२०८३ भदौ १७ , बुधबार

सफा हिमाल अभियान: ११ टन फोहोर र ४ मानव शव संकलन



सफा हिमाल अभियान-२०२४ अन्तर्गत ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन गरिएको छ।

बुधबार नेपाली सेनाले काठमाडौंमा समापन समारोहको आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो।

समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुद यस अभियानको दौरान करिब ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको जानकारी दिए।

उनले ५५ दिनसम्म सञ्चालित अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र अभियानको महत्त्व उजागर गर्न नसक्ने जिकिर गरे।

अभियानको सञ्चालनपूर्व र सञ्चालनपश्चात भएका केही उपलब्धिहरूले अन्तर्राष्ट्रिय रुपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको सुनाए।

प्रधानसेनापति शर्माले झन्डै एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको जनाए। नेपाली सेनाले चैत्र २९ गतेदेखि अभियानको सुरुवात गरेको थियो।

प्रकाशित मिति : २०८१ जेठ २३ गते बुधबार