी मनाउँदै आएका छौं, यसमा लिंगो जुधाइ सबैका लागि रुचि र चासोको विषय बन्ने गरेको छ, दुई गाउँबीचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने र आपसी सद्भाव बढाउन सहयोगी बन्ने गरेको छ’, उनले भने।

दुई गाउँले लिंगो जुधाइलाई प्रतिष्ठाको विषय बनाउने गर्छन्। बाँसको लिंगो स्थानीय दग्नाम वरपरसँगै छिमेकी गाउँ राखुबाटसमेत लैजाने गरिन्छ। स्थानीयले लिंगो जुधाइलाई करिब चार सय वर्ष पुरानो संस्कृतिमा गन्ने गरेका छन्।

भूमे पूजामा लिंगो जुधाइ हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामवासी गृहगाउँ फर्कने गर्छन् भने छिमेकी गाउँबाटसमेत उल्लेख्य मात्रामा सर्वसाधारण मेला भर्न पुग्ने गर्छन्। यसपटकको लिंगो जुधाइको अवलोकनमा तीन सय बढी सहभागी भएका थिए।

जेठा भूमेका रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मंगलबार पूजा गर्ने चलन छ। खासगरी खेतीबाली राम्रो होस्, बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस् भन्ने कामना गर्दै भूमे देवताको पूजा गरिन्छ।

भूमे पूजाका अवसरमा स्थानीय एकता युवा क्लबले संस्कृति तथा खेलकुद मेलासमेत आयोजना गर्दै आएको छ। यस वर्ष दग्नाममा पुख्र्यौली नृत्यसहित विविध खेलकुद र सांस्कृतिक मेला आयोजना गरिएको क्लबले जनाएको छ। –रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *