फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या छ: मन्त्री जोशी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताएका छन्।

विश्व वातावरण दिवसको अवसरमा आयोजित दुई दिवसीय सम्मेलनमा बोल्दै मन्त्री जोशीले यस्तो बताएका हुन्।

उनले दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने भन्नेबारे सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गरे।

उनले भने, फोहोरको मूल थलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन।’

त्यस्तै आयोजक संस्थाको तर्फबाट बोल्दै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले फोहोर मैला व्यवस्थापनको विषय हामी सबैको सरोकारको विषय भएको बताउँदै खाली छलफलले मात्रै नहुने र ठोस कार्यान्वयन तर्फ अगाडि बढ्नु पर्नेमा जाेड दिए।

उनले वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि साझा दृष्टिकोण जरुरी रहेको जिकिर गरे। उनले भने, सबैको सामूहिक प्रयास भए मात्र फोहोर मैला व्यवस्थापन विरुद्ध काम गर्न सजिलो हुन्छ’।

सो अवसरमा क्रिएसन नेपालद्वारा दुई महत्त्वपूर्ण छलफल सत्रको आयोजना गरिएको थियो।

फोहोरमैला व्यवस्थापनमा द्विपक्षीय र बहुपक्षीय एजेन्सीहरूबाट लगानी विषयमा आयोजित पहिलो सत्रमा विश्व बैङ्क लगायतका प्रतिनिधिले फोहोर मैला व्यवस्थापन क्षेत्रमा लगानीको बारेमा प्रकाश पारेका थिए।

छलफलमा सहभागी भएका विज्ञहरूले फोहोरमैला क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको औँल्याउँदै नीतिगत रुपमा आवश्यक सुधारको खाँचो रहेको सामूहिक विचार व्यक्त गरेका थिए।

पहिलो सत्रमा विश्वबैं, इसिमोड र एफएचआई ३६० का प्रतिनिधिहरूले छलफल सत्रमा भाग लिएका थिए।

त्यस्तै, दोस्रो सत्रमा सञ्चार जगतले फोहोरमैला व्यवस्थापनको विषयलाई कसरी उठान गरीरहेका छन् भन्ने विषयमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र अनलाइन लोकान्तरका प्रधान सम्पादक विमल गोत्तमले प्रकाश पारेका थिए।

नेपालका मुलधारको मिडियाले अपेक्षाकृत रुपमा फोहोर मैला तथा वातावरणको विषयमा कम समाचार सामग्री प्रकाशन भएको प्रधान सम्पादक द्वयले स्वीकार गरे।

स्वमान, सिन र क्रिएसन नेपालको संयुक्त आयोजना भएको कार्यक्रमको समुद्घाटन सत्रका अध्यक्षता गरेका पूर्वमन्त्री गणेश साहले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

सो अवसरमा विभिन्न उत्पादनहरूको स्थलमा प्रदर्शनी समेत गरिएको थियो। राष्ट्रिय सम्मेलन र प्रदर्शनी २०२४ भोलीसम्म चल्ने आयोजकले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *