खेलाडीका लागि मैदान आसपासमै होस्टल बनाउँछौँ: खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिने बताएका छन्।

आज कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर पुगेका मन्त्री श्रेष्ठले यस्तो कुरा बताएका हुन। उनले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान) सँग आग्रह गर्ने बताए।

यसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उनको विश्वास छ। उनले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटीका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए।

उनले संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउँदै प्रतिष्पर्धामा आउँदैछौँ भन्ने किसिमको सन्देश दिन लागेको पनि जानकारी गराए।

उनले कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी, शौचालयको समस्या समाधानका लागि पहल सुरु गर्ने पनि धारणा राखे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *