काठमाडौं महानगरपालिकाको १५ औँ नगर सभा अधिवेशन जेठ ३२ गतेका लागि आव्हान गरिएको छ।
आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२ औँ बैठकले नगर सभाको मिति तय गरेको हो।
बैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बैठक शुभारम्भ गरेर सञ्चालनका लागि अध्यक्षलाई अनुरोध गरेपछि वडा नं- २२ का अध्यक्ष चिनीकाजी महर्जनले नयाँ सडक क्षेत्रमा पैदल मार्ग विस्तार र वडा नं-२२ बाट राजस्व सम्बन्धी फाइल केन्द्रमा लगिएको सम्बन्धी विषयमा धारणा माग गरेका थिए।
यस विषयमा जवाफ दिँदै प्रमुख शाहले सडकभन्दा सडकपेटी उपभोक्ता धेरै हुने भएकोले पैदल मार्ग विस्तार गर्न लागिएको बताए।
बैठकले शिक्षक दरबन्दी परिपूर्ति गर्न शिक्षा सेवा आयोगमा माग गर्ने निर्णय गरेको छ। यस सम्बन्धी प्रस्तावमा प्रवक्ता नवीन मानन्धरले रिक्त शिक्षक पदमा स्थानीयबाट पूर्ति गर्नुपर्ने बताए।
बैठकले ‘कानुन तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्ताबेज सम्पादन एवं प्रकाशन कार्यविधि-२०८१’, ‘श्रम बैङ्क सञ्चालन कार्यविधि २०८०’ को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि- २०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ।
यस्तै ‘फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका- २०८१’ र ‘साथी महानगर सञ्चालन कार्यविधि- २०८१’ संशोधनसहित पारित भएका छन्।
६० वर्ष उमेर पूरा भएका र १० वर्ष सेवा गरेर स्वैच्छिक अवकाशमा जान चाहने स्वयमसेविकाहरुलाई सुविधासहित सेवाबाट अलग हुने अवसर प्रदान गर्ने बैठकले निर्णय गरेको छ। यस्तै सहरी योजना आयोगको सदस्यमा इन्जिनियर शैलेन्द्र झा र प्रसुनरत्न बज्राचार्यको नियुक्तिलाई अनुमोदन गरेको छ।
बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, विधायन समितिका सदस्य सचिव वसन्त आचार्य र स्वास्थ्य तथा शिक्षा समितिका सदस्य सचिव गोविन्दप्रसाद शर्माले प्रस्ताव पेश गरेका थिए।

Leave a Reply