दाङकाे घोराही उपमहानगरपालिका १८ रझेनाका ६० वर्षीया पार्वती घर्तीले मकै बेचेर जीविकोपार्जन गर्दै आएकी छन्। जेठको चर्को घाममा पनि उनी मकै पोलेर बेच्न व्यस्त छिन्। उनले विगत ३५ वर्षदेखि यसरी नै आफ्नो दैनिकी सञ्चालन गर्दै आएकी छन्।
हरेक वर्ष मकैको सिजन सुरु भएसँगै उनलाई पोलेर बेच्न भ्याइनभ्याइ हुन्छ। घर्तीले मौसमी मकैभन्दा बेमौसमी बढी बिक्ने भएकाले गर्मीमा पनि असिनपसिन भएर मकै पोल्दै आएको बताइन्। ‘प्रतिगोटा २५ रुपैयाँका दरले बेच्दा १० रुपैयाँ फाइदा हुन्छ। खर्च कटाएर दैनिक चार-पाँच सयसम्म आम्दानी भइरहेको छ’, उनले भने। यही कामबाट भएको आम्दानीले आफूसहित पाँचजनाको जीविकोपार्जन भइरहेको उनले जानकारी दिइन्।
घर्तीले भनिन्, ‘उमेरअनुसारको अन्य काम, पेसा व्यवसाय गर्न सकिँदैन त्यसकारण यही पेसालाई निरन्तरता दिँदै आएकी छु। मैले पोलेको मकै सबैले असाध्यै मन पराउने हुँदा खुसी लाग्छ।’ सानै भए पनि स्वरोजगार हुँदा आफूलाई आवश्यक परेमा दुई-चार हजारका लागि अरुसँग हात थाप्न नपर्ने उनको अनुभव छ।
गर्मी समयमा केही समस्या भए पनि विगत लामो समयदेखि गर्दै आएको कामप्रति घर्ती सन्तुष्ट छिन्। उनी बिहानको समयमा देउखुरीका विभिन्न ठाउँमा हरियो मकै लिन जानुहुन्छ भने दिउँसो २ बजेपछि घोराही १५ को कृषिउपज बजार केन्द्रको अगाडितर्फ सडकछेउमा मकै पोलेर बेच्न व्यस्त छिन्। दैनिक १५ सयदेखि दुई हजार रुपैयाँसम्मको कारोबार हुने गरेको उनले बताइन्।
घर्तीजस्तै घोराही १८ का मनकुमारी नेपालीको पनि मकै बेचेरै दैनिकी बित्ने गरेको छ। ५८ वर्षीया मनकुमारीले २१ वर्षदेखि मकै पालेर बेच्ने गरेको बताइन्। लामो समय भइसकेकाले आफूलाई यो पेसा सहज लाग्ने उनको भनाइ छ।
‘उमेर हुँदा पनि अरु जागीर गर्नको लागि पढाइ भएन। अहिले अरु काम गरेर खान पनि नसकिने अवस्था भएकाले मकै पोलेर बेच्ने गरेको छु। आफूले सक्दासम्म यो कामलाई निरन्तरता दिनेछु’, उनले भनिन्, ‘मकै लिन बिहान देउखुरी जान्छु, दिउँसोको समयमा पोल्ने र बेच्नेमा दिन बित्छ।’
हिजोआज दाङमा अत्यधिक गर्मी बढेकाले केही समस्या भएको नेपालीले बताइन्। आफूले पोलेको मकै सहजरुपमा बिक्री हुँदा खुसी लाग्ने उनको अनुभव छ। दैनिक ६०-६५ गोटा मकै पोलेर बेच्ने गरेको बताउँदै उनले १५ सयदेखि दुई हजार रुपैयाँसम्मको कारोबार हुने जानकारी दिइन्।
पार्वती घर्तीले मकै पोल्दै गरेको ठाउँमा भेटिनुभएका घोराही १५ का डम्मरी रावतले बजारका अन्य खाजा खानुभन्दा स्वास्थ्यलाई पनि फाइदा हुने भन्दै मकै नै खान आग्रह गरिन्। आफू पनि हरेक दिन खाजा खाने समयमा उनले पोल्दै गरेको ठाउँमा आएर मकै खाने गरेको उनले बताइन्। यति धेरै गर्मीको समयमा पनि उनीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिएको भन्दै आत्मविश्वासका लागि सबै महिलाले स्वरोजगार बन्नुपर्ने उनको भनाइ छ। –रासस

Leave a Reply