साहित्यकार अञ्जना पौडेलको उपन्यास ‘चरीमाई’ माथि स्याङ्जामा विमर्श गरिएको छ। वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाको आयोजनामा शुक्रबार वालिङ- ६ मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टमा कार्यक्रम गरिएको हो।
परिचर्चा कार्यक्रममा समीक्षक शम्भु अर्याल र अनन्त अर्यालले ‘चरीमाई उपन्यासको समीक्षात्मक टिप्पणी राखेका थिए। पुस्तकमा महिला बेचबिखन र महिला हिंसाका सन्दर्भलाई लेखकले गहिरिएर लेखेको वक्ताहरूले बताए।
नेपाली समाजका कथालाई चरीमाई उपन्यासमा जोड्ने कोसिस गरेको लेखक पौडेलले बताइन्। ‘हाम्रो समाजमा अझै व्याप्त आम विषयवस्तु छन्, नुवाकोट र रसुवा बसाइँका क्रममा त्यहाँ देखेको तिनैलाई उपन्यासको कथा बनाएकी हुँ’, पौडेलले भनिन्।
साहित्यकार मिलन समीरले सहजीकरण गरेकाे कार्यक्रममा अतिथि चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले चरीमाईका कथाव्यथा सबैतिर भएको बताए। आफू प्रशासकका रूपमा स्याङ्जाका विभिन्न गाउँठाउँ पुग्दा चरीमाईहरू यहाँ पनि रहेको उनले बताए। इन्डिगो इन्कबाट प्रकाशित पुस्तकको मूल्य ४४९ छ।
कार्यक्रमको दोस्रो चरणमा रचना वाचन कार्यक्रम राखिएको थियो। ध्रुवप्रसाद शर्मा पंगेनी, लेखनाथ काफ्ले, शिला शाही, मञ्जुश्री अधिकारी, बोधराज न्यौपाने, सिजन अर्याल, स्मारिका अर्याल, गोपालप्रसाद न्यौपाने, विष्णु पंगेनी पाण्डे, नम्रता केसी, दर्शन पाठक, मिलन समीर र वसन्त खनालले कविता वाचन गरेका थिए।

Leave a Reply