प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता कार्यकर्ताहरूलाई गुटको पछि नलाग्न अपिल गरेका छन्।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको प्रदेश स्तरीय ‘वैचारिक एवम् राजनीतिक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,’गुटको पछि नलाग्नु होला, लाग्न नदिनुहोला। गुटले कहीँ लाँदैन बरु भड्खालोमा लान्छ।’
प्रधानमन्त्री दाहालले पार्टी भित्र गुट रहेको सङ्केत गरेपनि त्यो ठूलो रुपमा नरहेको दाबी गरे। पार्टी भित्र ठुलै गुट छ भनेर गुटको पछि नलाग्नुहोला भनेर आफूले नभनेको प्रष्टीकरण दिँदै उनले भने,’पार्टीको पक्षमा, लिडर सिपको पक्षमा, समाजवादको पक्षमा उभिनुभयो भने महान् भइन्छ। नत्र कसैले पार्टीमा पद दिन्छु, जागिर लगाइदिन्छु भनेकै आधारमा लाग्नुभयो भने महान् भइँदैन।’
पार्टी एक ढिक्का भएर अगाडि बढ्ने हो भने पाँचै वर्ष यही सरकार जाने सम्भावना रहेको उनले दाबी गरे। ‘तर हामी भित्र भाँडभैलो भयो भनेचाहिँ गाह्रो छ। त्यसैले आफू पनि भाँडभैलो नगर्नुहोला। र अरुलाई पनि गर्न नदिनुहोला।’ उनले मोहन वैद्यहरूले ठुलै संख्या लिएर गए पनि केही नभएको भन्दै अब पनि त्यसरी जानु गलत हुने बताए।
कि अर्को लिडर बनाउने मन छ र तपाईंहरुलाई? भन्दै दाहालले कार्यकर्ताहरूलाई प्रश्न पनि गरे। त्यसको जवाफ आफैले दिँदै उनले भने,’खोजेर हुने भएको भए त उहिल्यै भइसक्थ्यो।’ उनले आफूले पार्टी नेतृत्व छाड्ने बेलामा उत्तराधिकारी बनोस् भन्ने चाहेको बताए। उत्तराधिकारी बनोस् भन्ने त म पनि चाहन्छु नि,उनले अगाडि थपे,’सधैँ म नेता भइराख्ने त होइन। अब केही वर्ष न हो। नेतृत्वलाई धारे हात लगाउन थाल्नुभयो भने तपाईँ अरु कसैको हुनुहुन्छ। त्यसरी महान् भइँदैन।’

Leave a Reply