जसपाकाे मञ्च हावाहुरीले भत्कियो

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय महाधिवेशनका लागि तयार गरिएको मञ्च हावाहुरीले भत्काएको छ।

सोमवार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पुर्‍याएको हो। वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको बताइएको छ। एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम सुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा मञ्चमा हावाहुरीले क्षति पुगेको हो।

हावाहुरीको कारण गाडिएको बाँसहरू ढलेको छ। टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डलले हावाहुरीको कारण करिब साढे ८ लाख बराबरको क्षति भएको बताए। उनले ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएको जानकारी दिए।

मण्डलका अनुसार पण्डालमा बाँसको पूरै काम भइसकेको थियो। अब त्यसमाथि त्रिपाल लगाउने काम मात्र बाँकी रहेको अवस्थामा भत्किएको हो। मण्डलले महाधिवेशन अगावै पुनः मञ्च निर्माणको काम पूरा हुने बताए। जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते हुँदैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *