सुरू भयाे सहकारी छानबिनकाे काम, दुई दिनभित्र कार्यविधि बनाइने

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेश गर्ने निर्णय गरेको हो।

कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ। समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको थियो।

बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरुका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्ताबेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गरेका थिए।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति थापाले तोकिएकै समयमा अनुसूची भित्रका सहकारीहरुमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिए।

उनले समिति सदस्यहरुले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि काम सक्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिबद्धता पनि त्यही रहेको बताए।

बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै समिति सदस्य ईश्वरीदेवी न्यौपानेले तीन महिनाभित्रै काम सम्पन्न गर्नका लागि रात दिन नभनी काम गर्ने समझदारी भएको बताइन्। उनले आफूहरू कुनैपनि बहानामा समय थप गर्ने पक्षमा नरहेको स्पष्ट पारिन्।

समिति सदस्य लेखनाथ दाहालले कार्यादेशको मातहतमा बसेर समयभित्रै काम पूरा गर्ने जनाए। उनले समितिले गर्ने कामहरु सर्वसम्मत निर्णयको आधारमा हुने जानकारी दिए।

समिति सदस्य शिशिर खनालले पनि तोकिएको समय तीन महिनाभित्रै काम सम्पन्न गरिने दाबी गरे। उनले आफूहरुले जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको पनि सुनाए।

समितिको तीन महिनाको समय आज पहिलो बैठक बसेको दिनदेखि प्रारम्भ हुने जनाइएको छ। समितिको आगामी बैठक शुक्रवार बस्ने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *