धराशयी बन्यो नेपालको ब्याटिङ, कमजोर लक्ष्यतर्फ अग्रसर

आइसिसी ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग नेपालले खराब ब्याटिङ गर्दा धराशयी बनेको छ।

ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपाल सुरुदेखि नै दबाबमा पर्न पुग्यो।

अनुभवी ब्याटरले खराब सट खेल्दा नेपाल कमजोर लक्ष्यतर्फ अग्रसर भएको छ। १९औं ओभरकाे खेल चलिरहँदा नेपाल १०६/९ को नाजुक अवस्थामा छ।

नेपालले ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेललाई सस्तैमा गुमायो। आसिफ ४ रन र कुशल भुर्तेल ७ रनमा आउट भए। त्यसपछि ब्याटिङमा आएका कप्तान रोहितकुमार पौडेलले इनिङ अगाडि बढाउने प्रयास गरे। तर, उनले साथ पाउन सकेनन्।

अनिल साह, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी खराब सट खेलेर आउट हुन पुगे। त्यसपछि अनुभवी सोमपाल कामीलाई ब्याटिङ क्रममा प्रमोसन गरिएको थियो।

तर, त्यो निर्णय पनि सही साबित हुन सकेन। १६औं ओभरको अन्तिम बलमा कप्तान रोहित पनि आउट हुन पुगे।

उनी ३५ रनमा स्पिनर टिमोथी प्रिङ्गलद्वारा क्याच आउट भए। २१ वर्षे टिमोथीले महत्वपूर्ण तीन विकेट लिँदै नेपालको इनिङ संकटमा पारेका हुन्।

उनले न्युजिल्यान्डबाट यु–१९ क्रिकेटसमेत खेलेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *