ओलीलाई रविको जवाफ: अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भीर रुपमा आपत्ति जनाएको बताएका हुन्।

उपप्रधानमन्त्री लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्ने कुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरूले सम्मानबाहेक अरु केही गर्न नसक्ने जिकिर पनि गरे।

कोसँग माया गर्ने, कोसँग विवाह गर्ने ? भन्ने कुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरूले केही पनि गर्न नसक्ने उनको तर्क थियो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले नेपाली समाजले अहिले अन्तरदेशीय विवाहको सामना गरिरहनुपरेको उल्लेख गरे। अन्तरदेशीय विवाह पितृ सत्तालाई मन नपरेको भन्दै कयौँ टिप्पणीहरू आइरहेको उनले सुनाए।

अध्यक्ष ओलीले केही दिनअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना लक्षित टिप्पणी गरेका थिए।

उपप्रधानमन्त्री लामिछानेले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विवाहको विषयलाई लिएर नकारात्मक टिप्पणी हुने गरेकोमा पनि आक्रोश व्यक्त गर्दै जीवन जिउन उनीहरुको इच्छा भएकाले त्यस अधिकारलाई सरकारले दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे।

उपप्रधानमन्त्री लामिछानेले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विवाह सम्बन्धी अधिकार सुनिश्चित गराउनका लागि आफू लागिपर्ने पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *