जुम्लाकी राज्यलक्ष्मी र मुगुका अक्कलले हात पारे चौथो रारा ट्रेल रन उपाधि

हिमाली मुगु जिल्लाको रारातालमा सुरु भएको चौथो रारा ट्रेल सेन्टरको उपाधि जुम्लाकी राज्यलक्ष्मी रावल र मुगुका अक्कल बडुवालले हात पारेका छन्। पुरुषतर्फ बडुवाल र महिलातर्फ रावल विजयी बनेका हुन्।

रारातालको सौन्दर्यको प्रचार–प्रसारका लागि नेपाली सेनाले चार वर्षदेखि रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ। हनुमानध्वज गुल्मका अनुसार रारा ट्रेल रनमा महिला र पुरुष गरेर एक सय ९४ जनाले सहभागिता जनाएका थिए।

एक सय ६९ जना धावकलाई पछि पार्दै छायानाथ रारा नगरपालिका– १४ का अक्कल बडुवाल पहिलो बनेका हुन्। उनले १६ किलोमिटरको दुरी एक घन्टा २ मिनेट १० सेकेन्डमा पार गरे। जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का शेरबहादुर बुढाले १ घन्टा २ मिनेट ११ सेकेन्ड दोस्रो र कनकासुन्दरी २ जुम्लाकै चन्द्र रावतले १ घन्टा २ मिनेट २१ सेकेनड लगाएर तृतीय स्थान हासिल गरेका थिए।

३५ जना धाविकालाई पछि पार्दै जुम्ला गुठिचौर गाउँपालिका– ३ गज्याङकोट गाउँकी राज्यलक्ष्मी रावल प्रथम भइन्। उनले निर्धारित दुरी १ घन्टा १४ मिनेट ३३ सेकेन्डमा पार गरिन्। जुम्ला पातारासी गाउँपालिका– २ पेरेकी कल्पना बुढाले १ घन्टा १४ मिनेट ५२ सेकेन्ड द्वितीय र जुम्लाकै समिता बुढाले १ घन्टा १६ मिनेट ३१ सेकेण्ड लगाएर तेस्रो स्थान पक्का गरिन्।

ट्रेल रनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीलाई जनही क्रमशः ५० हजार,४० हजार, ३० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायानाथ रारा नगरपालिकाका कार्यवाहक प्रमुख पदमराज मल्ल, जुम्ला हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही र नेपाली सेना उत्तर पश्चिम पृथना उपरथी कृष्णदेव भट्टले पुरस्कार, प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए।

रारा ट्रेल रनमा ५१ वर्षका राजाराम बुढा देखि १५ वर्षका दीपेन्द्र रावलसम्मले भाग लिएका थिए। प्रमुख जिल्ला अधिकारी केसीले रारा ट्रेल रनले कर्णाली प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई खेल पर्यटनका हिसाबले पनि अनुकुल भएको सन्देश फैलाइरहेकोमा जोड दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *