सुर्खेतको वीरेन्द्रनगरका बालाराम ढकालले बैंकबाट ऋण लिएर पाँच महिनाअघि विद्युतीय हायस किने। सुर्खेत–नेपालगन्ज रुटमा चलाउन ‘रुट परमिट’ पनि पाए।
आवाज नआउने, डिजेल गाडीभन्दा सफा र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नमिल्ने भएकाले यात्रुहरू पनि विद्युतीय गाडी नै रोज्थे। सुर्खेत–नेपालगन्ज रुटमा कमाइ पनि राम्रै भइरहेको थियो। समयमै बैंकको किस्ता तिर्न र दैनिकी चलाउन उनलाई विद्युतीय गाडीले सघाइरहेको थियो।
पछिल्लो समय सुर्खेतमा अनियमित विद्युत् आपूर्ति र ‘लो भोज्टेज’ का कारण भने उनको व्यवसाय ओरालो लाग्दै गइरहेको छ। पछिल्लो दुई महिनादेखि उनले बैंकको किस्ता तिर्न सकेका छैनन्।
यस्तै अवस्था केही दिन रह्यो भने उनी अहिले गरिरहेको पेसा–व्यवसायबाट पलायन हुने अवस्थामा छन्। ‘हावा चल्यो र पानी पर्यो भने सुर्खेतमा विद्युत् नै आउँदैन। विद्युत् नहुँदा गाडी चार्ज गर्न पाइँदैन,’ उनले भने, ‘समितिले दिएको पालोमा गाडी नचलाउँदा अर्को पटक पाइँदैन।’
उनले अनियमित विद्युत र लो भोल्टेजका कारण दुई महिनादेखि बैंकको किस्ता तिर्न नपाएको बताए। ‘दुई दिनमा एक दिन गाडी चलाउने पालो आउँछ। लो भोल्टेजका कारण गाडी चार्ज नहुँदा पालो छुट्छ,’ ढकालले भने, ‘दुई महिनायता न राम्रोसँग सुत्न पाइएको छ न गाडी चलाउन पाइएको छ।’
कर्णालीमा नेपालगन्ज हुँदै ३३ केभी प्रसारण लाइन आएको छ। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै आएको ३३ केभी प्रसारण लाइन हावा र पानी पर्दा अवरुद्ध हुन्छ। विद्युत् आइहाल्यो भने पनि लो भोल्टेजका कारण चार्ज नै हुन पाउँदैन।
सुर्खेतमा विद्युतीय गाडी चार्न गर्न चार वटा स्टेसन छन्। सुर्खेतमा २५ वटा विद्युतीय गाडी छन्। कर्णाली प्रदेश ०५८९ नम्बरको विद्युतीय गाडीका चालक कर्णबहादुर वलीले अनियमित विद्युत र लो भोल्टेजका कारण एक महिनादेखि नियमित गाडी गुडाउन नपाएको बताए।
‘कहिले सुर्खेतमा बत्ती हुँदैन, आइहाल्यो भने पनि चार्ज हुँदैन,’ उनले भने, ‘विद्युत्को भोल्टेज आउने आशामा रातभर जाग्राम बस्दा पनि गाडी चार्ज गर्न पाइँदैन।’
वलीका अनुसार दुई दिनमा एक दिन गाडीको पालो आउँछ। चार्ज नहुँदा पछिल्लो एक महिनामा उनले ११ वटा पालो गुमाउनुपर्यो।
‘गाडी चलेका बेला दैनिक पाँचदेखि आठ हजारसम्म कमाइ हुन्थ्यो, अनियमित विद्युत् र लो भोल्टेजका कारण एक महिनादेखि विद्युतीय गाडी थन्किएको छ,’ उनले भने, ‘दैनिक खर्च चलाउन मात्रै होइन, गाडीको किस्ता पनि पनि हम्मेहम्मे भइरहेको छ।’
अनियमित विद्युत् र लो भोल्टेजका कारण गाडी चार्ज नभएपछि विद्युतीय गाडी सञ्चालक र चालकहरू आन्दोलित भएका छन्। उनीहरूले नेपाल विद्युत् प्राधिकरणको सुर्खेत कार्यालयमा विद्युतीय गाडी राखेर प्रदर्शन गरे।
‘विद्युत् अनियमित र लो भोल्टेज हुँदा व्यवसाय नै धरापमा पर्यो,’ विद्युतीय गाडीका चालक राजन रुचालले भने, ‘विद्युत् नियमित गर्न माग गर्दै आन्दोलन सुरु गरेका हौं।’ उनले अझै केही समय अहिलेकै अवस्था रहे विद्युतीय गाडी किनेका व्यवसायीहरू विस्थापित हुनुपर्ने अवस्था आउने बताए।
उनले गाडी चार्ज नहुँदा समयमै यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या हुने, बाटोमै चार्ज सकिनेलगायत कारणले पछिल्लो समय यात्रुहरू विद्युतीय गाडी चढ्न हिच्किचाउने गरेको सुनाए।
‘सुरुसुरुमा विद्युतीय गाडी चढ्ने यात्रुहरूको घुइँचो हुन्थ्यो, सिट क्षमताअनुसार यात्रुहरू पाउँथ्यौं,’ उनले भने, ‘कहिले बाटोमै चार्ज सकिने, कहिले घण्टौं चार्जका लागि कुर्नुपर्ने भएपछि यात्रुहरू पनि विद्युतीय गाडी चढ्न हिच्किचाउन थालेका छन्।’
विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियतले क्षमताअनुसारको प्रसारण लाइन नहुँदा समस्या भइरहेको बताए। उनले विद्युत्को माग धेरै हुँदा भोल्टेज लो हुने गरेको बताए।
उनले १३२ केभी प्रसारण लाइन नआउँदासम्म यो समस्या रहने बताए। ‘निकुञ्ज क्षेत्रमा विद्युत्का पोलहरू साना छन्, हावा चल्दा र पानी आउँदा रूखहरू ढल्नेलगायत कारणले विद्युत् आपूर्ति बन्द हुन्छ,’ उनले भने, ‘अर्को कुरा माग धेरै र आपूर्ति कम हुँदा लो भोल्टेजको समस्या भइरहेको हो। यसको एक मात्रै समाधान १३२ केभी प्रसारण लाइनलाई सबै मिलेर जति सक्यो चाँडो ल्याउने पहल गर्नु नै हो।’
प्राधिकरणका अनुसार ३३ केभी प्रसारण लाइनमा ३३ हजार भोल्ट आउनुपर्नेमा अहिले सात हजार भोल्ट मात्रै कर्णाली प्रदेशमा आइरहेको छ। ‘कोहलपुर स्टेसनले क्षमताअनुसार विद्युत् आपूर्ति नगर्दा पनि समस्या भइरहेको छ,’ विद्युत्का एक कर्मचारीले भने, ‘अहिले आइरहेको भोल्टेजले त मोबाइल पनि चार्ज गर्न मिल्दैन, विद्युतीय गाडी कहाँबाट चार्ज हुनु?’

Leave a Reply