ब्रिजबनदेखि उलुँगोंगसम्म

जेटस्टारको विमानबाट किँसफोर्ड स्मिथ एयरपोर्ट, सिड्नीमा उत्रँदा बिहानको दश बजिसकेको थियो। हामी ब्रिजबनमा साढेआठ बजे जहाजमा उक्लेका थियौं। सिड्नीको आकाश धुम्म परेर बसेको थियो। सिड्नी घुम्नका लागि मोटर भाडामा लिन बुकिङ भइसकेकाले कम्पनीकै बसमा चढेर हामी एयरपोर्टबाट ‘इस्टकोस्ट कार रेन्टल’को कार्यालयमा पुग्यौं। ढाई वर्षकी नातिनीका लागि ‘बेबी सिट’ जडान गर्नुपर्ने भएकाले केहीबेर कुर्नुपर्ने भयो।

म र मैयाँ सिड्नी पहिलोचोटि घुम्दैछौं। हामीलाई घुमाउन छोरी निन्जु र ज्वाइँ विवेकसँगै आएका छन्। साढेसातको उडानको टिकट लिए पनि जहाज ‘डिले’ भएको थियो। यस्तो समस्या नेपालमा मात्र नभई विकसित देशमा पनि हुँदोरहेछ। हामीले चारबजे नै उठेर नरुचे पनि जबरजस्ती अल्पाहार गरिसकेका थियौं। त्यसले अहिले ठुलो सहारा बनेको थियो।

अहिले हाम्रो मोटरमा बेबीसिट जडान भई हम्बुस वेस्टतर्फ गुडिरहेको छ। स्ट्राथफिल्डमा भदै सविताको अपार्टमेन्ट भएकाले हाम्रो पहिलो गन्तव्य त्यही हो। एयरपोर्टदेखि पश्चिमतिरको पारामाटा रोड हुँदै अगाडि बढ्ने क्रममा यत्रो ठुलो सहरको सडक उस्तै साँघुरो देख्यौं। यो त सिड्नीको सबैभन्दा पुरानो सडक पो रहेछ।

सन् १७९० मा निर्मित यो सडकले सिड्नी र पारामाटालाई जोड्ने रहेछ। यसको वरिपरि भएका ससाना अत्यन्तै पुराना आपसमा तासका पत्ताझैं जोडिएका एन्टिक घरहरू (प्राचीनता बोकेका)ले इतिहासको एउटा कालखण्डको तस्बिर प्रस्तुत गरिरहेका थिए।

यी घरहरू न त भत्काउन पाइन्छ, न बाह्य स्वरूपमा कुनै परिवर्तन गर्न नै! भित्र भने फेरबदल गर्न पाइँदोरहेछ। प्राचीनताकै कारणले यी घरहरूको अत्यन्तै महँगो दाम पर्दोरहेछ। मलाई हाम्रा प्राचीन घर र सडकको त कुरै छाडौं, प्रज्ञा प्रतिष्ठानजस्तो जिम्मेवार संस्थाले महाकवि निवासको मौलिकतामा डोजर चलाएको सम्झेर नमिठो लाग्यो।

ट्राफिकको असाध्यै भीडका कारणले हाम्रो मोटरको गतिमा प्रतिकूल प्रभाव परिरहेको थियो। ट्राथफिल्ड पुग्दा सविता हाम्रा लागि स्वादिष्ट भोजन तयार गरेर पर्खिरहेकी रै’छन्। लामो समयपछिको भेट भएकाले हामीले छोटो समयमा धेरैभन्दा धेरै ठाउँ घुम्नुछ भन्ने पनि भुलेर धेरै समय बिताएछौं।

अबेर खाएको भोजनले पनि हामीलाई लठ्याएछ। सापेक्षमा ठन्डा भएकाले बरन्डामा घाम तापेर बस्दा पनि शरीरले सन्चो मानेछ। मैयाँ र निन्जु सवितासँग बाह्रसत्ताईस कुरा गरिरहेका थिए भने नन्ना आफ्नो सिप र दक्षताको अबोध प्रदर्शन गरिरहेकी थिई।

आजको हाम्रो मुख्य गन्तव्य सिड्नीभन्दा १४० किलोमिटर दक्षिणमा अवस्थित सानो सहर उलुँगोँग हो। डेढघण्टाको यात्राको बाटो भएकाले हतार थिएन। त्यसैले नजिकै रहेको ओलम्पिक पार्क हेर्न गयौं।

सन् २००० को हिउँदे ओलम्पिक खेल भएको मुख्य स्टेडियमहरूका अगाडि निर्मित पार्कको बाहिरी बनावट र सौन्दर्यको अवलोकन गरेर नजिकैको हरियालीपूर्ण पार्कमा गएर केही समय बितायौं।

आकाशमा पातलो बादलको बर्को थियो। जमिनमा केही ओसिलोपन र हाम्रा मनमा न्यानोपना थियो। पार्कको हरियो चौरमा पूरै सन्ध्या बिताउने लालसालाई तिलाञ्जली दिँदै पाँचबजेतिर उलुँगोँग हानियौं। सहरको भिडभाड कटेपछि गाडीले ८०–१०० किमी प्रतिघण्टाको रफ्तार लियो।

पैँतालीस मिनेटको यात्रापछि समुद्री किनारको मनोरम दृश्य हेर्दै यात्रा गर्न पाइन्छ, जसलाई ‘ग्र्यान्ड प्यासिफिक ड्राइभ’ भनिँदोरहेछ। रेल र सार्वजनिक बसबाट पनि सुगम यात्रा गर्ने सुविधा रहेछ। तर केही दिन पहिलाको वर्षा र बाढीले रेलमार्गमा अवरोध पुर्‍याएको रहेछ।

सिड्नीबाट केही दक्षिण लागेपछि डाँडाकाँडा भेटिए। साँझ घना जंगलबिच बनेका चाक्ला र चिल्ला सडकमा यात्रा गर्दा ‘जंगलमा मंगल’ भएको अनुभूति भइरहेको थियो। हामीले सुनेअनुसार उलुँगोँग सिड्नीबाट टाढाको गाउँ हो, जहाँ विद्यार्थीहरू अस्ट्रेलिया आएपछि स्थायी आवासीय पुर्जा प्राप्त गर्नका लागि जान्छन्। साँझको ६ बजे हामी पुग्दा त झलमल्ल उज्यालो सहरका रूपमा भेट्यौं।

हामी पुगेपछि गोविन्द थापा दम्पती प्रफुल्लित देखिए। उनीहरू हाम्रा छिमेकी हुनुका साथै उनीहरूकी छोरी निन्जुकी सैनी थिइन् र उनीहरू स्कुलदेखि कलेजसम्म सँगै पढेका पनि थिए। हालै उनलाई पुत्रीलाभ भएकाले नवजात शिशुको मुख हेर्ने इच्छाले पनि डोर्‍याएको थियो।

नेपाल राष्ट्र बैंक, पोखराबाट अवकाश पाएका गोविन्द मिठो खाना पकाउन चर्चित छन्। मैयाँले उनको पाककलाको सधैं प्रशंसा गरे पनि मैले स्वाद लिन पाएको थिइनँ। आज थाहा भयो, यत्तिको स्वादिष्ट खाना पकाउने मान्छे बिरलाकोटीकै हुन्छन्।

भोलिपल्ट बिहान हामी दृश्यावलोकनका लागि निस्कियौं। अर्को मोटरमा गोविन्द दम्पती र ज्वाइँ रोशन थिए। हामी केही उच्चा ठाउँबाट समुद्रतिर झर्दै थियौं। वास्तवमा उलुँगोँग एउटा रमणीय उपत्यका रहेछ। वरिपरि होचा डाँडाहरू हरियालीपूर्ण थिए। घाँस काटेर चिटिक्क पारिएका चौरहरूका साथै ससाना सुन्दर बस्तीहरू दृष्टिगोचर भइरहेका थिए। जहाँ प्रकृतिले उदारतापूर्वक सौन्दर्य खन्याएको थियो भने मानिसको सिप, जाँगर र सचेतताले चिटिक्क पारेको थियो।

यो देखेर मलाई अमेरिकाको नेपभ्यालीको याद आयो। फरक यति थियो कि नेपभ्याली एउटा विस्तृत अंगुरखेती भएको रक्सी उत्पादनका लागि प्रख्यात ठाउँ हो। यहाँ गाई र घोडा फर्महरू छन्। भूबनोट एकै एकैजस्तो लाग्यो।

यहाँको सेलहार्बर भन्ने नयाँ गाउँबाट हाम्रो गन्तव्य कियामा दश मिनेटको बाटोको दुरीमा रहेछ। यहाँको समुद्री किनारमा सुन्दर बस्ती छ। सडकको बायाँतिर समुद्र र दायाँतिर लहरै उभिएका एन्टिक घरहरू। यहाँका अधिकांश घरहरूमा अवकाशप्राप्त जेष्ठ नागरिकहरू बस्दारहेछन्।

पुरानो मोडलको छुकछुके रेललाई पनि जेगाएरै राखेका रहेछन्। नयाँ प्रविधिको आविष्कार गरिरहने अंग्रेजहरू पुरानोलाई जोगाएर राख्न पनि उत्तिकै खप्पिस छन्। समुद्रको किनारमा पदयात्रीका लागि पदमार्ग पनि छ। अलि पर गएपछि समुद्र थोरै भित्र घुसेको र त्यो भागलाई भित्रै पारेर पदमार्ग बनाएको रहेछ।

‘त्यो बाटोमा बिहान बेलुकी हिँड्दा कति मज्जा आउला !’ मैले उत्सुकता प्रकट गरें।

‘जोखिमपूर्ण पनि उत्तिकै छ नि! केही दिन पहिला त्यहाँ एक बिहान बाबुछोरी हिँडिरहेको बेलामा एक्कासी छाल आएर बगाएको थियो। कस्सो तत्काल उद्धार भएकाले मुस्किलले बाँचेका थिए,’ ज्वाइँ रोशनले दिएको जानकारीले हाम्रो आङ सिरिंङ भयो।

हामी कियामाको प्रकाशस्तम्भमा पुगेर चारैतिर नजर दौडायौं। बायाँतर्फ तलपट्टि चट्टानको प्लेटमाथि पानी भरिएर प्राकृतिक पौडी पोखरी बनेको थियो।

‘कस्तो पौडी खेलौं खेलौं लाग्ने ठाउँ!’ म लोभिएँ।

‘त्यहाँ मान्छे पौडी त खेल्छन् तर खतरा छ,’ ज्वाइँ रोशनले भनेपछि मलाई ठन्डी लाग्यो। हुन पनि ब्रिजबनको सापेक्ष यहाँ ठन्डी नै छ।

हामी प्रकाशस्तम्भनेरबाट तल ओर्लियौं। यहाँको आकर्षण भनेकै स्तम्भको फेदबाट चालीस पचास मिटरसम्म कालो र नांगो चट्टान र स्तम्भकै फेदको नजिकै एउटा प्वाल परेको थियो। जसबाट बेला बेलामा पानीको मुस्लो उठेर आकाशतिर जाँदोरहेछ। प्रकृतिको कलाको विचित्रताको यो पनि एउटा नमुना हो।

‘आज त पानीको मुस्लो सानो आइरहेछ। अघिल्लो पटक हामी आउँदा त त्यहाँमाथि उभिएका मान्छेलाई पनि भिजाएको थियो,’ श्रीमती गोविन्दले जानकारी दिएपछि हामी प्यालमाथि नै बनेको रेलिङमा गई हेर्‍यौं। प्वासबाट तल समुद्रको पानी देखियो। जब ठुलो छाल आउँथ्यो, तब छाल पत्थरमा ठोक्किएर जोडले प्वालको मुखबाट पानी माथि उठ्थ्यो र वरिपरि चारैतिर भिज्याउँथ्यो।

यहाँ विश्वयुद्धमा प्रयोग गरिएका तोपहरू पनि छन्। हेर्न जाऊँ,’ रोशनको प्रस्तावलाई हामीले दायाँतिर पर देखिएको बन्दरगाह र पोर्टकिम्ला औद्योगिक क्षेत्रतिर नजर लगाउँदै अस्वीकृत गर्‍यौं। वास्तवमा हामीलाई महाविध्वंशक युद्धको हतियार हेर्ने रहर पनि थिएन।

हामी फर्कंदा जम्बेरुको बाटो फर्कियौं। हामी रोबर्टसन वा टुरिस्ट ड्राइभ हुँदै फर्कंदै थियौं। जहाँ चाक्ला चाक्ला फर्महरू भए पनि अधिकांश भूभाग खाली थिए। झन्डै आधा पोखराजति देखिने भूभागको जनसंख्या १६ सय ३६ जना भनी नामपट्टि टाँसिएको थियो।

यहाँको केही भूभाग दलदल पनि रहेछ र मिन्नामुर्रा नदीमा बाढी पनि आउने रहेछ भन्ने कुराको प्रमाण नदीको छेउछाउमा केही दिन पहिलाको बाढीका डोबहरू प्रस्ट देखिन्थे। दायाँतर्फ घना जंगलवेष्टित डाँडाहरू थिए। यो ठाउँमा जेष्ठ नागरिक र केटाकेटी मात्र देखिँदा रहेछन्। उमेरदारहरू अवसरको खोजीमा सहर पस्ने नै भए। अगाडिको मिन्टो भन्ने गाउँमा सर्लक्कै नेपाली बस्दारहेछन्।

गोविन्द दम्पतीले पकाएको स्वादिष्ट भोजनपछि हामी फर्कंदै थियौं। गोविन्द दम्पती र ज्वाइँ रोशनले सी क्लिप बिच देखाउने भनेर सँगसँगै निस्कियौं। हामीलाई पनि खुदो भइहाल्यो।

समुद्रको मनोहारी दृश्यावलोकन गर्दै अगाडि बढ्यौं। एकतर्फी बाटो र पार्किङ नपाउँदा समुद्र छोएरै मज्जा लिन त पाएनन् तर केही पर अग्लो डाँडा बाल्ड हिल अब्जरभेसनमा पार्किङ पायौं। उच्च ठाउँबाट समुद्र र किनारी दृश्य हेर्नुको मज्जै बेग्लै हुने। यो प्याराग्लाइडिङ उड्ने ठाउँ पनि रहेछ।

केही युवाहरू उड्दै थिए। एकजना त नेपाली पनि रहेछन्। ती उडेर पर समुद्रको किनारमा अवस्थित गाउँको चौरमा नउत्रिन्जेल हामीले हेरिरह्यौं। नेपालीप्रतिको अपनत्व नै बेग्लै हुने! हामीले त्यहाँ केही फोटाहरू खिच्यौं र मेरो फोटो खिच्ने बेलामा सुन्दर पन्छी क्रिमजन रोजेला ठिक अगाडि उडिरहेको थियो। क्यामेराले कैद गरेछ। बडो रमाइलो लाग्यो।

यहाँको अवलोकनपछि गोविन्द परिवार फक्र्यो र हामीहरू पनि समुद्री किनार छाडेर जंगलको बाटो उकालो लाग्यौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *