दुबईबाट फर्किएर तरकारी खेती

बारीभरि टमाटर, करेला र काँक्रा लटरम्म फलेका छन्। भर्खरै टिपेको तरकारी बजार लैजाने तयारीमा देखिन्छन्। यो दृश्य घोराही उपमहानगरपालिका ६ लखुवारका स्रष्टा आचार्यले गरेको व्यावसायिक तरकारी बारीको हो।

उनले चार बिघा चार कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गरेका छन्। जग्गा भाडा मात्रै वार्षिक एक लाख २८ हजार तिर्छन्।

उनले काँक्रा, बोडी, टमाटर, खरबुजा र घिराँंलालगायत तरकारी लगाएका छन्। ‘उत्पादित तरकारी वैशाखदेखि बिक्री सुरु गरेका छौँ’, उनले भने, ‘अहिलेसम्म चार लाख आम्दानी भएको छ।’ व्यापारी घरमै आउने भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने झन्झट नभएको उनले बताए।

वैदेशिक रोजगारीका क्रममा दुबईमा १३ वर्ष बिताएका स्रष्टाले फर्किएपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचाइका साथ तरकारी खेतीमा लागेको बताए।

दुबईमा ‘अप्रेसन कन्ट्रोलर’ का रुपमा यातायातमा काम गरेको अनुभव उनीसँग छ। ‘उता पनि कमाइ राम्रै थियो तर यतै काम गर्ने सोचले स्वरोजगार बन्न व्यावसायिक तरकारी खेतीमा लागेको हुँ’, उनले भने।

तरकारी खेतीमा अहिलेसम्म १५ लाख लगानी भइसकेको उनको भनाइ छ। दुईजनालाई फार्ममै बस्ने व्यवस्था गरिएको छ। आवश्यकताअनुसार दैनिक छदेखि आठजनालाई रोजगारी दिने गरिएको उनले बताए।

स्थानीय सरकारले विदेशबाट फर्किएर कृषिमा लाग्ने युवालाई सहयोग गर्ने सुनेको तर आफूले त्यो अवसर नपाएको उनले बताए। सानो लगानीबाट आम्दानी गर्दै र त्यही आम्दानीलाई लगानीमा रुपान्तरण गरी बढाउँदै लैजाने उनको योजना छ। –रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *