साहित्यकार भवानी भिक्षुको ११५औं जन्मजयन्ती उनकै गृह जिल्ला कपिलवस्तुमा विविध कार्यक्रम गरी मनाइएको छ। नव कपिलवस्तु साहित्यिक समाजको अयोजनामा तौलिहवामा विभिन्न कार्यक्रम गरी मनाइएको हो।
मधेस समुदायका भए पनि उनले मदन र साझा पुरस्कार जितेका थिए। तौलिहवास्थित भिक्षु टोलमा रहेको भवानीप्रसाद गुप्ता ‘भवानी भिक्षु’ को सालिकमा साहित्यकारले माल्यार्पण गर्दै भिक्षुको जीवनी र उनको लेखका कृत्रिहरूबारे चर्चा गरिएको थियो। कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले मधेसी भएर पनि नेपाली साहित्यमा उत्कृष्ट भिक्षुले अतुलनीय योगदान दिएको बताए।
‘भिक्षुले लखेका कृत्ति अझै पनि जीवन्त रहेका छन्,’ उनले भने,’ नेपाली साहित्यमा ठुलो गुन लगाउनुभएको छ ।’ आगत, अवान्तर, मैया साहेब, पाइप नम्बर १ र २ लगायत कविताकृति, निबन्ध तथा विभिन्न लेखरचनामा पात्रको मनोदशाको चित्रण गर्दै मनोविज्ञानको चित्रण गरेको पाइन्छ। कार्यक्रममा समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठी, वरिष्ठ साहित्यकार हरिराज शर्मा, साहित्यकार सकुन्तला ज्ञवाली पौडेललगायतले साहित्यकार भवानी भिक्षुले नेपाली साहित्यको विकासमा अतुलनीय योगदान दिएका बताए।
भिक्षु स्मृति पुरस्कार शर्मालाई
नव कपिलवस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलवस्तुको तौलिहवाकी वरिष्ठ साहित्यकार पावती शर्मालाई प्रदान गरिएको छ। कम्तीमा तीनवटा कृत्रि प्रकाशित गरेका साहित्यकारलाई भवानी भिक्षु स्मृति पुरस्कार दिने मापदण्ड छ। चार कृति प्रकाशित गरेकी शर्मालाई कपिलवस्तु नगरपालिका–३ को सहयोगमा भिक्षु जयन्तीको अवसर पारेर सो पुरस्कार प्रदान गरिएको हो।
वडाध्यक्ष प्रकाश गैरेले दोसल्ला ओढाई साहित्यकार शर्मालाई ११ हजार १११ नगद र ताम्रपत्र प्रदान गरेका थिए। साहित्यकार शर्माले ज्योति कथा संग्रह, मुटु नभएकी आमा आत्मवृत्तान्त मसानघाटको प्रेरणा झ्याउरे कथासंग्रह र अर्चना उपन्यास प्रकाशित गरेकी छिन्।
भिक्षु जयन्तीका अवसरमा हराशद्वारा रचित बसेरा कथासंग्रह विमोचन
साहित्यकार भवानी भिक्षुको ११५औं जन्म जयन्तीका अवसरमा वरिष्ठ साहित्यकार हरिराज शर्मा हराशद्वारा रचित ‘बसेरा’ कथासंग्रह विमोचन गरिएको छ। सदरमुकाम तौलिहवामा कपिलवस्तु नगरपालिका–३ को सहयोगमा नव साहित्यिक सामाजले राखेको कार्यक्रममा सो कृति विमोचन गरिएको हो।
वडाध्यक्ष प्रकाश गैरे, वरिष्ठ साहित्यकार ऋषिकेश भारद्वाज, कमला श्रेष्ठ, पशुपतिमणि त्रिपाठीलगायतले सो कृति विमोचन गरेका हुन्। वरिष्ठ साहित्यकार शर्माको यो १९औं कृति हो।
कविताको राम अचल यादवले समालोचना गरेका थिए। कार्यक्रममा साहित्यकार राघवेन्द्र श्रीवास्तव, खिमानन्द पोख्रेल, मोहन ज्ञवाली, सकुन्तला पौडेल, वासुदेव चौधरी, बलीउद्दीन मुसलमान, अमितकुमार पाण्डेयलगायतले आआफ्नो रचना वाचन गरेका थिए ।

Leave a Reply