दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन्।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार जिल्लाका ४० हजार किसानको भुक्तानी रोकिएको छ।

एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन्।

सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ। दुग्ध विकास संस्थानको मङ्सिरयताको रु २२ करोड बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन्।

जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ। यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ।

जिल्लामा पाँच सय हाराहारी पशुपालन फार्म छन्। यहाँ एक लाख गाई र ६० हजारभन्दा बढी भैँसी पालेर दूध उत्पादन हुँदै आएको छ। रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *