राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व स्वास्थ्यराज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छिन्।
मंगलबार प्रतिनिधि सभा बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन्।
सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाइ गर्न नहुने उल्लेख गरिन्।
‘स्वास्थ्य क्षेत्रलाई त सरकारले कहिल्यै पनि प्राथमिकतामा नराखेको हो कि भनेजस्तो मलाई भान हुन्छ। हुन त झट्ट हेर्दाखेरी ८६ अर्ब २४ करोड बजेट राखिएको छ। जुन गत वर्षको भन्दा २ अर्ब २५ करोड बढेको हो । तर कुल बजेटको प्रतिशत हेर्दाखेरी ४.६४ प्रतिशत मात्र छ। कोभिडको समयमा ८.६ प्रतिशत पुगेको थियो। जुन अहिलेसम्मका हिष्ट्रीमा धेरै हो। त्यो पनि अपर्याप्त छ।’ उनले भनिन्।
उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिङ्ग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई सचेत गराइन्।
‘विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो विकासोन्मुख मुलुकमा १० प्रतिशत बजेट छुट्टयाउनु स्वास्थ्यतर्फ भनेर स्पष्ट भनेको छ। जुन हामीले पटक पटक भन्दै आएका छौं। तर त्यसतर्फ सरकारको कुनै प्राथमिकता परेको जस्तो मलाई लागेको छैन। स्वास्थ्य क्षेत्रका सबै लथालिङ्ग भएको अवस्थामा यसको नियमन गर्नुपर्ने पनि अर्को पाटो छ।’
सांसद कार्कीले आइटी पार्क बनाउने कुरा असफल भइसकेकाले त्यसमा जोड दिने काम नगर्न पनि सरकारलाई सुझाव दिइन्।
‘आइटी पार्क भनेर ३० करोड लगानी गरेर बनाइयो । जुन अहिले खण्डहर जस्तो अवस्थामा पुगेको छ। अहिले हामीले फेरी नयाँ आइटी पार्क बनाउँछौँ भनेर योजनाहरू ल्याउँदै गर्दा विगतमा हामी यो कन्सेप्टमा गएर फेल भइसकेको उदाहरण हामीसँग हुँदै गर्दा अव हामी यसमा सफल हुने आधारहरू के छ ? भनेर यसलाई थप स्पष्ट पार्न जरुरी छ।’ उनले भनिन्।

Leave a Reply