आरसी ३२ र पुल्चोकको बराबरीले बागमतीको शीर्षता यथावत्

सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने होडमा रहेका आरसी ३२ र पुल्चोक स्पोर्ट्स क्लब बराबरीमा रोकिएका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलको दोस्रो हाफमा पुल्चोकले पुनरागमन गरेसँगै खेल २–२ गोलको बराबरीमा सकिएको हो।

बराबरीसँगै दोस्रो स्थानमा रहेको आरसी ३२ ले ११ खेलबाट २३ अंक जोडेको छ। एक खेल कम खेल्दै समान २३ अंक जोडेको बागमती युवा क्लब भने गोलसंख्याका आधारमा शीर्ष स्थानमा यथावत् रहेको छ। ११ खेलबाट २१ अंक जोडेको पुल्चोक पनि तेस्रो स्थानमा यथावत् छ।

खेलमा आरसी ३२ का किस्मत लिम्बू र आशिष लावतीले गोल गरेका थिए । स्यरब लो तामाङ र सञ्जय सुब्बाले गोल फर्काए। खेलको ३१ औं मिनेटमा किस्मतले गोल गर्दै आरसी ३२ लाई सुरुआती अग्रता दिलाएका थिए। उनले रुद्रबहादुर कार्कीको क्रसलाई हेडिङ गर्दै गोलमा परिणत गरे।

पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा लिगमा चार गोल गरिसकेका सुजन बलम्पाकी मगरले मिलाइदिएको थ्रु पासमा सुमित मलाहलाई बिट गर्दै आशिषले डी बक्सभित्रबाट सुन्दर गोल गरे।

तर, दोस्रो हाफमा पुल्चोक खेलमा फर्कियो। ४९औं मिनेटमा लामो पासबाट आएको बललाई स्यरबले नियन्त्रणमा लिँदै आरसी ३२ का डिफेन्डर धीरज विष्टलाई छक्काएर डी बक्स लाइनको माथिल्लो बारतर्फबाट गोल गरे।

स्यरबको जारी प्रतियोगितामा यो नवौं गोल हो। उनलाई ७ गोल गरेका रोशन क्षत्रीले पछ्याइरहेका छन्। ६८‍औं मिनेटमा सुमित मलाहले सुमन श्रेष्ठका लागि मिलाइदिएको बल आरसी ३२ का डिफेन्डर सञ्जय सुब्बालाई लाग्दै गाेलमा परिणत भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *