दुई दर्जन हाराहारीमा महिलाहरु बेहुलीको भेषमा सजिएका छन्। टिकटक र फोटो खिच्न व्यस्त देखिएका उनीहरूमा उमङ्ग बेग्लै थियो। तर, उनीहरु विवाह गर्न तयारी अवस्थामा बसेका बेहुली भने होइन्। आफूले नै निर्माण गरेका श्रृङ्गारका सामान लगाएर बेहुलीको भेषमा सजिएका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर २३ ले विवाहका लागि आवश्यक पर्ने श्रृङ्गारका सामाग्री बनाउने तालिम प्राप्त गरेपछि आफ्नो सीपको प्रदर्शन गर्न उनीहरु बेहुली बनेका थिए।
बेहुलीको भेषमा सजिएकी मध्येकी एक हुन् भरतपुर २३ स्थित जगपुरकी जुना बुर्लाकोटी। अविवाहित समेत रहेकी बुर्लाकोटी विवाहमा दुलहा दुलहीका लागि आवश्यक पर्ने हस्तकलाका सामाग्री बनाउन जानेकोमा खुसी छिन्। ‘श्रृङ्गारका सामाग्रीमा मात्रै ठुलो रकम खर्च हुन्छ। मेकअप गर्दा त थुप्रै पैसा लिन्छन्,’ उनले घुम्टो माथि सार्दै भनिन्, ‘यति जानेपछि त आफ्नो बिहेमा बजार जानु पर्दैन।’ २५ दिनको तालिम लिएपछि उनले बेहुला र बेहुलीलाई आवश्यक पर्ने शिरदेखि पाउसम्मका सामाग्री बनाउन सक्ने भएकी छिन्।
भरतपुर महानगरपालिका–२३ का महिलाहरु करिब एक महिनासम्मको तालिम प्राप्त गरेपछि खुसी छन्। घैलाघारीकी अप्सरा तामाङ श्रेष्ठले यस तालिमले बेरोजगार दिदीबहिनीलाई आत्मनिर्भर समेत बनाउने बताइन्। ‘हामीले घुम्टो, क्राउन, बेल्ड, ब्याग (झोला), माला, चुरा, चप्पल, जुता लगायतका आइटम २५ दिनमा सिकेका छौँ,’ उनले भनिन् ‘अब विवाह भयो भने महिला दिदी बहिनीहरू बजार जान पर्दैन हामीले नै सबै सामाग्री उत्पादन गर्न सक्छौँ।’
तालिम लिएका महिलाहरूले समूह बनाएर काम गर्ने उनले बताइन्। ‘हामीले कच्चा पदार्थ बजारदेखि ल्याउनुपर्दछ। शृङ्गारित हस्तकलाका सामानहरू हामीले निर्माण गर्दछौँ,’ उनले भनिन् ‘मलाई आशा छ हामीले समूह बनाएर राम्रोसँग काम गर्दछौँ।’
वडाले भूमिका टेक्निकल सर्भिस प्रालिको प्राविधिक सहयोगमा उनीहरुलाई तालिम प्रदान गरेको हो। बेहुली र बेहुलालाई आवश्यक पर्ने शिरदेखि पाउसम्मका सामाग्री बनाउन सिकाएको प्रशिक्षक प्रतिज्ञा पौडेलले बताइन्। अब गाउँघरमा बिहे भए मेकअप गर्र्न बजार जान नपर्ने उनले बताइन्। ‘यस सिपलाई व्यवसायीक रुपमा लैजानुभयो भने २३ नम्बर वडा बासी बेहुलीको सामान खोज्न नारायणगढ गइराख्नु पर्दैन’–उनले भनिन्।
यहाँ ३६ जना महिलाले तालिम लिएका हुन्। करिब एक महिनासम्मको तालिमबाट महिलाहरूलाई उद्यमशील बनाउन लागिएको वडाध्यक्ष दीपक दवाडीले बताए। ‘महिलाहरु शृङ्गारसँग जोडिएका धेरै वस्तु प्रयोग गर्न सक्छन्। बेहुली श्रृङ्गारेको मात्रै २५ हजारसम्म लिएको पनि पाइन्छ,’ उनले भने ‘त्यस पैसा वडामै राखौँ भन्ने उद्देश्यले गाउँमा यस्तो उद्यमशिलता तालिम प्रदान गरेका हौँ।’
युवा युवतीलाई लक्षित गर्दै वडाले सेनिटरी प्याड बनाउने तालिम, च्याउखेती, केराका थम्बाबाट रेसा निकालेर हस्तकलाका सामाग्री बनाउने लगायतका तालिम प्रदान गर्दै आएको उनले बताए। ‘हामीले २१ लाख रुपैयाँ बजेट सिप मुलक तालिमका लागि छुट्टाएका थियौँ। प्रत्येक टोलमा विभिन्न तालिम प्रदान गरेका छौँ,’ उनले भने ‘प्रत्येक टोलका दुई दुई जना सहभागिता गराएर तीन लाख बजेटमा श्रृङगार सम्बन्धी हस्तकलाका सामाग्री बनाउने तालिम प्रदान गरेका हौँ।’

Leave a Reply