‘बजेट माओवादीतिर होइन जनतातिर ढल्केको छ’

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन्।

बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुको ‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कत्तिको दबाब महसुस भयो ?’ भन्ने प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इङ्गित गरेका थिए। अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको दाबी गरे।

उनले आगामी आर्थिक वर्षको बजेट पार्टी र सरकार भन्दा पनि जनतातिर ढल्केको दाबी गरे। मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको उनको भनाइ थियो।

उनले भने ‘बजेट मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनताको खास गरी युवाहरुमा आत्मविश्वास र हौसला पैदा गर्ने खालको छ।’

उनले हरेक तीन वर्षमा कर्मचारीहरुको तलब वृद्धि गर्ने कानुनी व्यवस्था भएकाले अर्को वर्ष तलब वृद्धि हुने जनाए। मजदुरहरुको तलब निर्धारण गरी सरकारले बजेटलाई मजदुरमैत्री नीति लिएको उनको भनाइ थियो।

‘हरेक तीन वर्षमा कर्मचारीहरुको तलब वृद्धि हुन्छ। अहिले दोस्रो वर्ष चल्दैछ। तेस्रो वर्ष त्यस विषयमा सोच्नेछौं। त्यो कानुनी व्यवस्था नै छ।’ उनले भने।

उनले सरकारले रोजगारी सिर्जना गर्ने, अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सिर्जना गर्ने नीति लिएको जिकिर गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *