घरको छतबाट खसेर कामदारको मृत्यु

निर्माणाधीन घरको छतबाट खसेर मोरङको उर्लाबारीमा बुधबार एक कामदारको मृत्यु भएको छ।

उर्लाबारी नगरपालिका–२ का ४८ वर्षीय सनीकुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार उर्लाबारी–२ का जेनिस लिम्बूको निर्माणाधीन घरको दोस्रो तलाको छतबाट खसेर श्रेष्ठ घाइते भएका थिए।

छतबाट खस्न साथ तत्कालै उपचारका लागि उर्लाबारीमै रहेको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित आर्या न्यूरो अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए।’

श्रेष्ठ लिम्बूको घर निर्माणमा खटिएको खुलेको छ। घर निर्माणमा प्रयोग गरिएका पुराना काठ झार्ने क्रममा बुधबार बिहान साढे १० बजेतिर छतबाट एक्कासि झरेर गम्भीर घाइते भएका थिए।

घाइते श्रेष्ठलाई थप उपचारका लागि आर्या न्यूरो अस्पताल पुर्‍याउनसाथ चिकित्सकले पौने १ बजेतिर घोषित गरेका डिएसपी बस्नेतले बताए।

घटनाको थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *