प्रधानमन्त्रीले भनेः जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न आजको दिनले थप उत्प्रेरित गर्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना दिँदै यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्वास लिएको बताए।

प्रधानमन्त्री दाहालले मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको प्रत्याभूति गरेको उल्लेख गरे।

साथै, भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री दाहालले बताए।

‘विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि भूमिका नगण्य भए पनि उल्लेख्य असर भने भोगिरहेका छौँ, नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै जलवायुजन्य क्षतिमा नेपालको अधिकारलाई सुनिश्चित गर्न सरकार क्रियाशील छ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीलाई सामना गर्न सम्भव छ।’

प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरुरी रहेको उल्लेख छ।

यस वर्ष विश्वव्यापीरूपमा तय भएको नारा ‘हाम्रो भूमिः हाम्रो भविष्य’ राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस देशव्यापीरूपमा मनाउन लागिएकामा सरोकारवाला निकाय, सङ्घसंस्था तथा आम नागरिकलाई राष्ट्रिय अभियानमा सरिक हुन प्रधानमन्त्री दाहालले आह्वान गरे। रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *