ओलीलाई बालेनको चेतावनीः १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता झुक्याउनुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोखेका छन्।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू।’

उनले लेखेका छन्, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’

मेयर बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा महानगरपालिकाले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउन लागेको पनि आरोप लगाएका छन्।

‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।’

उनले समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्न चेतावनी दिँदै कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला भन्दै लेखेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *