२०८३ असार २३ , मंगलबार

प्रिन्सको ओलम्पिक तयारी श्रीलंकामा



ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिकको तयारी श्रीलंकामा गर्ने भएका छन्।

प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहने छन्। उनको प्रशिक्षण जुन २ तारिखदेखि सुरु हुनेछ। उनलाई इन्डोनेसियाको राष्ट्रिय टिमसमेत सम्हालिसकेका इन्डोनेसियाकै टोनी वाहयुदीले प्रशिक्षण दिनेछन्।

प्रिन्स पेरिस ओलम्पिकका लागि वाइल्ड कार्डमार्फत छनोट भइसकेका छन्। प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योन्जन आइतबार श्रीलंका जाँदै छन्। उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।

सो अवसरमा सदस्य-सचिव घिसिङले नेपाल ब्याडमिन्टन संघलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको तयारीका लागि ‘ट्रेनिङ प्लान’ पेस गर्न निर्देशन दिए। नेपाली प्रशिक्षकको पनि स्तर वृद्धि होस् भन्ने उद्देश्यले प्रिन्ससँगै प्रशिक्षकलाई पनि श्रीलंका पठाएको जानकारी दिए।

प्रकाशित मिति : २०८१ जेठ १९ गते शनिबार