नेताहरू भ्रष्टाचारको दलदलमा फस्दै गए: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्ने बताएका छन्।

पार्टीका पोलिटब्यूरो सदस्य देवशङ्कर पौडेलद्वारा लिखित ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकाे आज विमोचन गर्दै उनले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएकामा चिन्ता व्यक्त गरे।

समाजमा भ्रष्टाचार बढ्दै गएपछि जनतामा छाएको निराशाले राजनीतिक व्यवस्था खतरामा रहेको बताउँदै उनले उनीहरूको विश्वास र भरोसालाई कायम राख्न समाजलाई भ्रष्टाचारबाट मुक्त गर्नुपर्नेमा जोड दिए।

मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त जनअधिकारलाई सुरक्षित गर्न देश र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो।

मुलुकको राजनीति अहिले सहज ढङ्गले अगाडि बढ्न नसकेको बताउँदै उनले राजनीति सहज बनाउन तीनै तहका सरकारले चाँडो नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनले पौडेलद्वारा लिखित पुस्तकले पाठकलाई नयाँ ज्ञान दिने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण तथा तार्किक बहसका लागि सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने सुझाव दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *