एकीकृत समाजवादी समीकरणभन्दा बाहिर जाँदैन: प्रधानमन्त्री

नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी समीकरणभन्दा बाहिर नजाने बताएका छन्।

विराटनगरमा जारी दुई दिने श्रमाधान रोजगार मेलाको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले समाजवादी समीकरणभन्दा बाहिर जान नसक्ने बताएका हुन्।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको विषयलाई लिएर उनले समाजवादी अहिलेको समीकरणभन्दा बाहिर जान नसक्ने बताउँदै, प्रधानमन्त्री दाहालले भने, ‘माधव जी पहिलेदेखि नै उता पनि र यता पनि दुवैतिर जोडिने जस्तो देखिएको थियो। आजै बिहान मात्रै मेरो कुरा हुँदा यो समीकरणभन्दा बाहिर छैन र हुँदैन भन्ने कुरामा उहाँले ‘क्लियर’ गर्नु भएको छ। मधेस प्रदेशमा अहिलेको समीकरणभन्दा बाहिर सरकार बन्दैन।’

ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउँदै, प्रधानमन्त्री दाहालले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदै छ। उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ।’

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई उपेक्षा नगरिएको बताएका छन्। आवश्यकता एवं स्थिति अनुसार पर्याप्त बजेट र कार्यक्रम दिइए पनि कोशीलाई बजेट कम भयो भनेर गलत प्रचार गरिएको गुनासो गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *