सिन्दिरा जोशीले १०औं चरणमा शान्ति धिमाललाई पराजित गर्दै बुधबार एक खेल बाँकी छँदै नवौं नेसनल चेस च्याम्पियनसिप २०२४ मा महिलातर्फको उपाधि जितेकी छन्। दोस्रोपल्ट च्याम्पियन भएकी उनले राष्ट्रिय बुद्धिचालको उपाधि आठ वर्षयता पहिलोपल्ट कब्जा गरेकी हुन्।
च्याम्पियनसिपको पाँचौं दिन सिन्दिराले अंशुदिन प्रजापतिलाई पराजित गरेपछि १६७२ रेटिङकी शान्तिविरुद्ध पूर्ण एक अंक जोड्दै दोस्रोपल्ट उपाधि पक्का गरेकी हुन्। उनले यससँगै मोनालिसा खम्बू र सुजना लोहनीले बनाएको दुई उपाधिको कीर्तिमान पनि बराबरी गरेकी छन्।
उत्कृष्ट १२ खेलाडी सहभागी च्याम्पियनसिपमा अन्तिम तथा ११औं चरणको खेल बिहीबार हुनेछ। यसमा १६८५ रेटिङकी सिन्दिराले १० मध्ये नौ खेल जित्दै नौ अंक बनाएर उपाधि निश्चित गरेकी हुन्। उनले एक मात्र हार विनिता कपालीसँग पाँचौं चरणमा बेहोरेकी थिइन्।
उपाधि होडमा चुनौती दिइरहेकी शान्तिलाई पराजित गरेपछि ४१ वर्षीया सिन्दिराले उपाधि सुरक्षित गरेकी हुन्। शान्ति दोस्रो हारसँगै सात अंकमा रोकिएपछि उपाधि होडबाट बाहिरिँदै चौथो स्थानमा पुगेकी छन्।
सिन्दिराले अन्तिम चरणमा कृतिसरा अधिकारीसँग प्रतिस्पर्धा गर्नेछिन्। यस च्याम्पियनसिपका शीर्ष चार महिला खेलाडी सेप्टेम्बरमा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडमा छनोट हुनेछन्। यसमा पूजा भण्डारी र कृतिसरा समान ७.५ अंकसहित शीर्ष चारमा छन्। यी दुईले आठौं चरणमा आमनेसामने हुँदा अंक बाँडेका थिए।

Leave a Reply