मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाउन असफल भएका छन्। बुधबार दोस्रो पटक बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि गरेको प्रस्ताव बहुमत सदस्यबाट फेल भएको हो।
मुख्यमन्त्री यादवले प्रदेश सभाको विश्वास गुमाए। प्रदेश सभामा उपस्थित १०३ मध्ये ५० सांसदले उनको पक्षमा मतदान गरे भने विपक्षमा ५३ मत पर्याे। मुख्यमन्त्री यादवलाई बहुमत पुर्याउन ५४ सांसदको समर्थन आवश्यक थियाे। उक्त संख्या पुर्याउन नसकेपछि उनी संवत्स् पद मुक्त भएका छन्।
मुख्यमन्त्री यादवको पक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका १९ सांसदसहित नेपाली कांग्रेसका २२, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र राष्ट्रिय प्रजातान्त्रिक पार्टीका १ गरी ५० सांसद उभिएका थिए।
मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा नेकपा एमालेका २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसदले मत दिए।
जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत पाएका थिए। पछिल्लो पटक एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ३० गते सरकारलाई दिएका समर्थन फिर्ता गरेकाले ३० दिनको अवधिअनुसार जेठ २९ गतेसम्म मुख्यमन्त्रीले विश्वासको मत लिन सक्ने तर्कसहित २८ गते विश्वासको मत लिने भन्दै मुख्यमन्त्री यादवले प्रदेश सभामा पत्र पठाएका थिए।
तर, प्रतिपक्षीहरूले भने सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल गत वैशाख २४ गते नै विभाजित भई निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेकाले आज जेठ २३ गतेभित्रमै मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने जिकिर गरेपछि मुख्यमन्त्रीले विश्वासको लिन प्रदेशसभा पुगेका थिए।
अब मधेस प्रदेशमा चार दल गरेको सहमति अनुसार नयाँ सरकार गठन हुनेछ। जनमत पार्टीको नेतृत्वमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले सरकार बनाउने सहमति गरेका छन्।
चार दलको समर्थनमा जनमत प्रदेश संसदीय दलका नेता रहेका महेश प्रसाद यादव नयाँ मुख्यमन्त्री बन्ने करिब करिब पक्का भएको छ।
प्रदेश सरकार गठन भएकोदेखि मधेस प्रदेशमा जसपा नेतृत्वको मुख्यमन्त्री थियो। पहिलो कार्यकालमा जसपाकै मोहम्मद लालबाबु राउतले पाँच वर्ष नेतृत्व गरेका थिए। यद्यपि सत्ता सहयात्री दल फेरबदल भएको थियो।

Leave a Reply